एक माना झिँगाको साढे दुई रुपैयाँ 

डिसी नेपाल
२४ असोज २०७९ ६:४३

काठमाडौं। आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए।

घटना २०१५ साल साउन महिनाको हो । उपत्यकावासी हैजाको प्रकोपबाट आतङ्कित बनेका थिए । तत्कालीन काठमाडौं नगरपालिकाले हैजा फैलिनुका कारण झिँगालाई ठह-याएको थियो ।

तत्कालीन स्वास्थ्यमन्त्री रणधीर सुब्बाको सभापतित्वमा २०१५ साल साउन २० गते बसेको हैजा निवारण कमिटीको बैठकले हैजा निवारण गर्न सरकारले उपलब्ध गराएको २५ हजार रुपैयाँमध्ये छ हजार रुपैयाँ उपत्यकाञ्चल कमिस्नर, दुई हजार रुपैयाँ परोपकार संस्था, दुई हजार रुपैयाँ पुलिस गोश्वाराका एसपी र एक हजार रुपैयाँ कमिटीका सेक्रेटरीलाई खर्च गर्न दिने निर्णय ग(यो । स्वास्थ्य निर्देशक रघुवर वैद्य थिए ।

कमिटीको त्यो बैठकले ‘हालको हैजा मुख्यतः झिँगाद्वारा फैलिएको हुँदा प्रत्येक खाना बेच्ने पसलमा जाली राख्न लगाउने र नराखे वा राखी झिँगा भन्केको देखिएमा पनि पुलिसद्वारा उक्त खानेकुरा फालिदिने तथा पसलेलाई सजाय गर्ने’ निर्णय गरेको थियो ।

कमिटीले झिँगा मारी सहयोग गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय पनि ग¥यो । एक माना मारिएको झिँगा उपत्यकाभित्रका नगरपालिकामा बुझाएमा साढे दुई रुपैयाँ पुरस्कार दिने र पुरस्कार एक महिनासम्म उपलब्ध गराइने निर्णय गरियो ।

हैजा थामिएकै थिएन । हैजाको प्रकोप बढ्दै गएपछि काठमाडौं र ललितपुरमा क्षमापूजा पनि गरिए । विश्व स्वास्थ्य सङ्गठनले २५ हजार जनालाई पुग्ने हैजाविरुद्धको सुई उपलब्ध गरायो । इन्डियन एड मिसन र इन्डियन रेडक्रस सोसाइटीले पनि उपलब्ध गरायो । सोही सालको साउन १९ गतेसम्ममा ३२ हजार जनालाई सुई लगाइएको थियो । गोरखापत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *