गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री खाण

डिसी नेपाल
२५ असोज २०७९ १७:०२

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसका अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी गराए । मन्त्री खाणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधानअनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले ल्याएको स्पष्ट पारे ।

सो अवसरमा उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पुँजी नेपालमा भित्र्याउनका लागि आह्वान गर्दै त्यसको सुरक्षा सरकरले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालले सङ्घलाई सरकारले महत्वका साथ आत्मसात् गरेको उल्लेख गर्दै सरकारले नीति तथा कार्यक्रममा सङ्घसँगको सहकार्य र सङ्घको योगदानलाई परिचालन गर्ने उद्देश्य राखेको जानकारी गराए । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपालीले आफ्नो ज्ञान, सीप र पुँजी नेपालमा भित्र्याएर निजी क्षेत्रसँग गरेको सहकार्य प्रशंसनीय छ भने ।

सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा बस्ने नेपालीका मर्म बुझेर सङ्घको स्थापना भएको बताउँदै यसले अप्ठ्यारो परेका बेला नेपाल र नेपालीलाई महत्वपूर्ण सहयोग र योगदान गर्दै आएको उल्लेख गरिन् । सङ्घका अध्यक्ष कूल आचार्यले वर्तमान सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन गरेको कार्यको प्रशंसा गर्दै थप लगानीमैत्री कानून निर्माणका लागि आग्रह गरे । अर्का अध्यक्ष डा बद्री केसीलआगामी निर्वाचनदेखि गैरआवासीय नेपालीलाई आम निर्वाचनमा मतदान गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरे ।

सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मुुलुक समृद्ध नभई व्यक्तिगत सफलताले मात्र साध्य नहुने उल्लेख गर्दै यस उद्देश्यलाई परिपूर्ति गर्ने भावनाका साथ अघि बढ्न सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरे । कार्यक्रममा पूर्व अध्यक्षद्वय जिवा लामिछाने र भवन भट्ट, संस्थापक महासचिव भीम उदासलगायतले सङ्घले गरेका सामाजिक कामकारवाहीका बारेमा जानकारी गराउँदै सरकारले सङ्घलाई थप महत्वका साथ लिनुपर्ने धारणा व्यक्त गरेका थिए।

विश्वभर छरिएर रहेका नेपालीको हकहित र अधिकारको संरक्षण र संवद्र्धनका लागि स्थापित सङ्घ विदेशमा रहेका नेपालीको साझा चौतारी हो । सङ्घले स्थापनाकालदेखि नै विश्वका विभिन्न मुलुकमा विभिन्न पेशा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीबीच एकता, सद्भाव र पारस्परिक सहयोग अभिवृद्धिका साथै विदेशमा बसेका नेपालीको पुँजी, प्रविधि र उद्यमशीलतालाई मुलुकको विकास निर्माणमा उपयोग र परिचालन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *