नागरिकता र मतदाता नामावलीमा फरक जन्ममिति रहेका देउवाको उम्मेदवारी कायमै

डिसी नेपाल
२५ असोज २०७९ १७:३५

डडेल्धुरा । निर्वाचन आयोगले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ ।

उनको उम्मेदवारी विरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

“उम्मेदवार विरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौँ ।”, उनले भने, “उम्मेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उम्मेदवार विरुद्ध परेको उजुरी भने कानुनसम्मत देखिएन ।”

डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति रहेको भन्दै उम्मेदवारी रद्ध गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।

देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको फोटोसहितको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको भन्दै उजुरी परेको थियो । तर डडेलधुराको मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेको र सो त्रुटि सामान्य रहेकोले उम्मेदवारी कायमै गर्ने निर्णय भएको  हो ।

उजुरीमाथि छानबिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेसम्म देउवाको जवाफ माग गरेको थियो । देउवाको तर्फबाट मानवीय त्रुटीका कारण नागरिकता अनुसार मतदाता परिचय पत्रमा फरक जन्ममिति हुन गएको र सो नागरिकता र मतदाता परिचयपत्र भएको शेरबहादुर देउवा एउटै भएको भन्ने बारेमा स्थानीय तहबाट सिफारिस पत्र बनाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै बीपी कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कर्ण मल्लले देउवाविरुद्ध उजुरी हालेका हुन् ।

कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहेका छन् । देउवा प्रधानमन्त्री हुँदा २०५८ मा मल्ल स्वकीय सहसचिव समेत रहेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *