यी हुन् प्रमुख दलका ६७ देखि ८० वर्षसम्मका उम्मेदवार

डिसी नेपाल
२६ असोज २०७९ ८:००

काठमाडौं। गत स्थानीय तह निर्वाचनमा केही महत्वपूर्ण स्थानमा जित हासिल गरेर स्वतन्त्र उम्मेदवारले परिवर्तनको संकेत दिएपछि मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उल्लेख्य मात्रामा स्वतन्त्र उम्मेदवारी परेको छ।

विशेष गरी युवापुस्तामा स्वतन्त्र उम्मेदवारीप्रति आकर्षण बढिरहेका बेला लामो समयदेखि मुलुकको शासन सत्ता सञ्चालन गर्दै आएका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु नै फेरि दोहोरिने देखिएको छ। केही नेताहरुले आफूहरुले युवालाई अवसर दिनुपर्ने भन्दै टिकट अस्वीकार गरेपनि अधिकांश शीर्ष नेताहरु भने आफैं चुनावी प्रतिस्पर्धामा होमिएका छन्।

अवकाश जीवन बिताउनु पर्ने बेलामा प्रमुख दलका शीर्ष नेताहरु चुनावी मैदानमा होमिएका हुन्। उनीहरुले आफ्नो दलका युवा नेतालाई अवसर दिनु भन्दा आफैं चुनावी प्रतिस्पर्धामा होमिएका छन्।

सरकारको नेतृत्व गरेका नेपाली कांग्रेसका सभापति समेत रहेका ७६ वर्षीय प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन्। उनी सो क्षेत्रबाट निरन्तर जित्दै आएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली उमेरले ७१ वर्षका भए। उनी झापा-५ बाट चुनावी प्रतिस्पर्धामा होमिएका छन्। यसैगरी ६७ वर्षीय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन क्षेत्र परिवर्तन गर्दै गोरखाबाट उम्मेदवारी दिएका छन्।

७० वर्षीय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट-१ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन्। एकीकृत समाजवादी कै ७६ वर्षीय नेता झलनाथ खनाल पनि चुनावी प्रतिस्पर्धामा छन्। उनले इलाम-१ बाट उम्मेदवारी दिएका छन्।

युवालाई टिकट दिनुपर्ने र शीर्ष नेतालाई अवकासपूर्ण जीवन बिताउनु दिनुपर्ने भन्दै आवाज उठिरहेका बेला ८० वर्षसम्ममा वृद्ध नेता चुनावी प्रतिस्पर्धामा होमिएका छन्।

७० वर्षीय पूर्व सभामुख सुवास नेम्वाङले इलाम-२ बाट उम्मेदवारी दिएका छन् भने ७६ वर्षीय लोसपा नेता लक्ष्मणलाल कर्णले पर्सा–१ बाट उम्मेदवारी दिएका छन्। यस्तै ६९ वर्षीय एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं-५ बाट उम्मेदवारी दिएका छन्।

उमेरले ८० वर्ष पुगेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर सत्ता गठबन्धनको सहयोगमा महोत्तरी-३ बाट चुनाव लड्दै छन्। यसअघिको संसदका ठाकुर जेष्ठ सदस्य थिए।

अहिले पनि चुनाव जिते ठाकुर नयाँ बन्ने संसदको जेष्ठ सदस्य हुनेछन्। जेष्ठ सदस्यले संसदको पहिलो बैठकको अध्यक्षता गर्ने र सांसदलाई सपथ खुवाउने संसदीय परम्परा छ।

ठाकुरपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि चुनावी प्रतिस्पर्धामा छन्। उनी सत्ता गठबन्धनबाट बाग्लुङ–१ बाट उम्मेदवारी दिएका छन्। ०७४ को निर्वाचन अघि उनी सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए।

तर युवालाई अवसर दिनुपर्ने भन्दै चुनावमा टिकट अस्वीकार गर्ने नेताहरु पनि छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, सभामुख अग्नि सापकोटा, पूर्व सभामुख कृष्णबहादुर महरा, एमाले उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले संसदीय राजनीतिबाट विश्राम लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *