एमाले-पूर्वएमाले १९ ठाउँमा कडा प्रतिस्पर्धा

डिसी नेपाल
२ कार्तिक २०७९ ६:५२

काठमाडौं । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा हँुदै छ । उम्मेदवारी दर्तापश्चात् राजनीतिक दल तथा उम्मेदवार अहिले घरदैलो, सभा, बैठक, भेलालगायतका कार्यक्रममा व्यस्त छन् ।

प्रतिनिधिसभाको १ सय ६५ र प्रदेश सभाका ३ सय ३० सिटका लागि प्रतिस्पर्धा हुँदै छ । निर्वाचनका लागि ५ हजार बढी उम्मेदवार चुनावी दौडमा रहेका छन् । तीमध्ये ४ सय ९५ जना चयन हुनेछन् । निर्वाचन मुख्यतः दुई गठबन्धनसहित स्वतन्त्र उम्मेदवारबीच देशैभरि प्रतिस्पर्धा छ ।

वाम लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् । अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाल (जसपा), राप्रपा, राप्रपा नेपालसहितका दलहरूको तालमेल रहेको छ ।

यी दुई गठबन्धनधारी र तालमेलधारीसहित स्वतन्त्र तथा कुनै पनि गठबन्धनमा नरहेका दलका उम्मेदवारबीच प्रतिस्पर्धा छ । तर, एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीका उम्मेदवारको एमालेसँगै प्रतिस्पर्धा छ । वामलोकतान्त्रिक गठबन्धनमा रहेको एकीकृत समाजवादीले प्रतिनिधिसभाको १ सय ६५ सिटमा पाएको २० सिटमध्ये १९ ठाउँमा एमालेसँगै प्रतिस्पर्धा रहेको छ ।

हालको एमाले र पूर्वएमाले नेताबीच प्रतिस्पर्धाले निर्वाचन रोचक बनेको छ । सिराहा–४ मा एकीकृत समाजवादीका उपाध्यक्ष एवं मधेस प्रदेशका इन्चार्ज धर्मनाथप्रसाद साहबाहेक एकीकृत समाजवादीका सबै उम्मेदवारले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृह जिल्ला रौतहट–१ बाट उम्मेदवार छन् ।

रौतहट–१ मा एमालेले गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्तालाई उम्मेदवार बनाएको छ । गुप्ता लोसपा छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गुप्ता एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहसँग मेयरमा पराजित भएका थिए । स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले रौटहटमा राम्रै परिणाम ल्याएको र सत्तारूढ गठबन्धनको समर्थन रहेकाले नेपाल आफू विजय हुनेमा ढुक्क छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एमालेकै उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् । इलाम १ बाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री खनालले एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धा गर्दै छन् । यसअघिका निर्वाचनमा खनालका लागि मत माग्दै आएका बस्नेत योपटक भने आफैं प्रतिस्पर्धी भएका छन् ।

यही क्षेत्रबाट खनालले निरन्तर निर्वाचन जित्दै आएका छन् । उनले २०४८, २०५१, २०६४, २०७० र २०७४ मा जितेका थिए । महेश भने एमालेको नयाँ अनुहार हुन् । खनाल एकीकृत समाजवादीमा लागेपछि यसपटक बस्नेतले प्रतिनिधिसभा निर्वाचनमा अवसर पाएका हुन् । यसैगरी बाग्मती प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे धादिङ १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।

उनीसँग व्यक्तिगत रूपमा समेत निकट मानिने भूमिप्रसाद त्रिपाठीलाई एमालेले प्रतिस्पर्धी बनाएको छ । त्रिपाठी २०७४ मा एमालेबाट निर्वाचित सांसद हुन् । उनी हाल एमाले धादिङका अध्यक्षसमेत हुन् । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा र एमालेका अम्बरबहादुर रायमाझीबीच उदयपुर–२ मा प्रतिस्पर्धा हुँदै छ ।

यसैगरी, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री र एमालेका सचिव गोकर्ण विष्ट एमालेका पुराना सहकर्मी हुन् । यो निर्वाचनमा यी दुई नेताले गुल्मी–२ बाट एकअर्काबीच प्रतिस्पर्धा गर्दै छन् । २०७४ मा झाँक्री समानुपातिकतर्फ सांसद भएकी थिइन् भने विष्ट यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

रूपन्देही–२ मा प्रतिनिधिसभा सदस्यका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल र एकीकृत समाजवादीका नेता राजु गुरुङबीच प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगले गठबन्धनका साझा उम्मेदवार गुरुङको मनोनयन खारेज गरेपछि सर्वोच्च अदालतले उनको उम्मेदवारी खारेज गर्न नहुने अन्तरिम आदेश दिएको छ । निर्वाचन आयोगले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको भन्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

उम्मेदवारी खारेज भएपछि गुरुङ त्यसविरुद्ध सर्वोच्च पुगेका थिए । त्यस्तै, पाल्पा–२ मा पनि यसपटक एमाले र पूर्वएमालेबीच नै प्रतिस्पर्धा हुँदै छ । कुनैबेला एमालेका प्रभावशाली नेता रहका सोमप्रसाद पाण्डेले एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका छन् भने एमालेका तर्फबाट युवा नेता एवं एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादी नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरी र एमालेका पोलिटब्युरो सदस्य शान्ता चौधरी दाङ–१ मा चुनावी प्रतिस्पर्धामा छन् । २०७४ को निर्वाचनमा मेटमणिलाई जिताउने अभियानमा खटिएकी शान्ता यसपटक उनीसँगै प्रतिस्पर्धा गर्दै छिन् । दुईबीच रोचक प्रतिस्पर्धा छ । काठमाडौं–८ मा पनि एमाले र पूर्वएमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।

एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र एमाले काठमाडौं जिल्ला समन्वय समितिका उपप्रमुख शिव राजवैद्यले उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा एमालेबाट जीवनराम श्रेष्ठले जितेका थिए । पार्टी विभाजन भएपछि श्रेष्ठ एकीकृत समाजवादीमा लागे । अहिले उनी एकीकृत समाजवादीका उम्मेदवार बनेका छन् ।

काठमाडौं–८ मा एमाले अध्यक्ष केपी ओलीले अष्टलक्ष्मी शाक्यलाई टिकट दिएका थिए । तर, उनले अस्वीकार गरेपछि राजवैद्यले अवसर पाएका हुन् । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा एमाले र पूर्वएमालेबीच प्रतिस्पर्धा हुँदै छ । डोटीमा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले र एमालेका गौरी वलीले उम्मेदवारी दिएका छन् ।

बझाङमा कुनै बेलाका राजनीतिक गुरु–चेलाबीच प्रतिस्पर्धा हुँदै छ । एकीकृत समाजवादीका स्थायी समिति सदस्य भानुभक्त जोशी र एमालेका युवा नेता ऐन महरले उम्मेदवारी दिएका छन् । महर पूर्वमन्त्री जोशीका पूर्वकार्यकर्ता हुन् । एमाले विभाजनपछि जोशी एकीकृत समाजवादीमा लागेका थिए । कास्की–२ मा एकीकृत समाजवादीका श्रीनाथ बराल र एमालेका विद्या भट्टराईबीच प्रतिस्पर्धा हुँदै छ ।

अघिल्लो निर्वाचनमा कास्की २ बाट रवीन्द्र अधिकारी निर्वाचित भएका थिए । हेलिकोप्टर दुर्घटनामा परी अधिकारीको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भयो । एमालेले अधिकारीपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनायो । भट्टराईलाई राजनीतिमा ल्याउन र जिताउन बरालले भूमिका खेले । र, भट्टराईले जिते । तर, यसपटक बराल उनै भट्टराईसँग भिड्दै छन् ।

अछाम–१ मा पनि एकीकृत समाजवादी र एमाले नै चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर र एमालेका झपट बोहराले उम्मेदवारी दिएका छन् । एमालेमा रहँदा भीम रावलनिकट कुँवर पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका थिए । यो क्षेत्रमा रावलको नाम एकल सिफारिस भए पनि एमाले अध्यक्ष ओलीले रावललाई टिकट नदिई केही महिनाअघि माओवादीबाट एमाले प्रवेश गरेका बोहरालाई दिएका छन् ।

ललिलपुर–२ मा पनि एमाले र पूर्वएमालेबीचै प्रतिस्पर्धा हुँदै छ । प्रतिनिधिसभा सदस्यका लागि एकीकृत समाजवादीका कृष्णलाल महर्जन र एमालेका प्रेम महर्जनले उम्मेदवारी दिएका छन् । कृष्णलाल निवर्तमान सांसद हुन् भने प्रेम संघीय निर्वाचनमा नयाँ अनुहार हुन् । एमालेको विभाजनसँगै कृष्णलाल समाजवादीमा लागेपछि प्रेमले अवसर पाएका हुन् ।

उता, दैलेख–१ मा पनि एकीकृत समाजवादी र एमालेबीच नै प्रतिस्पर्धा हुँदै छ । एकीकृत समाजवादीका अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्माले उम्मेदवारी दिएका छन् । २०७४ मा एमाले नेता रवीन्द्रराज शर्माका लागि मत मागेका अम्मर यसपटक शर्मासँगै प्रतिस्पर्धामा छन् । एकीकृत समाजवादीका नेता धनबहादुर बुढा र एमालेका नेता गणेशबहादुर शाही डोल्पामा प्रतिस्पर्धा गर्दै छन् ।

पार्टी विभाजनपछि बुढा र शाही एकीकृत समाजवादीमा लागेका थिए । प्रतिनिधिसभाको टिकट पाउने भएपछि शाही केही समयअघि एमालेमा फर्किएका थिए । बारा–४ मा एकीकृत समाजवादी र एमालेबीच प्रतिस्पर्धा हुँदै छ । यस निर्वाचन क्षेत्रबाट एकीकृत समाजवादीका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ र एमालेका एकवाल मियाँले उम्मेदवारी दिएका छन् । मियाँ बारा ४ बाट गत निर्वाचनमा राजपाबाट निर्वाचित भएका थिए ।

उनी राजपा छोडेर एमाले प्रवेश गरेका हुन् । सल्यानमा पनि एकीकृत समाजवादी र एमालेबीच प्रतिस्पर्धा हुँदै छ । एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमालेका राजेन्द्रवीर रायले सल्यानबाट उम्मेदवारी दिएका छन् । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *