सहकारीको सेवा केन्द्रमा लुटपाट, लुटेराकाे गोली लागि केन्द्रका प्रमुख घाइते

डिसी नेपाल
२ कार्तिक २०७९ १३:५५

सर्लाही। सर्लाहीको बागमतीस्थित मिलनचोकमा रहेको एक सहकारी संस्थाको सेवा केन्द्रमा दिन दहाडै लुटपाट भएको छ।

बुधबार बिहान १० बजेतिर बागमती–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको हो। केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानी निवासी अन्दाजी ३० बर्षका साजन कार्कीमाथि लुटेरा समुहले गोली प्रहर गरी लुटपाट गरेको प्रहरीले जनाएको हो।

बिहान १० बजेतिर आएका तीन जनाले कार्कीलाई पैसा दिन धम्क्याएका थिए। प्रतिकार गरेपछि लुटेरा समुहले गोली प्रहार गरेको घाइते कार्कीलाई उदृत गर्दै सहकारीका अध्यक्ष केशव ढकालले जानकारी दिए। घाइते कार्कीका अनुसार लुटेराहरू भारतीय नम्बर प्लेटकाे मोटरसाइकलमा आएका थिए।

कार्कीलाई चार वटा गोली लागेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। लुटेरा समूहले चलाएको गोली कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा लागेको छ। गोली लागेका कार्कीलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडाैं रेफर गरिएको अस्पतालका डाक्टर राजिव साहले बताए।

लुटेरा समूहले कार्कीमाथि कार्यालय खोल्ने बित्तिकै आक्रमण गरेकाे घाइतेलाई उदृत गर्दै सहकारीका कर्मचारी दिनेश श्रेष्ठले बताए। ‘उनीहरूले बिहान कार्यालय खोलेलगत्तै आक्रमण गरे।’ घाईतेलाई उदृत गर्दै श्रेष्ठले भने, ‘कार्कीले ब्यागमा लगेको पैसा ड्रएरमा खन्याई सकेकोले उनीहरूले  ब्यागमात्र लिएर गएको प्रारम्भिक जानकारी आएको छ।’

लुटेरा समुहले केही दिनदेखि उक्त शाखामा कार्यरत कार्कीको निगरानी गरिरहेको समेत आशंका छ। मंगलवार मात्र पनि लुटेरा समूह सोही कार्यालय आसपास घुमिरहेका देखिएको छ । घटनालगत्तै लुटेरा समूह दक्षिणतर्फ फरार भएकाे स्थानीयकाे भनाइ छ। उनीहरूको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

हरिवनमा मुख्य कार्यालय रहको सगुन सहकारी संस्थाले बागमतीको मिलनचोक लालबन्दी, ईश्वरपुर लगायत स्थानमा सेवा कार्यालय संचालन गरेर शेयर सदस्यहरूलाई वित्तिय सेवा प्रवाह गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *