चलचित्र ‘साम्राज्य’ मा दयाहाङको प्रवेश, बलियो बन्दै लाइनअप

डिसी नेपाल
२६ साउन २०८३ १९:५६

काठमाडौं। निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन्। सौगात मल्लपछि सौरभले मुख्य भूमिकामा दयाहाङलाई अनुबन्ध गराएका हुन्।

नेपाली रजतपटको यो हिट जोडी हो। ‘लुट’बाट एकैपटक स्टार बनेका यी दुई अभिनेताको प्रवेशसँगै यो सिनेमा प्रतिक्षित बन्नेछ। यी दुई अभिनेता एउटै सिनेमामा देखिँदा दर्शकमा उत्साह र कौतुहलता थपिने गरेको छ।

“हामीले हालसम्म सौगात र दयाहाङलाई हाम्रो चलचित्रमा भित्र्याएका छौँ। यी दुई नामसँगै हामीसँग अझै सरप्राइजिङ नाम बाँकी नै छ,” सौरभले भने, “हामी यो पटक हाम्रो सिनेमालाई राम्रो र प्रतिक्षित बनाउन कुनै पनि कसर बाँकी राख्ने छैनौँ। दर्शकलाई सकेसम्म राम्रो र स्तरीय सिनेमा दिनु हाम्रो उद्देश्य हो।”

दयाहाङ र सौगातको प्रवेश तथा सौरभको भनाइले यो सिनेमाको लाइनअप निकै बलियो हुने देखिएको छ। निर्देशक सौरभले दयाहाङसँग पहिलो पटक सहमार्य गर्न लागेका हुन्। यस चलचित्रमा दयाहाङलाई भिन्न चरित्रमा देख्न पाइने सौरभको भनाइ छ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मल्टीस्टार बन्ने पनि निश्चित भएको छ। यो चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन्। यो चलचित्र ‘एपिक एक्सन ड्रामा’ हुने निर्देशक चौधरीले बताएका छन्।

सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म खिच्ने योजनामा छन्। यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने निर्माण पक्षको दाबी छ। चलचित्रको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ।

यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन्। को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन्।

मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन्। डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ। यो चलचित्रको वितरकमा डिसीएन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *