ऊर्जा केन्द्र लक्षित आक्रमणपछि युक्रेनीहरूलाई सबै उपकरण ‘चार्ज गर्न’ आह्वान

डिसी नेपाल
३ कार्तिक २०७९ ११:१५
24
Shares

किभ । युक्रेनको राष्ट्रिय ऊर्जा कम्पनीले त्यहाँका आम नागरिकहरूलाई स्थानीय समय अनुसार बिहीबार बिहानको सात बजेसम्म “सबै विद्युतीय उपकरणहरू चार्ज गर्न” आह्वान गरेको छ। रुसी क्षेप्यास्त्र आक्रमणका कारण विद्युत् कटौती हुने अपेक्षा गरिएको छ।

ऊर्जा केन्द्रहरूमा बुधवार फेरि पनि रुसले क्षेप्यास्त्र आक्रमण गर्‍यो। ऊर्जा केन्द्र लक्षित यस्ता आक्रमणको शृङ्खला अक्टोबर १० देखि जारी छ।

एकै पटकमा चार घण्टाभन्दा बढी विद्युत् कटौती हुनुले बिहीबार देशभर असर गर्ने ऊर्जा केन्द्र सञ्चालन गर्ने युक्रेनेर्गोले जनाएको छ।

उक्त कम्पनीले फोन, पावर ब्याङ्क, टर्च र ब्याट्रीहरू चार्ज गर्न आह्वान गरेको हो।

सञ्चालकले युक्रेनी सर्वसाधारणहरूलाई पानीको भण्डारण गर्न र आफूलगायत परिवार तथा आफन्तका लागि “न्यानो मोजा र कम्बल” भएको सुनिश्चित् गर्न अपिल गरेको छ।

यसअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हवाई आक्रमणबाट ३० प्रतिशत युक्रेनी ऊर्जा केन्द्रहरूमा क्षति पुगेको बताए।

युक्रेनेर्गोका अनुसार गत फेब्रुअरी २४ यता रुसले आक्रमण गरेपछिको अवधिको तुलनामा गत दश दिनमा विद्युत् केन्द्रहरूमा अत्यधिक आक्रमणहरू भएका छन्।

“भोलि हामी नियन्त्रित र हिसाब गरेर विद्युत् खपतमा प्रतिबन्धहरू लागु गर्ने छौँ। हामीले यसो गर्नु आवश्यक छ किनकि ऊर्जा वितरण प्रणालीले सन्तुलित रूपमा काम गर्नु पर्छ,” सामाजिक सञ्जालमार्फत् जारी विज्ञप्तिमा भनिएको छ।

ऊर्जा खपतका प्रतिबन्धहरू “युक्रेनभर बिहान ७ बजेदेखि राति १० बजेसम्म लागु हुन सक्ने” युक्रेनेर्गोले जनाएको छ। साथै उसले नागरिकहरूलाई क्षेत्रीय सञ्जाल सञ्चालकहरूको वेबसाइट हेरेर कहाँ र कहिले ऊर्जा कटौती हुन्छ भन्नेबारे सूचित हुन सुझाव दिएको छ।

छिटपुट हुने विद्युत् कटौतीले राजधानी किएभ र युक्रेनका अधिकांश क्षेत्रहरूमा असर गरिसकेको छ।

रुसी क्षेप्यास्त्रहरूले ऊर्जा केन्द्रका पूर्वाधारहरू युक्रेनभर नै ध्वस्त पारेका छन्। जसअन्तर्गत लामो समयदेखि आक्रमणको चपेटामा परेको लभिभजस्ता सहर पनि पर्छन्।

अधिकारीहरूले साँझको समयमा विद्युत् खपत कम गर्न युक्रेनीहरूलाई आदेश दिएका छन्।

“चिसो मौसमको सुरुवातसँगै हामीले तपाईँहरूको अधिक सहयोग माग्ने कुरा नकार्न सक्दैनौँ,” युक्रेनेर्गोले बताएको छ।

पश्चिमा नेताहरूले भने पूर्वाधार लक्षित आक्रमणहरूको भर्त्सना गरेका छन्।

“नागरिक पूर्वाधार, विशेष गरी विद्युत् लक्षित रुसी आक्रमण युद्ध अपराध हो,” ईयू कमिसनकी अध्यक्ष ऊर्जुला फोन डेर लेअनले ट्विट गरेकी छन्।

“जाडो याम नजिकिँदै गर्दा आम मानिसलाई पानी, बिजुली र ग्यासबाट वञ्चित गरिनु कायरतापूर्ण हरकतहरू हो।”

रुसले पछिल्लो समय आफूमा गाभेको भनिएको चार वटा क्षेत्रहरू दक्षिणमा जापोरीजा र पूर्वमा डोनेट्स्कमा मार्सल कानुन लागु गर्दै छ।

क्रेम्लिनले ती भूभागहरू अब रुसको अङ्ग भएको दाबी गर्छ। उक्त दाबीलाई अन्तर्राष्ट्रिय स्तरमा नकारिएको र भर्त्सना गरिएको छ।

मार्सल कानुन लागु भएपछि प्रभावित क्षेत्रहरूमा कडा सुरक्षा जाँच र आवागमनमा प्रतिबन्धहरू लगाइन्छ। तर, युद्ध सुरु भएयता कब्जा गरिएका स्थानका युक्रेनीहरूको अधिकार र स्वतन्त्रताहरू यसअघि नै खुम्चिसकेका छन्।

त्यसैले वास्तविकतामा मार्सल कानुनले के गर्छ भन्ने कुरा देखिन बाँकी नै छ।

उच्च सुरक्षा मापदण्डहरू रुसमा पनि लागु हुने सम्भावना रहेको बताइन्छ।

जसपश्चात् रुस-युक्रेन सीमा क्षेत्रहरू, विशेष गरी ब्रायन्स्क, बेल्गोरोद र क्रान्नोदारमा आवागमनमा नयाँ प्रतिबन्धहरू लगाइने छन्। उस्तै खालका प्रतिबन्धहरू क्राइमियामा पनि लागु हुनेछ जसलाई रुसले सन् २०१४ मा आफूमा गाभेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा भ्लादिमिर पुटिनको विकल्पहरू सकिएको बताए।

“उनीसँग आम युक्रेनी नागरिकलाई आतङ्कित पार्ने र आत्मसमर्पण गर्न बाध्य बनाउने अस्त्र मात्र बाँकी रहेको देखिन्छ,” उनले भने।

रुसले दशौँ हजार नागरिकहरू र रुसले नियुक्त गरेका अधिकारीहरूलाई खेअरसन क्षेत्रबाट बाहिर निकाल्दैछ।

युक्रेनी सेना अघि बढेर क्षेत्रीय राजधानी नजिक पुगेकाले त्यसो गरिएको हो।

रुसका अनुसार निपर नदीको पश्चिमी तटमा अवस्थित नागरिकहरू युक्रेनी फौजबाट जोखिममा छन्।

उक्त क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले रुसले नियुक्त गरेका सबै विभाग र मन्त्रालयहरू ५० देखि ६० हजार नागरिकसँगै नदी पारी सारिने बताएका छन्।

तर युक्रेनी अधिकारीहरूले भने उच्च सङ्ख्याका मानिसहरूलाई साँच्चै स्थानान्तरण गरिँदै छ भन्नेबारे संशय व्यक्त गरेका छन्। उनीहरूले सुझाए अनुसार नदी किनारमा देखिएको भिड देखाउनका लागि मात्र हो।

युक्रेनले त्यस क्षेत्रका बासिन्दाहरूलाई रुसी कदमलाई बेवास्ता गर्न आग्रह गरेका छन्।

बल प्रयोग गरेर कब्जा गरिएको क्षेत्रबाट कब्जा गर्नेले नै मानिसहरूलाई स्थानान्तरण गर्नुलाई युद्ध अपराध मानिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *