हिजाब नलगाइ खेलेर प्रशंशा बटुलेकी खेलाडीले माफी माग्नुपर्यो, पक्राउ पर्न सक्ने
काठमाडौं । दक्षिण कोरियाको सोलमा भएको एसियाली आरोहण प्रतियोगितामा हिजाब नलगाई प्रतिस्पर्धा गरेकी इरानी एथलीट एलनाज रेकाबी हराइरहेको अनुमानका बीच बुधबार तेहरान आइपुगेकी छिन् । यसअघि रेकाबी बेपत्ता भएको खबर आएको थियो । एलनाजका साथीहरूले आइतबारदेखि उनीसँग सम्पर्क गर्न नसकेको बताएका थिए। यसअघि स्रोतलाई उद्धृत गर्दै उनी मंगलबार तेहरानका लागि उडानमा चढेकी थिइन् र त्यसअघि उनको राहदानी र मोबाइल फोन जफत गरिएको खबर आएको थियो थियो । तर अब हिजाबको नियम उल्लङ्घन गरेको आरोपमा उनलाई पक्राउ गर्न सकिने खबर आएको छ ।
त्यसयता इरानसहित विश्वभर रेकाबीको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिएको थियो । यसैबीच बुधबार तेहरान विमानस्थलमा आइपुगेकी रेकाबीलाई न्यानो स्वागत गरिएको छ । विमानस्थलमा उनका फ्यानहरुको ठूलो भीड देखिएको थियो । रेकाबीको परिवार पनि यहाँ पुगेर उनलाई अँगालो हाल्यो । यस क्रममा रेकाबीलाई स्वागत गर्नेहरुको भीड लागेको थियो । त्यहाँ जम्मा भएका मानिसहरूले ‘एलनाज नायिका हुन्’ भन्दै नारा लगाएर ताली बजाएर स्वागत गरेका थिए ।
इरानी खेलाडी एल्नाज रेकाबीले आइतबार दक्षिण कोरियाको राजधानी सियोलमा भएको एसियाली पर्वतारोहण प्रतियोगितामा हिजाब नलगाई भाग लिइन् । हिजाब बिना रक क्लाइम्बिङ गरेको उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, जसका लागि उनको विश्वभर प्रशंसा पनि भएको थियो । तर इरानमा महिलाले अनिवार्य हिजाब लगाउनु पर्ने भएकाले उनको सुरक्षालाई लिएर पनि चिन्ता थियो ।
यो विषयले उग्र रुप लिएपछि रेकावीले खेलकै क्रममा अचानक आफ्नो हिजाब दुर्घटनावश खसेकोले आफूले हिजाब नलगाएको स्पष्ट पारेकी थिइन् । । तर, रेकाबीको भनाइपछि उनले इरान सरकारको दबाबमा यो स्पष्टीकरण दिएको र उनी आफैं आफ्नो सुरक्षालाई लिएर डराएको पनि बताइएको छ ।
रेकाबी इरानी खेलाडीहरूको ११ सदस्यीय प्रतिनिधिमण्डलको हिस्सा थिइन्, जसमा आठ खेलाडी र तीन प्रशिक्षक थिए। उक्त टोली रक क्लाइम्बिङ प्रतियोगितामा भाग लिन सोल गएको थियो । इरानमा हिजाबको विरुद्धमा चर्को विरोध भइरहेका बेला यो प्रतियोगिता भएको हो ।
विदेशमा हुने कुनै पनि समारोह वा प्रतियोगितामा भाग लिन इरानी महिलाले हिजाब लगाउन अनिवार्य छ । रेकाबीले विगतमा पनि हिजाब लगाएर प्रतियोगितामा भाग लिने गरेकी थिइन् । तर हिजाब लगाएर प्रतियोगितामा भाग लिन पटक पटक समस्या भएको उनले बताएकी छिन् ।
इरानमा हिजाब विरुद्धको सरकार विरोधी प्रदर्शनको बीचमा रेकाबी बिना हिजाब प्रतियोगितामा भाग लिनुलाई साहसी कदमको रूपमा वर्णन गरिएको थियो। विश्वभरका मानवअधिकार संगठनहरूले रेकाबीको प्रशंसा गर्दै उनलाई महिला सशक्तिकरणको उदाहरणका रूपमा व्याख्या गरेका छन् ।
अमेरिकास्थित मानवअधिकार संगठन, सेन्टर फर ह्युमन राइट्स इन इरानले बिना हिजाब प्रतियोगितामा भाग लिने उनको यो कदमलाई बहादुरीका रूपमा वर्णन गरेको छ। एम्नेस्टी इन्टरनेशनलले पनि रेकाबीको कदम साहसी भएको बताएको छ ।
रेकाबीको सम्बन्धमा इरान सरकारको भनाइको विपरीत धेरै मानवअधिकार संगठनहरूले उनीहरूको सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेका छन्। नर्वेको मानवअधिकार संगठन इरान ह्युमन राइट्सका निर्देशक महमूद अमिरीले आफू रेकाबीको बारेमा चिन्तित रहेको बताए। उनले भने – मलाई शंका छ कि इरानी सरकारले रेकाबीलाई हिजाब फुकाल्नु दुर्घटना हो भन्न दबाब दिएको थियो।
विज्ञप्तिमा भनिएको छ, “जहाँसम्म हामी विश्वास गर्छौं, इरानी सरकारले अन्य खेलाडी र युवा केटीहरूका लागि उदाहरण बसाल्नेछ ताकि कसैले पनि यस्तो कदम नचालुन्।”
हिजाब नलगाई फिल्डमा आएपछि रेकाबीलाई लिएर विभिन्न किसिमका खबर बाहिर आइरहेका छन् । एक इरान-क्यानाडाली पत्रकारको रिपोर्टमा रेकाबी तेहरान पुगे लगत्तै हिरासतमा पर्न सक्ने बताइएको छ। इरान पुगेपछि उनलाई थुनामा राखेर तेहरानको इभिन जेलमा पठाउन सकिन्छ।
इभिन जेलमा राजनीतिक बन्दी र सरकार विरोधीलाई राखिएको छ । हालै यस जेलमा आगलागी भएको थियो, जसमा धेरै कैदीको मृत्यु भएको थियो। हिजाबको विरोध गर्ने धेरै प्रदर्शनकारीलाई यो जेलमा राखिएको छ ।
मंगलबार रेकाबीको आधिकारिक इन्स्टाग्राम खातामा एक पोस्ट पोस्ट गरिएको थियो, जसमा फारसी भाषामा माफी मागिएको थियो। यो पोस्टमा भनिएको छ, सबै भन्दा पहिले म माफी चाहन्छु। अचानक सुरु भएको प्रतियोगिता र त्यसको समयका कारण मेरो हिजाब फुस्किएको थियो । म अहिले आफ्नो टोलीसँग इरान फर्किरहेको छु।
तर, कुन परिस्थितिमा यो पोस्ट आयो त्यसलाई लिएर धेरै प्रश्नहरु उठेका छन्, धेरै रिपोर्टहरु बाहिर आएका छन्, जसमा हिजाबलाई लिएर विद्रोहको ज्वाला फेरि नदन्कियोस् भन्ने उद्देश्यले रेकाबीबाट जबरजस्ती यो पोष्ट बनाइएको बताइएको छ । साथै, तेहरान उडानमा चढ्नुअघि रेकाबीको राहदानी र मोबाइल फोन जफत गरिएको पनि बताइएको छ ।
गत महिना महसा अमिनी नामकी महिलाको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानसहित विश्वभर हिजाबको विरोध भइरहेको छ । प्रहरीले हिजाबको विरोध गर्ने प्रदर्शनकारीलाई पक्राउ गरी जेलमा हाल्न थालेको छ । यी प्रदर्शनमा अहिलेसम्म दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ । महिलाहरुले हिजाब फुकालेर कपाल काटेर यसको विरोध गरिरहेका छन् ।







डिसी नेपाल







Facebook Comment