युक्रेन युद्धमा इरान प्रत्यक्ष संलग्न भएको अमेरिकाको दावी, आफ्ना सैन्य विशेषज्ञ पठायो

डिसी नेपाल
५ कार्तिक २०७९ १०:४७
468
Shares

काठमाडौं । इरानले युक्रेनमा ड्रोन हमला गर्न रुसलाई सघाउन क्रिमियामा आफ्ना सैन्य विज्ञहरू तैनाथ गरेको अमेरिकाले जनाएको छ । अमेरिकी अधिकारीले इरानका प्रशिक्षक र प्राविधिक सहयोगीलाई क्रिमियामा पठाइएको बताए ।

सोमबार नै युक्रेनको राजधानी किभमा ‘कामिकाजी’ ड्रोनबाट आक्रमण भएको थियो । यी ड्रोन रुसले तैनाथ गरेको तर इरानले बनाएको मानिन्छ । बेलायतले ड्रोन आपूर्ति गर्ने कम्पनी र केही व्यक्तिमाथि प्रतिबन्धको घोषणा गरेको थियो।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षाका प्रवक्ता जोन किर्बीले सञ्चारमाध्यमलाई भने, “हामीले क्रिमियामा इरानी सेनाहरू उपस्थित रहेको र यी कारबाहीमा रुसलाई सहयोग गरिरहेको थाहा पाएका छौं।”

“केही इरानीहरूले प्राविधिक सहयोग गरिरहेका छन् र रसियाले यी ड्रोनहरू युक्रेनमा पठाउँदैछ,” उनले भने। “तेहरान अब प्रत्यक्ष युद्धमा संलग्न छ र युक्रेनको जनता र नागरिक पूर्वाधारमा प्रभाव पार्न हतियार प्रयोग गरिरहेको छ,” किर्बीले भने।

अमेरिकाले युक्रेनका जनता विरुद्ध इरानले यी हतियारको प्रयोगलाई उजागर गर्न, रोक्न र प्रतिरोध गर्न “सबै प्रयास गर्ने” बताएको छ । सोमबारको आक्रमणपछि युक्रेनले यो इरानी ड्रोनले गरेको बताएको छ । यिनीहरूलाई ‘कामिकाजी’ ड्रोन भनिन्छ।

रुसले युक्रेनको महत्वपूर्ण पूर्वाधारलाई लक्षित गर्न हालैका दिनहरूमा ड्रोन र मिसाइलहरू प्रयोग गरेको छ। गत हप्ता सोमबारदेखि भएको आक्रमणमा युक्रेनको करिब एक तिहाइ विद्युत केन्द्रहरू ध्वस्त भएका छन्।

फलस्वरूप, बिहीबार पहिलो पटक युक्रेनमा बिजुलीको प्रयोग सीमित गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *