बोरिस जोनसन र ऋषि सुनकबीच गोप्य बैठक !

डिसी नेपाल
६ कार्तिक २०७९ १६:३०

काठमाडौं । अहिले सबैको नजर बेलायतमा नयाँ सरकार गठनका लागि कन्जरभेटिभ पार्टीका दावेदारहरूमा छ। नयाँ प्रधानमन्त्रीको दौडमा ऋषि सुनक, बोरिस जोन्सन र पेनी मोर्डेन्टको नाम अगाडि छ ।

अब शनिबार ऋषि सुनक र बोरिस जोनसनबीच गोप्य भेटघाट भएको खबर आएको छ । यसमा टोरी पार्टीको नेता चयनका लागि छलफल भएको छ । यो भेटलाई लिएर अड्कलबाजी पनि सुरु भएको छ । प्रधानमन्त्री पदको चित्र स्पष्ट हुने विश्वास गरिएको छ ।

केही समय अघिसम्म सुनक जोनसन सरकारमा अर्थमन्त्रीको रुपमा कार्यरत थिए । पछि सुनकले सरकारको नीतिमाथि प्रश्न उठाए र राजीनामा दिए । त्यसपछि अन्य सांसदहरू पनि बाहिरिए । यस्तो अवस्थामा जोनसनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।

लिज ट्रस नयाँ प्रधानमन्त्री बनिन्। तर, लामो समय सरकार चलाउन नसकेर मिनी बजेटका आर्थिक निर्णयका कारण विवादमा आएकी उनले ४५ दिनपछि राजीनामा दिनुपरेको थियो । अब फेरि एकपटक नयाँ प्रधानमन्त्रीका लागि कन्जरभेटिभ पार्टीको नेता छान्ने अभ्यास तीव्र भएको छ ।

एएफपी समाचार एजेन्सीले धेरै रिपोर्टहरूलाई उद्धृत गर्दै बेलायतमा कन्जरभेटिभ पार्टीको नयाँ नेता यसै हप्ता चयन हुने र उनले प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने बताएको छ। यसैबीच, शनिबार दुई प्रमुख प्रतिद्वन्द्वी ऋषि सुनक र बोरिस जोन्सनबीच आमने–सामने कुराकानी भएको थियो, त्यसपछि राजनीति तातेको छ ।

मिडिया रिपोर्टहरूले यसलाई गोप्य बैठक भनेका छन्। कन्जरभेटिभ पार्टीको नेतृत्वको दौडमा भारतीय मूलका पूर्व अर्थमन्त्री ऋषि सुनक अगाडि छन् । उनले मतपत्रका लागि आवश्यक पर्ने १०० भन्दा बढी टोरी सांसदहरूको समर्थन जितेका छन्।

बेलायती संसदमा कुल ३५७ टोरी सांसद (कन्जरभेटिभ पार्टीका सांसद) छन्। मतपत्र प्राप्त गर्न उम्मेदवारलाई करिब १०० टोरी सांसदहरूको समर्थन चाहिन्छ। यसरी उम्मेदवारको संख्या तीन भन्दा बढी हुन सक्दैन। पार्टीका एक सय सांसदको समर्थन पाउने उम्मेदवारले प्रधानमन्त्री पदका लागि अन्तिमसम्म लड्नेछन् । अहिलेसम्म जोनसनले ४६ सांसद र पेनीले २१ जनाको समर्थन पाएका छन् ।

यस्तो अवस्थामा प्रधानमन्त्री पदका लागि एक जना मात्र उम्मेदवार आएमा बेलायतले अर्को सातासम्म नयाँ प्रधानमन्त्री पाउनेछ । दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएमा शुक्रबारसम्म १ लाख ७० हजार टोरी सदस्यले अनलाइन भोट गर्नेछन् । बोरिस जोनसनले २०१९ को चुनावमा टोरी पार्टीलाई ८० सिट जितेर बहुमत दिएका थिए।

यद्यपि, बोरिस जोनसनका सहयोगी र कन्जरभेटिभ सांसद जेम्स डुड्रिजले जोनसनलाई बेलायतको अर्को प्रधानमन्त्री बन्ने दौडमा सामेल हुन पर्याप्त समर्थन रहेको दाबी गरे। यहाँ सुनक र जोनसनको भेटलाई लिएर छलफल तीब्र भएको छ । अहिलेसम्म दुवैले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *