सरकारले नवविवाहित जोडीहरूलाई फोन गर्दै ‘बच्चा कहिले जन्माउँछौ’ भनेर सोध्दै
काठमाडौं । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश चीनको जनसङ्ख्या क्रमशः घट्दै गएका कारण यतिबेला चिन्तित बनेको छ । सरकारको लागि यो कत्तिको चिन्ताको विषय बनेको छ भन्ने यहाँकी एक नवविवाहित महिलाले सामाजिक सञ्जालमा पोस्ट लेखेपछि थाहा भयो ।
यसमा उनले आफूलाई क्षेत्रीय प्रशासनबाट फोन आएको बताएकी छिन् जसमा उनी कहिले गर्भवती हुन्छिन् भनेर सोधिएको थियो । त्यसपछि महिलाको यो पोस्टको जवाफमा करिब १० हजार मानिसले कमेन्ट गर्दै आफूलाई पनि यस्तै कल आएको लेखेका छन् । तर, पछि प्रशासनले उक्त पोस्ट हटायो ।
अर्की एक महिलाले आफ्नो सहकर्मीलाई यस्तो कल गरेको बताइन् । फोनमा अधिकारीले ती महिलालाई सरकारले नवविवाहित जोडीलाई एक वर्षभित्र गर्भवती गराउन चाहेको र आफूहरूलाई बारम्बार फोन गर्न भनिएको बताएका थिए ।
अर्की महिलाले कमेन्टमा लेखेकी थिइन् कि उनले गत वर्ष अगस्टमा विवाह गरिन् र त्यसपछि उनलाई गर्भवती भएको बारे सोध्न दुईवटा फोन आएका थिए। उनले भनिन् कि फोनमा अफिसरहरुले उनलाई भन्छन्– तिमी विवाहित छौ, त्यसोभए बच्चाको लागि किन योजना बनाएको छैन ? बच्चालाई जन्म दिनको लागि समय लिनुहोस्।
चिनियाँ राष्ट्रपति सी जिनपिङले गत हप्ता कम्युनिष्ट पार्टीको बैठकमा जन्मदर बढाउने र देशको जनसंख्या विकास रणनीति सुधार गर्ने नीति बनाउने घोषणा गरेका थिए। चीनले आफ्नो जनसंख्या घट्दो क्रममा रहेको स्वीकार गरेको छ ।
विश्व जनसंख्या संभावना २०१९ अनुसार चीन हाल १ अर्ब ४४ करोड जनसंख्यासहित पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको भारतमा १ अर्ब ३९ करोड जनसंख्या छ । विश्वको जनसङ्ख्याको १९ प्रतिशत चीन र १८ प्रतिशत भारतको रहेको छ । रिपोर्टका अनुसार सन् २०२३ सम्ममा भारतको जनसङ्ख्या चीनको भन्दा बढी हुनेछ । सन् २०१९ देखि २०५० सम्ममा चीनको जनसंख्या ३१.४ मिलियन अर्थात करिब २.२ प्रतिशतले घट्ने प्रतिवेदनमा उल्लेख छ ।
उल्लेखनीय कुरा के छ भने चीनले सन् १९७० र ८० को दशकमा ठूलो जनसङ्ख्याबाट समस्यामा परेर नयाँ नीतिहरू लागू गरेको थियो, यसले जन्म अनुपातमा एकदमै उल्टो प्रभाव पारेको थियो, जसका कारण जनसङ्ख्यामा पनि तीव्र परिवर्तनहरू देखा परेको थियो। तर केही समयपछि यो पनि देखियो कि यसका कारण विकासको प्रक्रिया पनि धेरै ह्रास हुँदै गयो ।
संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभागको प्रक्षेपण अनुसार विश्वको जनसंख्या सन् १९५० पछिकै सुस्त गतिमा बढिरहेको छ । प्रक्षेपणका अनुसार यदि हामीले सम्पूर्ण विश्वको कुरा गर्ने हो भने सन् २०३० सम्ममा विश्वको जनसंख्या ८.५ अर्ब हुनेछ । त्यसैगरी सन् २०५० सम्ममा विश्वको कुल जनसङ्ख्या ९ अर्ब ७ करोड र २०८० को दशकमा करिब १० अर्ब ४ करोड पुग्नेछ । रिपोर्टका अनुसार यसपछि सन् २१०० सम्म विश्वको जनसंख्या यही स्तरमा रहनेछ ।







डिसी नेपाल







Facebook Comment