भारतसँगको व्यापार वार्तामा ‘धेरै प्रगति’ भएको बेलायती विदेशमन्त्रीको भनाइ

डिसी नेपाल
१३ कार्तिक २०७९ १५:०५
20
Shares

एजेन्सी । बेलायतको यूरोपेली सङ्घबाट भएको बहिर्गमन (ब्रेक्जिट) पछि भारतसँग भएको स्वतन्त्र व्यापार सम्झौता वार्ता ‘निकै सकारात्मक’ रहेको बेलायतले जनाएको छ ।

भारत भ्रमणका क्रममा बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आइतबार प्रकाशित टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भने, “हामीले वार्तामा धेरै प्रगति गरेका छौं र हामी दुवै देशका लागि हित गर्ने सम्झौताका लागि काम गरिरहेका छौं ।”

“भारतसँगको हाम्रो साझेदारी हाम्रा लागि महत्वपूर्ण छ र यसलाई हामी बढाउन र विकास गर्न चाहन्छौं भन्ने कुरामा हामी स्पष्ट छौं,” दुई दिने भ्रमणका क्रममा उनले भने ।

भारत र उसका पूर्व औपनिवेशिक शासकबीच करिब १८ महिनादेखि व्यापार सम्झौताका लागि वार्ता भइरहेको छ, जुन बेलायतका लागि महत्वपूर्ण कोसेढुङ्गा हुनेछ ।

कडा पेय पदार्थ ह्विस्कीजस्ता बेलायती आयातमा कर घटाउने बदलामा भारतले आफ्ना नागरिकका लागि थप काम र अध्ययन भिसाको माग गरेको छ ।

तर अक्टोबर २४ देखि सुरु भएको भारतीय धार्मिक चाड दीपावलीको अवसरमा सम्झौताको लागि लक्षित मिति बेलायतको सत्तारुढ कन्जरभेटिभहरूबीच थप आप्रवासनको भारको भयका कारण वार्ता असफल भएको समाचारहरू केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

हालै पुनर्बहाली गरिएकी दक्षिणपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले बेलायती भिसा अवधि नाघेकाहरूको सबैभन्दा ठूलो समूह भारतीय भएको टिप्पणी गरेपछि भारतीय पक्ष चिढिएको भन्ने समाचारहरू पनि आएका छन् ।

यद्यपि, क्लेभरलीले टाइम्ससँगको अन्तवार्तामा भने, “आफुले यसलाई ‘धेरै सकारात्मक’ कुराको रूपमा हेरेको र बेलायतमा अध्ययन र व्यापारमा संलग्न धेरै भारतीयहरूले बेलायतमा जान चाहने विद्यार्थी र व्यापारीको लागि सम्झौतालाई अवसरका रूपमा हेरेका छन् ।”

उनले भने, “निस्सन्देह, यसको अर्थ हामीले हाम्रा प्रक्रियाहरू सही छन् भनेर सुनिश्चित गर्नुपर्छ ।”

भारतीयहरूका प्रिय पात्र ऋषि सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतमा बेलायती प्रधानमन्त्री प्रतिको उत्साह र उमङ्ग देख्दा खुसी लागेको क्लेभरलीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *