चुनावका मुखमा पर्यटनमन्त्रीको निगम डुबाउने निर्देशन

डिसी नेपाल
१४ कार्तिक २०७९ १०:२०

काठमाडौं। चुनावको मुखमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेकपा (एस)का नेता जीवनराम श्रेष्ठले नेपाल बायुसेवा निगमलाई धरासायी पार्ने अन्तिम कसरत गरेका छन्।

विभागीय मन्त्रीले निगमलाई सहयोग गर्नु पर्नेमा धरासायी बनाउन दिल्ली उडानका ४ वटा उडान कटौती गर्ने आदेश दिएका छन्। भैरहवा विमानास्थलबाट उडान नगरेको भन्दै सबैभन्दा बढी कमाइ हुने निगमको दिल्ली उडानका ४ वटा उडानहरु रद्द गर्ने निर्देशन दिएका थिए।

उनको सो निर्देशनपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक १३ गतेको निर्धारित दिल्ली उडान रोकेको थियो। दुई सयभन्दा बढी यात्रुहरु निर्धारित उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा पुगिसकेपछि अचानक उडान रद्द गरिएको थियो।

निर्धारित उडान रद्द भएपछि निगमको थाप्लोमा ती सबै यात्रुहरुलाई होटलमा लगेर राख्नु पर्ने थप व्ययभार पनि परेको थियो। निगमले हप्तामा १४ वटा उडान दिल्लीका लागि गर्दै आएको छ।

काठमाडौं एयरपोर्टबाट तीनवटा दिल्ली उडान गर्दा कम्तिमा एउटा दिल्ली उडान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानास्थल भैरहवाबाट अनिवार्यरुपमा गराउन अक्टोबर २१ तारिकका दिन प्राधिकरणले निगमलाई निर्देशन दिएको थियो। तर, सो निर्देशनमा तिथिमिति तोकिएको थिएन, केवल आउँदो जाडो याममा मात्र भनिएको थियो।(हेर्नुहोस् पत्र)।

यसको जवाफमा निगमले डिसेम्बरभित्र त्यस्तो उडान शुरु गर्ने प्रतिबद्धता पत्र निगमलाई अक्टोबर २३ तारिकमै पठाएको थियो। इन्जिनियरिङ, व्यबस्थापकीय र अन्य कामहरु मिलाउन केही समय लाग्ने भएकोले निगमले डिसेम्बरभित्रै उडान शुरु गर्ने भनेर पत्र लेखेको थियो। (हेर्नुहोस् पत्र)।

तर, यसको वेवास्ता गर्दै अन्य निजी विमान कम्पनीहरुको फाइदाका लागि मन्त्री श्रेष्ठले निगमका उडान एक्कासि रोकिदिएको बताइएको छ। निगमले दिल्ली उडानलाई निकै नियमित बनाउँदै लगेकाले विगतमा गुमेको इज्जत विस्तारै कमाउन थालेको अवस्थामा मन्त्रीको यो दुर्नियतपूर्ण हस्तक्षेपले निगमलाई ठूलो मार परेको छ।

यसले अन्य निजी कम्पनीहरुको टिकटलाई महँगो बनाइदिएको छ भने दिल्ली उड्नै पर्ने यात्रुहरुले दोब्बरभन्दा बढी भाडा तिर्नुपर्ने भएको छ। चुनावको मुखमा मन्त्री श्रेष्ठले के बाध्यताले यस्तो नराम्रो काम गरे भन्ने यकिन भइसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *