जुम्लाका दुईसहित एक सयभन्दा बढी नेपाली कामदार साउदीमा अलपत्र

डिसी नेपाल
१५ कार्तिक २०७९ १४:००

जुम्ला। वैदेशिक राेजगारीका लागि साउदी अरब पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र परेका छन्। काठमाडाैंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीकाे रफैया पुगेका दुई जुम्लाका नागरिकसहित उनीहरू अलपत्र परेका हुन्।

अलपत्र परेका जुम्ला तातोपानी गाउँपालिका-८ का अशोक बुढाथोकी र चन्दननाथ नगरपालिका-२ का लोकबहादुर भण्डारीका अनुसार उनीहरूसहित ४६ जना एकै कम्पनीमा काम गर्दै आएका थिए। साउदीकाे लदवा कोल्टी फर्मले ६ महिना मात्रै कामकाे पैसा दिएको अशोकले टोलिफोनमा जानकारी दिए। उनका अनुसार त्यसपछि यहाँ काम गर्ने अबधि सकिएको भन्दै सबै जनालाई पाँच सय मिटर टाढाकाे अर्को कम्पनीमा पठाएको थियाे।

साउदीको २२ नम्बर गल्लीमा रहेको अवैध कम्पनीले तीन महिनासम्म पारिश्रमिकविनै काममा लगाएको बुढाथोकी बताउँछन्। उनले भने, ‘त्यो कम्पनीसँग तीन महिना काम गरेको पारिश्रमिक माग्दा बन्दुक तेर्साएर कुटपिट गर्याे।’

कुटपीटपछि तीन जनालाई प्रहरीको भ्यानमा राखेर हिरासतमा लिन लागेको थियो। त्यहा काम गर्ने ४६ जना नेपाली कामदार एक जुट भएर सबैलाई लैजान भनेपछि कुटपीट गरी लखेटेको थियो। उनीहरु सबै रफैयास्थित नेपालीले खोलेको एक होटलमा छन् । बुढाथोकीका अनुसार सबैको पासपोर्ट खोसेर त्यही कम्पनीले राखेको छ।

अलपत्र रहेकाहरूले प्रहरी प्रशासन पनि कम्पनीसँग मिलेकाे आराेप लगाएका छन्। बुढाथाेकीले भने, ‘म बस्ने ठाउँमा कुनै अस्पताल छैन कुटपिटपछि छाती दुखिरहेकाे छ। घटना भएकाे ठउँबाट अहिले तीन सय किलोमिटर टाढा बसेका छौँ ।’

जुम्लाकै लोकबहादुर भण्डारीको समेत कुटपिटबाट दाँत भाँचिएको उनले बताए। उनले भने, ‘आफुसँग पैसा नहुँदा घरबाट २० हजार खोजेर हालिदिन अनुरोध गरेकाे छु । पैसा पाएपछि राजदुतावास गएर टिटी फर्म भर्छु।’

उनकी श्रीमती चन्द्रकला पुनले श्रीमानलाई राकमका गेठाना भन्ने रमेश पाण्डे र मेनपावरको प्रतिनिधि प्रकाश बलले विदेश पठाएका हुन्। उनले भनिन्, ‘अहिले दुवै जनाले फोन उठाउँदैनन्। पैसा खाए । राम्रो ठाउँमा पठाइदिने भनेकाले प्रलोभवनमा पारियाे। अहिले सास्ती खेप्नुपरेको छ।’

उनीहरूलाई काठमाडौंको जेभी ओभरसिज म्यानपावर कम्पनीका एजेन्टले जनही दुई लाख ६० हजार रुपैयाँ लिएर गत ११ फागुनमा साउदी पठाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *