अमेरिकालाई ‘शक्तिशाली जबाफ’ दिने उत्तर कोरियाको धम्की

इभेट ट्यान/बीबीसी
१६ कार्तिक २०७९ ६:४३

बीबीसी। दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नरोकेमा संयुक्त राज्य अमेरिकाविरुद्ध “शक्तिशाली जबाफी कदम” चालिने भन्दै उत्तर कोरियाले धम्की दिएको छ। वाशिङ्गटन र सउलले सोमवारदेखि तिनीहरूको सबैभन्दा ठूलो मध्येको संयुक्त हवाई सैन्य ड्रिल अभ्यास आरम्भ गरेका छन् जुन शुक्रवार समाप्त हुने बताइएको छ।

उत्तर कोरियाले पनि त्यस्ता कतिपय ड्रिलहरूको जबाफमा भन्दै हालैका हप्ताहरूमा शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको थियो। प्योङयाङले सन् २०१७ पछि पहिलो पटक परमाणुअस्त्र परीक्षणको तयारी गरिरहेको भन्ने गुप्तचर सूचनाहरूका माझ यी गतिविधिहरू भएका छन्।

उत्तर कोरियाको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै भनेको छ, “यदि अमेरिकाले गम्भीर प्रकृतिको उक्साउने खाले सैनिक गतिविधिलाई निरन्तरता दिन कायमै राखेमा [उत्तर कोरियाबाट] अझै शक्तिशाली जबाफी कदम चालिनेछ।”

“यदि [वाशिङ्गटन] आफ्नो सुरक्षा चासोलाई नसुहाउने खालको कुनै गम्भीर गतिविधि चाहँदैन भने उसले यस्ता अनुपयोगी र अप्रभावी युद्ध अभ्यासहरू तत्काल बन्द गर्नुपर्छ। होइन भने, अगाडिका सबै परिणामहरूको सम्पूर्ण जिम्मेवारी उसैले लिनुपर्छ।”

‘भिजिलन्ट स्टोर्म’ नाम दिइएको हालको सैन्य अभ्यासमा सयौँ लडाकु विमान सहभागी छन् र तिनीहरूले दिनको चौबीसै घण्टा नक्कली आक्रमणको अवस्थाको अभ्यास गरिरहेका छन्।

अक्टोबर महिनाको आरम्भतिर वाशिङ्गटनले उत्तर कोरियालाई चेतावनी दिइएको अर्थमा बुझिएको कदममा उस्को परमाणुअस्त्र भएको विमानवाहक लडाकु पानीजहाज युएसएस रोनल्ड रेगनलाई कोरियाली प्रायःद्वीप नजिक परिचालन गरेको थियो। उक्त पानीजहाज पनि केही नौसैनिक युद्ध अभ्यासमा संलग्न भएको थियो।

सउलले उक्त सैनिक पानीजहाजको “विरलै गरिने” परिचालनलाई उत्तर कोरियाबाट हुने भड्काउने खाले गतिविधिहरूलाई कडा रूपमा जबाफ दिइनेछ भन्ने दक्षिण कोरिया-अमेरिकी संयुक्त गठबन्धनको अठोटलाई अभिव्यक्त गरेको भनेको थियो। हाल उक्त सैन्य पानीजहाज फिलिपिन सागरमा सक्रिय रहेको छ।

अक्टोबरमा प्योङयाङले आफूहरूहरूले गरेको क्षेप्यास्त्र प्रक्षेपण दक्षिणमा गरिन सक्ने परमाणु हमलाको “दुरुस्तै” अभ्यास भएको बताएको थियो। त्यस क्रममा दक्षिण कोरियाका सैन्य अखडा, बन्दरगाह र विमानस्थलहरूमा हमला गरिएको अवस्थाको अभ्यास सफलतापूर्वक सम्पन्न भएको दाबी गरिएको थियो।

सेप्टेम्बर महिनामा उत्तर कोरियाली नेता किम जङ-अनले प्योङयाङ अब “पछाडि फर्कनै नमिल्ने गरी” परमाणु शक्ति सम्पन्न राष्ट्र भएको घोषणा गर्दै आफूमाथि आक्रमण हुनुपूर्व नै अरू विरुद्ध परमाणुअस्त्र प्रयोग गर्न सक्ने गरी देशका कानुनहरूमा फेरबदल गरेका थिए।

उक्त देशको पहिलेको नीति आफूविरुद्ध हमला भएमा मात्र परमाणुअस्त्रको प्रयोग गर्ने भन्ने रहेको थियो। यो वर्ष उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणहरूको सङख्या पनि बढाएर हालसम्म चालिसवटा भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिसकेको छ। संकट पर्ने गरी विभिन्न प्रतिबन्धहरूको सामना गरिरहेको भए पनि प्योङयाङले सन् २००६ र २०१७ को बीचमा ६ वटा परमाणुअस्त्र परीक्षण गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *