बागलुङ १ मा सूर्य पाठक र चित्रबहादुरबीचकाे चुनावी भिडन्त रोचक बन्दै

डिसी नेपाल
१६ कार्तिक २०७९ १३:३४

काठमाडाै‌। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्।

सत्ता गठबन्धनभित्रै कतिपय विषयमा फरक मत राखेर अनौठो व्यवहार गर्ने उनलाई निर्वाचनमा कडा टक्कर दिइरहेका छन् एमालेका डा. सूर्य पाठकले। सोही निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचन जितेका पाठकको प्रतिद्वन्द्वीको रूपमा चित्रबहादुर आएपछि बागलुङ १ को चुनावी भिडन्त रोचक बनेको छ।

तर, एक बहस कार्यक्रममा चित्रबहादुर अनुपस्थित भएपछि उनको आलोचना भएको छ। उनी जनताको प्रश्न सामना गर्न नसकेर भागेको आरोप लागेको छ। प्रसंग हो, एक टेलिभिजन बहस कार्यक्रमको।

उम्मेदवारहरूबीच बहस गराउन बागलुङ पुगेका थिए पत्रकार ऋषि धमला। सो कार्यक्रममा चित्रबहादुरसहित सूर्य पाठकलगायतलाई बोलाइएको थियो। तर, केसी गइदिएनन्। कार्यक्रममा धमलाले चित्रबहादुर आइनपुगेको भनेर के भन्न भ्याएका थिए, उपस्थित सर्वसाधारण होहल्ला गर्न थाले।

सोही बीचमा पाठकले भने, ‘मेरो केही कुरा छ, बागलुङमा चित्रबहादुरजी र मेरोबीचमा प्रतिस्पर्धा हुँदैछ। म उहाँसँग डिबेट गर्न मतदातालाई भेट्न छाडेर उहाँ आएको छु। त्यसकारण उहाँको उपस्थिति अनिवार्य छ।’ उनी ननुपस्थित भएपछि स्वतन्त्र उम्मेदवार चन्द्रबहादुरलाई पाठकसँग राखेर धमलाले कार्यक्रम चलाए।

तर, पाठकले कार्यक्रममा निरन्तर चित्रबहादुरको खोजी गरिरहे। यतिसम्म कि केसी नआएसम्म आफू बोल्न तयार नभएको बरु पर्खिने बताए। धमलाले पाठकजी तपाईको एजेण्डा के भनेर प्रश्न गर्दा चित्रबहादुर आएपछि मात्रै बहस गर्ने अडान लिइरहे।

उनले यहाँको बहस आफ्नो र चित्रबहादुरको हुने भएकाले उनको उपस्थिति अनिवार्य भएको बताए। उनले लोकतन्त्रमा प्रश्नबाट भाग्न नमिल्ने भन्दै त्यसका लागि आफू पर्खिन तयार रहेको बताए । तर, धमलाले कार्यक्रम अघि बढाउन खोजेपछि यसरी नहुने भन्दै दर्शकदीर्घाबाट होहल्ला भयो।

धमलाले भने दर्शकतर्फ संकेत गरेर उम्मेदवारलाई प्रश्न सोध्न आग्रह गरे। यहीक्रममा दर्शकदीर्घाबाट जीवन शर्माले सूर्य पाठकले अघिल्लो निर्वाचनमा विजयी भएपछि जनताको पक्षबाट के काम गरे भन्दै प्रश्न गरे। उनको प्रश्नपछि उनले पाठकले आफू प्रश्नबाट नभाग्ने बताए। तर, चित्रबहादुर भागेको उनको आशय थियो।

उनले चित्रबहादुर नआउने निष्कर्षका साथ सबैको सम्मान गर्दै मतदातामार्फत आफ्ना कुराहरू राख्ने बताए। सो क्रममा उनले आफ्ना चुनावी एजेण्डा विगतमा आफूले गरेका काम कारबाहीको बेलिविस्तार सुनाए। उनले चुनावपछि एमालेले बहुमत ल्याउने र अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *