अमेरिकामा आज चुनाव, दुई दलबीच तीब्र प्रतिष्पर्धा

डिसी नेपाल
२२ कार्तिक २०७९ १४:१६

वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकामा आज मध्यावधि चुनाव हुँदै छ। यो चुनावले केन्द्रीय संसदमा डेमोक्र्याट वा रिपब्लिकन कुन दलको बहुमत हुने हो भन्ने निर्क्योल गर्ने भएकाले दुबै दलका लागि आजको चुनाव अत्यन्तै महत्वपूर्ण बनेको छ।

हाउस अफ रिप्रिजेन्टेटिमका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि सांसदहरु छनौट हुने भएकाले भावी संसद कस्को पक्षमा जाने हो भन्ने कुराको टुंगो यही निर्वाचनले लगाउने छ। आजकै चुनावबाट ५० राज्यमध्ये ३६ राज्यका गभर्नरहरु पनि छानिनेछन्।

त्यसैगरी धेरैजसो राज्यहरुमा राज्यसभाका सांसदहरुको पनि निर्वाचन आज नै छ। राष्ट्रपति जो वाइडेनको कार्यकालको मध्य अर्थात् दुई बर्षमा हुन लागेको यो निर्वाचनले उनलाई बाँकी कार्यकाल काम गर्न कति सजिलो वा कठिन हुनेछ भन्ने पनि तय गर्ने छ।

सरकारका हरेक कामहरु संसदबाट पारित गराएरमात्र गर्नु पर्ने भएकाले पनि यो निर्वाचन दुवै दलहरुका लागि आफ्नो शक्ति देखाउने ठूलो अवसर भएको छ।

यदि धेरै सिटहरुका रिपब्लिकन दलका उम्मेद्वारहरुले जितेको खण्डमा बांकी दुईबर्षको कार्यकाल राष्ट्रपति वाइडेनका लागि निकै कष्टकर बन्नेछ। यो निर्वाचनका लागि मुख्यता अमेरिकामा बढ्दै गएको व्याजदर मुख्य इस्यु भएको छ।

केही महिनाको अवधिमै केन्द्रीय बैंकले तीनपटक सम्म ब्याजदर बढाइदिएकाले सरकारले सही आर्थिक नीति लिन नसकेको र मुद्रास्फितिको चर्को मारमा पर्नुपरेको कुरालाई सरकारविरोधी अस्त्र बनाइएको छ यो चुनावमा। योसँगै उपभोक्ताहरु इन्धनलगायत हरेक उपभोग्य बस्तुको मूल्य बृद्धिको मारमा परेको कुरा पनि पेचिलो गरी उठेको छ।

त्यसैगरी दोस्रो प्रमुख मुद्धाका रुपमा गर्भपतन गर्न पाउने कि नपाउने भन्ने कुरा उठेको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रभावमा चलेको रिपब्लिकन पार्टीले गर्भपतनलाई बैधानिकता दिन नहुने मत राखेको छ भने सत्तारुढ डेमोक्रेटिक पार्टीका नेताहरुले आफ्नो जीवन आफ्नै अधिकार भएको अभियान नै चलाएका छन्।

यो विषय अमेरिकाको धार्मिक मान्यताहरु समेत जोडिएर निकै पेचिलो बनेको छ। अर्को सर्वाधिक चर्चाको विषय भनेको अमेरिकामा बन्दुक नियन्त्रणको हो।

निश्चित मापदण्ड पुरा गरेका हरेक नागरिकले संविधानत हतियार किन्न र बोक्न पाइने भएकाले त्यसको सदुपयोग नभई आम नरसंहारका घटनाहरु पछिल्ला बर्षहरुमा निकै बढेका छन्।

रिपब्लिकनहरुले गन कन्ट्रोल गर्न नपाइने अडान राखेका छन् भने डेमाेक्र्याटहरुले गन कन्ट्रोल गर्न निकै कडा नीति ल्याएर लागू गर्नुपर्ने प्रस्ताव मतदाताहरु समक्ष गरेका छन्। त्यसवाहेक यहांको प्रजातन्त्र पनि यतिबेला आएर चुनावको मुद्धा बनेको छ।

ट्रम्पले आफू पराजित भएपछि पनि सत्ता हस्तान्तरण गर्न नमानेको र फेरि रिपब्लिकनहरुलाई नै मतदान गर्ने हो भने अमेरिकाको लोकतन्त्र खतरामा पर्ने र यहाँका जनताले सर्वसत्तावादीहरुको शासन भोग्नुपर्ने तर्क गरेर डेमोक्र्याटहरुले मत मागेका छन्।

जनवरी ६, २०२० को संसद भवनमाथिको आक्रमण शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न नदिने षड्यन्त्र भएको भन्दै ट्रम्पविरुद्ध जनमत बनाउने प्रयास डेमोक्र्याटहरुले यो चुनावमा गरेका छन्।

यसवाहेक अध्यागमन प्रणाली र विदेशीहरुलाई अमेरिका प्रवेश र वसोवास सहज हुन दिने कि नदिने, यहाँको शिक्षा, जलवायु परिवर्तन र युक्रेनमा रुसले गरेको हस्तक्षेपजस्ता विषयहरु चुनावी मुद्दाका रुपमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *