नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव प्राज्ञ पौडेलद्वारा गौहाटीमा अन्तर्राष्ट्रिय सङ्गोष्ठीको उद्घाटन

डिसी नेपाल
२६ कार्तिक २०७९ ९:१३

काठमाडौँ। गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागले कार्तिक २० र २१ गते बीपी कोइराला नेपाल भारत फाउन्डेसन र नेपाली प्रकाशन परिषद् असमको सहयोगमा भारतमा संस्थागत रूपमा नेपाली शब्दकोश र विश्वकोश (इनसाइक्लोपिडिया) निर्माणका लागि मार्गचित्र तय गर्न आयोजित दुई दिने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले प्रमुख अतिथिका रूपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे।

गौहाटी विश्वविद्यालयका विभागीय सदस्य डा. खगेन शर्मा संयोजक तथा डा‍• सृजना शर्मा र प्रा. देवेन शर्मा सहसंयोजक रहेको उक्त सङ्गोष्ठीमा नेपालका साथै भारतका विभिन्न प्रान्तबाट उपस्थित भएका विभिन्न विंश्वविद्यालयका प्राध्यापकहरू, एकेडेमीका प्रतिनिधिहरू, भाषाविद्हरू तथा भाषासम्बन्धी आइटी विज्ञहरूको उपस्थिति रहेको थियो।

उक्त सङ्गोष्ठीको समुद्घाटनका अवसरमा प्रमुख अतिथि पौडेलले नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाली शब्दकोश (२०१९), नेपाली बृहत् शब्दकोश (२०४०) र प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) सम्म आइपुग्दा शब्दकोश निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको र विश्वकोश निर्माणका सम्बन्धमा पनि प्रतिष्ठानले ‘नेपाल लघु विश्वकोश’ (२०६७) निर्माण गरी यस कार्यको थालनी गरेको तथा विश्वकोशकै रूपमा ‘नेपाल दर्पण’ ग्रन्थका सात भाग निर्माण गर्ने कार्यलाई अगाडि बढाएको र लगभग १२ सय पृष्ठको ‘नेपाल दर्पण’ (मदेस प्रदेश) ग्रन्थको निर्माण भइसकेको जानकारी गराउँदै नेपालमा शब्दकोश निर्माणमा व्यक्तिगत प्रयासहरू पनि भएका र हाल गौहाटी विश्वविद्यालयले यस किसिमको सङ्गोष्ठीको आयोजना गरेर भारतमा संस्थागत रूपमा शब्दकोश र विश्वकोश निर्माण गर्ने कामको थालनी गरेकोमा आयोजकहरूलाई धन्यवाद दिए ।

सो अवसरमा प्रमुख अतिथि पौडेलले यो श्रमसाध्य विषय र अत्यन्त ठुलो आयोजना भएको हुँदा यसमा ठुलै धनराशी र समय लाग्ने कुरा उल्लेख गर्दै गौहाटी विश्वविद्यालयले थालनी गरेको यस कार्यमा बौद्धिक, प्राज्ञिक सहयोग गर्न नेपाल प्रज्ञा–प्रतिष्ठान तयार रहेको पनि बताए । सो अवसरमा प्राज्ञ पौडेलले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ विश्वविद्यालयलाई हस्तान्तरण गरे ।

उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा प्रा.डा.माधवप्रसाद पोखरेल, प्रा.डा.गोविन्दराज भट्टराई, सिक्किम एकेडेमीका अध्यक्ष एस् आर् सुब्बा, दार्जिलिङ नेपाली एकेडेमीका अध्यक्ष डा.गोकुल सिन्हा र नेपाली प्रकाशन असमका अध्यक्ष डी.बी क्षेत्रीले शुभकामना मन्तव्य राखेका थिए ।

गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा एवं साहित्य अध्ययन विभागकी प्रमुख एवं असमी भाषाकी प्रसिद्ध उपन्यासकार प्रा.डा.अनुराधा शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त उद्घाटन सत्रको सहजीकरण सङ्गोष्ठीका संयोजक डा.खगेन शर्माले गरेका थिए ।

सङ्गोष्ठीमा नेपालबाट गएका विषय विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए भने भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट आएका विज्ञहरूले अध्यक्षता र टिप्पणी गरेका थिए।

यस क्रममा ‘शब्दकोशका प्रकार र निर्माण’का बारेमा प्रा.डा.माधव पोखरेलले, ‘विश्वकोश निर्माणको मार्गचित्र’का बारेमा प्रा.डा.गोविन्दराज भट्टराईले, ‘विश्वकोशको इतिहास र नेपालमा भएका प्रयासहरू’ का बारेमा प्रा.डा.हेमनाथ पौडेलले, ‘नेपाली शब्दकोश निर्माणमा प्रविधिको प्रयोग’ का बारेमा प्रा.डा.बलराम प्रसाईँले तथा ‘नेपाली शब्दकोशको इतिहास र निर्माणका समस्या’ का बारेमा डा.यज्ञेश्वर निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए।

उक्त कार्यपत्र सत्रहरूको सभापतित्व र टिप्पणी क्रमश: रुद्र पौड्याल र डा. पर्शुराम पौड्याल, डा. गोकुल सिन्हा र डा. दशरथ खरेल, प्रा. प्रतापचन्द्र प्रधान र प्रा. देवेन सापकोटा, प्रा.डा. दिवाकर प्रधान र डा. नरेशचन्द्र खत्री, प्रा. कृष्णराज घतानी र प्रा. पुष्प शर्माले गरे ।

उक्त कार्यपत्रहरूमाथि सामूहिक छलफलपछि मार्गचित्र निर्माण गरी गोष्ठीको समापन भएको थियो । गोष्ठीमा डा.खगेन शर्माद्वारा लिखित दुई पुस्तकको लोकार्पण पनि गरिएको थियो ।

सङ्गोष्ठीमा नेपाली भाषा र साहित्यको विकासका निम्ति डा. गोकुल सिन्हाको अध्यक्षतामा भारतभरिका प्रतिनिधिलाई समेट‍र २१ सदस्यीय नेपाली भाषा राष्ट्रिय विकास परिषद्को गठन समेत भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *