अमेरिकी निर्वाचनमा राष्ट्रपति वाइडेनलाई राहत, सिनेटमा बहुमत, हाउस अझै अनिर्णित
वासिंगटन डिसी। अमेरिकामा सम्पन्न मध्यावधि चुनावमा तीब्र प्रतिष्पर्धाका बीच सत्तारुढ दल डमोक्रेटिक पार्टीले संसदको माथिल्लो सभा सिनेटमा झिनो बहुमत हासिल गरेको छ।
तर, हाउस अफ रिप्रिजेन्टेटिभमा भने सो पार्टी प्रतिपक्षी दल रिपब्लिकन भन्दा यो समाचार तयार पारुन्जेलसम्म ७ सिटले पछि परेको छ। हाउसमा रिपब्लिकनको २११ सिट आइसकेको छ भने डेमोक्र्याटहरुको हालसम्म २०४ सिट छ। जम्मा ४३५ सिट रहेको हाउसका सबै सिटहरुमा नोभेम्बर ८ तारिकका दिन निर्वाचन भएको थियो।
मतगणना अझै जारी रहेकोले अझै हाउसका २० सिटको नतिजा आइसकेको छैन। कुनै पनि दलले २१८ सिट ल्याए बहुमत पुग्ने भएकाले यी २० सिटहरु निर्णायक हुन्।
तर, विजयी भएका सिटहरुमा यसअघि डेमोक्र्याटले जितेका १६ वटा सिटहरु रिपब्लिक पार्टीले खोजेको र डेमोक्र्याटले रिपब्लिकन पार्टीका जम्मा ५ वटामात्र सिट खोजेको छ। निर्वाचन परिणामको यो ट्रेण्डलाई अमेरिकी संचारमाध्यमहरुले विश्लेषण गर्दै हाउसमा विपक्षी रिपब्लिकन पार्टीले झिनो बहुमत पुर्याउन सक्ने उल्लेख गरेका छन्।
त्यसैगरी अर्को सदन सिनेटका १ सय सिटमध्ये मध्यावघिका लागि जम्मा ३५ सिटमा निर्वाचन भएको थियो। यो चुनावसमेत गरेर सय सिटमध्ये डेमोक्रेटिक पार्टीले ५० सिटमा विजय हासिल गरेको छ भने रिपब्लिकनले ४९ सिटमा जितेको छ।
जर्जिया राज्यको एउटा सिटमा दुबै पार्टीका उम्मेद्वारहरु बीच तीब्र प्रतिष्पर्धा भई कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि सो राज्यमा फेरि डिसेम्बर ६ मा चुनाव हुने भएको छ।
तर, सिनेटको नेतृत्व उपराष्ट्रपतिले गर्ने भएकाले डिसेम्बरको चुनावमा रिपब्लिकनले नै जिते पनि मताधिकारको हिसावले सिनेटमा सत्तारुढ दल डेमोक्रेटिक पार्टीकै बहुमत आएको छ।
प्राप्त निर्वाचन परिणामअनुसार, हाउसअफ रिप्रिजेन्टिटिभमा रिपब्लिकन पार्टीका पनि केही संख्यामा ट्रम्प समर्थक उम्मेद्वारहरु विजयी भएका छन्। उनीहरुको भूमिका राष्ट्रपति वाइडेनका लागि निकै असहयोगी रहने निश्चित छ।
यसअघि हाउसमा सत्तारुढ दल डेमोक्रेटिक पार्टीको बहुमत थियो र यसकी नेतृ न्यान्सी पलोसी सभामुख थिइन्। यदि यही ट्रेण्ड रह्यो भने रिपब्लिकनका लागि हाउसमा वहुमत ल्याउन जम्मा ७ सिटमात्र आवश्यक छ।
यो चुनावपछि अव तत्कालै संसदको सभामुख पनि परिवर्तन हुनेछन्। रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थी सभामुख हुने सम्भावना छ। उनीसत्तारुढ दलप्रति निकै आक्रामक पनि छन्।
सत्ता सन्चालनमा सिनेटले धेरै कुरा प्रमाणित गरिदिनु पर्ने हुंदा आउंदा दुई बर्ष राष्ट्रपति जो वाइडेनको शासनका लागि सिनेटबाट भने निकै सहज हुने भएको छ। सरकारी नियुक्तिहरु र सर्बोच्च अदलत र अन्य अदालतमा न्यायाधीश नियुक्तिहरु समेत सिनेटको अनुमतिमा गर्नुपर्ने हुन्छ।
निर्वाचित भएको केही समयसम्म पपुलर नै रहेका वाइडेन गतबर्षदेखि नै अलोकप्रिय बन्दै गएका थिए। उनको अलोकप्रियताको मुख्य कारण मुलुकको अर्थतन्त्रको गिर्दो अवस्था र मुद्रास्फितिलाई सहजरुपले नियन्त्रण गर्ने नीति ल्याउन नसक्नु हो।
गएका दुईबर्षदेखि अमेरिकामा इन्धनको मूल्य आकाशिएको छ र यसैकारण अन्य सबै उपभोग्य बस्तु तथा सेवाको मुख्य पनि धेरै नै बढेको छ । मूल्य बृद्धिका कारण वर्किङ्ग क्लास जनसंख्या मारमा पर्दै आएको छ।
यति हुँदा हुँदै पनि अमेरिकी जनताले डेमोक्रेटिक पार्टीलाई सिनेटमा बहुमत दिएका छन् भने हाउसमा पनि करारी हार व्यहोर्नु परेको छैन भलै बहुमत कस्को हुने भन्ने अझै टुंगो लागिसकेको छैन।
यसपटकको चुनावमा अर्थतन्त्रवाहेक गर्भपतन, अध्यागमन नीति, लोकतन्त्र कि सर्वसत्तावादजस्ता विषयहरु चुनावी मुद्धा बनेका थिए। यो निर्वाचन परिणामसंगै संसदबाट छानविन भइरहेको जनवरी ६, २०२० को संसद भवनमाथिको आक्रमणको मुद्दा अब कमजोर बन्ने भएको छ।
हाउसले पूर्वराष्ट्रपति ट्रम्पमाथि यो प्रकरणमा छानविन गर्दै आएको थियो र स्वयं ट्रम्पलाई नै वयानका लागि बोलाउने तयारी गरेको थियो। यो छानविनमा दोषी ठहर भए ट्रम्पमाथि राष्ट्रद्रोहको मुद्दा लाग्न सक्ने स्थिति थियो।
त्यसैले उनका लागि यो निर्वाचन जीवन मरणकै मुद्धा बनेको थियो। उनी आगामी राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेद्वार बन्ने तयारीमा छन्। हाउसमा पूर्णवहुमत रिपब्लिकनहरुले पाएमा राष्ट्रपति वाइडेनका छोरा हन्टर वाइडेनका विभिन्न आर्थिक कारोवारहरुको छानविन हुने ट्रम्प पक्षीय सन्चारमाध्यमहरुले जोडतोडका साथ उठाइरहेका छन्।







डिसी नेपाल







Facebook Comment