दलहरूको बीचमा स्वतन्त्र उम्मेदवार बनेकी पत्रकार चुनाब जितेर पहिलो महिला राष्ट्रपति बन्दै

डिसी नेपाल
२८ कार्तिक २०७९ १४:३७
116
Shares

काठमाडौं । नताशा पिर्क मुसर स्लोभेनियाको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्न लागेकी छिन् । पेशाले पत्रकार र वकिल नताशाले राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा विजयी भएर यो कीर्तिमान कायम गरेकी हुन् । निर्वाचन आयोगका अनुसार नताशा (५४) ले ५३ दशमलव ८६ प्रतिशत मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी तथा पूर्व विदेशमन्त्री एन्डेज लोगरले ४६.१४ प्रतिशत मत प्राप्त गरे ।

चुनाव जितेपछि नताशाले भनिन्, ‘सबैका लागि सच्चा राष्ट्रपति बन्नको लागि म सक्दो गर्नेछु । मौलिक र संवैधानिक लोकतान्त्रिक अधिकार र लोकतन्त्रका लागि काम गर्नेछु ।’ उनले यो जितसँगै स्लोभेनिया र विदेशका महिलाको आवाज बनेर उभिने बताइन् ।

उनले आफ्नो विजयी भाषणमा जलवायु परिवर्तनका समस्याका बारेमा बताइन् । उनले भनिन्, ‘हाम्रो आउँदो पुस्ता, हाम्रा बालबालिकालाई स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न सकून् भन्ने उद्देश्यले हाम्रो माटोको हेरचाह गर्ने जिम्मेवारी युवाहरूले काँधमा रहेको छ ।’

नताशाले स्लोभेनियाले युरोपेली संघमा विश्वास गर्ने, युरोपेली संघको स्थापना भएको लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने राष्ट्रपति चयन गरेको बताइन् । नताशा एक पूर्व टिभी प्रेजेन्टर हुन्, जो पछि प्रभावशाली वकिल बनेकी थिइन् र धेरै सामाजिक कल्याणका मुद्दाहरू र मानव अधिकारका मुद्दाहरूको वकालत गरिन्।

नताशा पिर्क मुसर को हुन्?

नताशा पेशाले पत्रकार र वकिल हुन्, जसले स्वतन्त्र रूपमा राष्ट्रपतिको चुनाव लडेकी थिइन् । तर उनले स्लोभेनियाको सेन्टर लेफ्ट सरकारको समर्थन पाइन्। नताशाले एक दशकसम्म स्लोभेनियाको डाटा प्रोटेक्शन अथोरिटीको पनि नेतृत्व गरिसकेकी छिन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदा नताशालाई उनकी पत्नी मेलानिया ट्रम्पसँग सम्बन्धित मुद्दामा वकालत गर्न नियुक्त गरिएको थियो। नताशालाई मेलानियाको नाममा व्यावसायिक उत्पादनहरू प्रयोग गर्नबाट कम्पनीहरूलाई रोक्ने जिम्मेवारी दिइएको थियो।

यसबाहेक नताशाले सन् २०१६ मा सुजी म्यागजिनविरुद्ध पनि मुद्दा दायर गरेकी थिइन् । यो म्यागजिनले उनकी क्लाइन्ट मेलानिया ट्रम्पको बारेमा दाबी गरेको थियो कि मेलानियाले आफ्नो अन्तर्राष्ट्रिय मोडलिङ करियरमा एस्कर्टको रूपमा काम गरेकी थिइन्।

एलजीबीटीक्यु अधिकार अधिवक्ता नताशा सधैं आफ्नो पतिको लगानीको विषयमा आलोचनाको केन्द्रमा रहन्छिन्। राष्ट्रपतिको चुनावी अभियानका क्रममा पनि उनीमाथि श्रीमानको लगानी र कर छलीको आरोप लाग्दै आएको थियो । नताशा र उनका पतिमाथि कर छलीको आरोप लागिरहन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *