विश्व रङ्गमञ्चमा नेपाल चिनाउन चाहने परिजिताको अर्को जादुमयी प्रस्तुति

डिसी नेपाल
२९ कार्तिक २०७९ ८:०६

वासिंगटन डिसी। अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइस मा नेपाली मूलकी किशोरी परिजिता बास्तोलाले आई विल नेभर लभ एगन बोलको गीत गाएर फेरि एकपल्ट हलिउडमा धुम मच्चाएकी छिन्। यो चर्चित गीतकी ओरिजिनल गायिका लेडी गागा हुन्।

परिजिताको प्रस्तुतिमा चारैजना जजहरुले उठेर स्टेण्डिङ ओवेसन दिएका थिए। त्यसपछि द भ्वाइसका जज एवं टिम कोच लेजेन्डले जादुमयी आवाज भन्दै परिजिताको प्रसंसा गरेका थिए।

नोभेम्बर १४ को साँझ क्यालिफोर्नियामा भएको सो पर्फमेन्समा परिजिताको गायकीले सबैको मन जितेको थियो। प्रस्तुति अघि उनका बारेमा दिइएको छोटो भिडियोमा उनले नेपाल र नेपालीको नाम लिएकी थिइन् र नेपालका अत्याधिक मानिसहरुले आफूबाट धेरै आशा गरेको बताएकी थिइन्।

टप १६ मा परिसकेकेकी परिजिता आजको प्रस्तुतिपछि अर्को चरणमा प्रवेश गर्ने छिन्। तर, यो भोटिङ राउण्ड भएकाले उनलाई अर्को चरणमा पुर्‍याउन भोट दिनु जरुरी छ। उनलाई भोट दिन आईफोन भए एप स्टोरमा गई एनविसी द भ्वाइस डाउनलोड गरेर वा एनविसी डट कममा द भ्याइस लेखी आफ्नो इमेलले लग लिन गरेर १० वटा भोट निशुल्क दिन सकिन्छ।

अमेरिकामा दुबै तरिकाले भोट दिन सकिन्छ भने अमेरिका वाहिर रहनेहरुले इनविसी डट कममार्फत १० वटा भोट निशुल्क दिन सक्नेछन्। परिजिताका लागि उनको अमेरिकास्थित गृह राज्य मेरिल्याण्डमा स्थानीय राजनीतिकर्मीदेखि स्थानीय संघ संस्था र नेपाली तथा नेपालीभाषी विभिन्न संघ संस्थाले भोट अभियान चलाएका छन्।

द भ्याइसमा अघि बढिरहेकी बास्तोलाको परिवार झापाबाट अमेरिका आएको हो। उनले डिसी नेपालको टक फ्र्याङ्क्ली विथ मनिषा कार्यक्रममा नेपालको नाम विश्व रंगमञ्चको नक्सामा राख्न चाहेको बताएकी छिन्।

उनले आफूलाई नाम फेर्न सल्लाह दिइए पनि आफ्नो पहिचान खुल्ने नेपाली नाम परिजिता फेर्न अस्वीकार गरेको पनि सो कार्यक्रममा बताएकी छिन्। उनलाई मनपर्ने नेपाली खाना दाल भात हो।

कक्षा १२ मा अध्ययनरत १७ बर्षीया परिजितालाई विजयी गराउन गैरआवासीय नेपाली संघ, साथी बाल्टिमोरलगायतका स्थानीय संघ संस्थाहरु एवं नेपाल र अमेरिकामा रहेका प्रतिष्ठित नेपाली गायकहरुका साथै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले समेत सबैमा भोट अपिल गरेका छन्।

अमेरिकी समयअनुसार, नोभेम्बर १४ सोमबारको द भ्वाइस सबै मिलेर हेर्न उनको गृह नगर सेभेर्ना पार्कका स्थानीयहरुले एउटा स्थानीय रेष्टुरेण्टमा सबैलाई भेला गरेका थिए। उनको दमदार प्रस्तुतिपछि उनलाई भोट हाल्ने लहर चलेको थियो।

द भ्वाइसको नियमअनुसार, भोट अमेरिकाको पूर्वीय समयअनुसार, सेप्टेम्बर १५ तारिक विहान ७ बजेसम्म र नेपाली समयअनुसार नोभेम्बर १५ तारिक बेलुकी ८ बजेर १५ मिनेटसम्म गर्न सकिने छ। यसको नतिजा नोभेम्बर १५ को साँझ लाइभ कार्यक्रममार्फत नै सुनाइने छ । यो हप्ता जितेमा उनी टप १३ मा पुग्ने छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *