नेपाल टेलिकमको खुद नाफा २ अर्ब २२ करोड रुपैयाँ

डिसी नेपाल
३० कार्तिक २०७९ १३:३१

काठमाडौँ। नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २ अर्ब २२ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा १.५२ प्रतिशतले कम हो। गत वर्षको यहि अवधिमा कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो

कम्पनीको कुल आय बढेको छ भने सञ्चालन आय घटेको छ।  समिक्षा अवधिमा कम्पनीको कुल आय ०.८० प्रतिशतले बढेर ११ अर्ब ४ करोड रुपैयाँ भएको छ। जुन गत वर्ष यही अवधिमा १० अर्ब ९५ करोड रुपैयाँमा सीमित थियो। त्यस्तै, सञ्चालन आय ९ अर्ब ७७ करोड रुपैयाँबाट घटेर ९ अर्ब ७ करोड रुपैयाँमा सीमित बनेको छ।  यो गत वर्षको यहि अवधिको तुलनामा ७.१४ प्रतिशतले काम हो।

गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्मको खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार छन्–

कार्य सञ्चालन आयमा वृद्धि
डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करिब रु. ११ करोड ४० लाख वृद्धि भएको छ।

कार्य सञ्चालन आयमा कमी
अन्तरआबद्धतासम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब रु. १० करोडले कमी भएको छ । यसका साथै ओटीटी सेवाको बढ्दो प्रयोगका कारण भ्वाइस सेवाको समग्र आयमा कमी भएको छ।
मौसमको प्रतिकूल असरले गर्दा विद्युत आपूर्ति तथा मर्मतसम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा सञ्चालन हुन नसकेको हो।
आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनका कारण राजस्वमा प्रभाव पर्न गएको छ।
कोभिड लगायत विभिन्न कारणले गर्दा विश्वव्यापी आर्थिक मन्दीका कारण देशको आर्थिक अवस्थामा परेको असरले क्रयशक्तिमा आएको परिवर्तनले प्रभाव पारेको छ।

गैरकार्य सञ्चालन आयमा भएको परिवर्तन
बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानीमा करिब रु. ७९ करोडले वृद्धि भएको छ।
विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब रु. ७ करोड फरेन एक्सचेन्ज गेन भएको छ।
कम्पनीको लेखा नीति तथा आईएफआरएस/एनएफआरएसबमोजिम गणना गर्दा इम्पेइरिमेन्ट तथा फाइनान्स कस्टमा गत आ.व.मा भन्दा कमी आएको छ।
आर्थिक वर्ष २०७९–८० देखि कर्मचारीहरुको तलब सुविधामा वृद्धि भएका कारणले कर्मचारी खर्च वृद्धि हुन गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *