चितवनका मतदाता भन्छन्ः मत माग्न स्थानीय कार्यकर्ता आए तर उम्मेदवार आएनन्

प्रदेशसभाका उम्मेदवारहरू भेटिए पनि प्रतिनिधिसभाका उम्मेदवार भेट्न कठिन भएकाे गुनासो 

डिसी नेपाल
१ मंसिर २०७९ १९:२८

चितवन । निर्वाचनको प्रचार समय समाप्त हुनै लाग्दा उम्मेदवारहरू मतदातासम्म पुग्न सकेका छैनन् । घरदैलो अभियान भन्दै उम्मेदवार तथा नेता कार्यकर्ताहरू सडक–सडक हिँडेको भए पनि मतदातालाई प्रत्यक्ष भेटेर मत नमागेको सर्वसाधारणको गुनासो छ ।

माडी नगरपालिका–७ की यमकला सुवेदी घरदैलो कार्यक्रममा अहिलेसम्म उम्मेदवारलाई भेट्न नपाएको बताउँछन् । उनले भने “मत माग्नका लागि स्थानीय कार्यकर्ता आए तर उम्मेदवार आएनन् ।” उम्मेदवारलाई घरदैलोमा नै भेट्ने चाहना मतदाताको भएको भए पनि उम्मेदवार भने पुग्न नसकेका हुन् । उनले थपिन् “मत माग्नका लागि दल र दलका उम्मेदवारसमेत नचिन्दै मतदान गर्ने समय आएछ ।” दलहरूको घरदैलो अभियानको समयमा आफूहरू धान थन्क्याउन बारीमा भएको बताउँदै उनले देख्दै नदेखेको उम्मेदवारलाई कसरी मत दिने ? भनी प्रश्न गरिन् ।

भरतपुर महानगरपालिका–२१ का विष्णुप्रसाद दवाडी उम्मेदवारहरू घरदैलो कार्यक्रममा आएको भए पनि वास्तविक मतदाता भएको ठाउँमा पुग्न नसकेको बताउँछन्। उनले भने “उम्मेदवार आए भनेर भन्छन् । बाटोमा हिँड्दै नमस्कार गर्दै जान्छन् ।” कहिले गाडीमा हुइँकिने र कहिले सडकबाटै नमस्कार गर्दै हिँड्ने उम्मेदवारहरूबाट जनताको गुनासो सुनुवाई हुन नसक्ने उनले बताए । उनले थपे, “उम्मेदवारले मतदाताको गुनासा सुन्नुपर्छ, सडकबाटै नमस्कार गरेर हुँदैन ।” प्रदेशसभाका उम्मेदवारहरू भेटिए पनि सङ्घीय संसद्का उम्मेदवार भने भेट्न कठिन भएको उनले गुनासो गरे ।

कालिका नगरपालिका–१ का राजु श्रेष्ठ प्रतिनिधिसभा सदस्यतर्फ अहिलेसम्म कुनै पनि दल र स्वतन्त्रको उम्मेदवारलाई भेट्न नपाएको गुनासो गर्छन् । दलका स्थानीय नेताहरू मत माग्नका लागि घरमा आएको भए पनि उम्मेदवारलाई भने भेट्न नसकिएको उनले बताए । उनले भने “उम्मेदवार भेट्न खोजेको समय नै पाउन सकिएन । निर्वाचनको समयमा भेट्न नसकिएको व्यक्तिबाट निर्वाचित भएर गएपछि के अपेक्षा गर्नु ?” उनले भने, “उम्मेदवार आउँछन् गाडीमा सरर हुइँकिन्छन् । घरमा पसेर मतदाता भेट्ने र गुनासो सुन्ने काम भएको छैन ।”

पूर्वी चितवनको खैरहनी नगरपालिका निवासी लक्ष्मी पाण्डे घरदैलामा आएका उम्मेदवारहरूले गाडीबाटै नमस्कार गरेको भन्दै गुनासो गर्नुभयो । “उम्मेदवार घरदैलोमा आए भन्ने सुनियो तर गाडीबाट तल झर्नु भएन”, उहाँले सुनाउनुभयो । उम्मेदवारले समय अपुग भएका कारण सबैलाई भेट्न नसकेको हुनसक्ने उहाँको बुझाइ छ । बाक्लो बस्तीमा घरदैलो भनेर मतदाता भेट्दै हिँडेको भए पनि पातला बस्ती भएका ठाउँमा मतदातालाई नमस्कार मात्रै गरेर हिँडेको उहाँले बताउनुभयो । पाण्डेका अनुसार उम्मेदवारहरू घर दैलोमा पुग्नेभन्दा पनि दलका नेता तथा कार्यकर्ता पुगेका छन् । उहाँले भन्नुभयो “सबै दलका कार्यकर्ताहरू आएर मतदान गर्ने तरिका सिकाएर गए । तर उम्मेदवार आएनन् ।”

जिल्लाका राजनीतिक दलहरूले सबै मतदाताको घरमा पुग्न नसकेको स्वीकारेका छन् । नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले अधिकतम मतदाताको घरदैलोमा उम्मेदवार पुगेको भए पनि नपुगेका ठाउँहरूमा सार्वजनिक अपिलमार्फत मत मागिएको बताए । उनले भने, “प्रचार प्रसारका लागि छोटो समय भएका कारण सबैको घरदैलोमा उम्मेदवार नपुगेको भए पनि कुनै न कुनै माध्यमले आफ्ना प्रतिबद्धताहरू पु¥याएका छौँ ।” उम्मेदवार नपुगे पनि पार्टी पङ्क्ति हरेक मतदाताकोमा पुगेको उनले बताए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले उम्मेदवारहरू नपुगेको ठाउँमा प्रविधिको प्रयोग गरेर मत माग्दै आइएको बताए । कोणसभा, पार्टीका नेता कार्यकर्ताका माध्यमले हरेक मतदाताकोमा पुग्ने काम भएको उनले बताए । उनले भने, “पार्टीका साथीहरू आफँै उम्मेदवारका रूपमा देखिएर प्रतिबद्धता जनाउने र मत माग्ने काम भएको छ ।”

नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रामचन्द्र अधिकारीले उम्मेदवार नपुगेको ठाउँमा समेत उम्मेदवार पुगे जस्तै गरी मत माग्ने काम भएको बताए । उनले भने, “नेता, कार्यकर्ता खटिनुभएको छ । घरदैलोमा पुग्न नसकेको ठाउँमा विभिन्न माध्यमबाट मत माग्ने काम भइरहेको छ ।” उम्मेदवार सवारी साधनको माध्यम वा कुनै न कुनै तवरले घरदैलोमा पुगेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *