प्रहरीले रोक्यो गाडी, भित्रबाट माया सभ्यताका १६६ बहुमूल्य वस्तु भेटिए !
काठमाडौं । माया सभ्यताको समयका करिब १६६ बहूमूल्य वस्तुहरू एउटा गाडीबाट लगिँदै थियो । त्यही बेला प्रहरीको नजर त्यो कारमा पर्यो । त्यसपछि ती कलाकृतिहरू बरामद गरियो। यो घटना ग्वाटेमालाको हो । ग्वाटेमाला प्रहरीले अमेरिकामा बस्ने एक पुरुष र एक महिलालाई पक्राउ गरेको छ ।
यद्यपी यी सामाग्रीहरुको कूल लागत भने खुलाइएको छैन । बीबीसीको रिपोर्टमा पुरातत्वविद्ले यी १६६ कलाकृतिमध्ये ९० प्रतिशतभन्दा बढी वस्तु मौलिक र प्रि-हिस्पानिक कालका रहेको बताएका छन्।
ग्वाटेमाला प्रहरीले यस प्रकारको कार्य गरेको आरोपमा यसअघि पनि एक महिलालाई पक्राउ गरेको जनाएको छ । उनीबाट प्रि-हिस्पानिक कालका बहुमूल्य सामानहरू बरामद भएका थिए। यसअघि महिलालाई ग्वाटेमाला सिटी एयरपोर्टबाट पक्राउ गरिएको थियो ।
विमानस्थलमा चेकजाँचका क्रममा भन्सार अधिकृतले महिलाको झोलाभित्रबाट माया सभ्यताका दुईवटा ढुङ्गा फेला पारेका थिए । त्यसबेला ती महिलाले सोधपुछका क्रममा आफूले एन्टिगुवाको बजारबाट यी ढुङ्गा किनेको बताएकी थिइन् ।
४९ वर्षीया महिलाविरुद्ध ‘राष्ट्रिय सम्पदाको तस्करी’ अन्तर्गत मुद्दा दर्ता भएको छ । त्यसपछि ती महिलालाई ग्वाटेमाला नछोड्ने सर्तमा जमानत दिइयो। त्यसको तीन दिनपछि ती महिलालाई एन्टिगाको दक्षिणपश्चिमी क्षेत्रबाट फेरि पक्राउ गरिएको थियो । हालै उनी ६२ वर्षीय पुरुषसँगै पक्राउ परेकी थिइन् ।
माया सभ्यताको अवधि ईसापूर्व २५० अर्थात् ख्रीष्टको जन्म भएको ९०० वर्षपछिको मानिन्छ। यो सभ्यता मेक्सिको, ग्वाटेमाला, बेलीज, होन्डुरस, एल साल्भाडोर जस्ता देशहरूमा फैलिएको थियो।
मेक्सिको र मध्य अमेरिकी देशका सरकारहरूले अहिले प्रि-हिस्पानिक कालदेखिका यी बहुमूल्य सम्पदाहरूको बिक्रीलाई रोक्न खोजिरहेका छन्।
यही कारणले गर्दा यी देशहरूमा जाने यात्रुहरूले माया सभ्यतासँग सम्बन्धित चीजहरू तस्करी नगर्नका लागि गहिरो अनुसन्धान भइरहेको छ। विदेशका लिलामी घरहरूमा यी सामानको माग छ र मूल्य पनि बढी छ।







डिसी नेपाल







Facebook Comment