महोत्तरीका चार निर्वाचन क्षेत्रमा को अगाडि ?

डिसी नेपाल
७ मंसिर २०७९ ११:५७

महोत्तरी। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को मतगणना महोत्तरीमा जारी छ। सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले प्रतिनिधिसभामा अग्रता लिएका छन्।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का लक्ष्मी महतोेले पाँच हजार दुई सय ९३ मतसहित अग्रता लिएका छन्। यहाँ नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल चार हजार चार सय ४० मतसहित महतोलाई पछ्याई रहेका छन्।

क्षेत्र नं २ मा लोसपाका शरतसिंह भण्डारीले पाँच हजार नौ सय ६३ मतले अग्रता लिएका छन्। यो क्षेत्रमा एमालेका डा रामपरीक्षण यादवले दुई हजार सात सय ३५ मतले पछ्याइरहेका छन्।

क्षेत्र नं ३ मा पनि लोसपाका अध्यक्ष महन्थ ठाकुर चार हजार ६ सय ७४ मतका साथ अग्रता लिएका छन्। यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार तीन सय ७७ मत प्राप्त गरेका छन्।

क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय चार हजार आठ सय नौ मतका साथ अघि छन्। यस क्षेत्रमा जसपाका डा सुरेन्द्रकुमार यादव दुई हजार तीन सय ५३ मतका साथ रायलाई पछ्याइरहेका छन्।

चारवटै प्रतिनिधिसभा क्षेत्रमा जारी मतणनाको गति सुस्त भएको उम्मेदवारका गणना प्रतिनिधिले बताएका छन्। चारवटै क्षेत्रमा प्रदेशसभा र दुवैतर्फका समानुपातिक गणना पनि सँगसँगै गरिँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *