फेरि बाम गठबन्धनको चर्चा : कति संभव ?

मदन कोइराला
९ मंसिर २०७९ ११:४१

काठमाडौं। मंसिर-४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। नेपाली कांग्रेस एमाले भन्दा केही सिटलेम मात्रै अगाडि छ। समानुपातिक मतलाई आधार मान्दा नेपाली कांग्रेस र एमाले हाराहारीको शक्ति बन्ने देखिन्छ।

निर्वाचनको मतपरिणाम हेर्दा अहिले सत्ता गठबन्धनको बहुमत पुग्ने देखिँदैन। यो गठबन्धनले बहुमत ल्याएको अवस्थामा गठबन्धनकै सरकार बन्ने आधार हुन्थ्यो। यद्यपी पाँच दलीय गठबन्धनमा केही साना दललाई समेट्दा नयाँ सरकार बन्ने अवस्था अहिले पनि कायम मै छ। त्यसका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहलसमेत थालेका छन्।

तर गठबन्धनको मुख्य घटक माओवाद केन्द्र र एकीकृत समाजवादीले नयाँ सरकार गठनका विषयमा मुख खोलेका छैनन्। उता एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर नयाँ शिराबाट अगाडि बढ्न प्रस्ताव नै गरेका छन्।

बिहीबार एमाले उपाध्यक्ष सुवास नेम्वाङले पनि प्रचण्डलाई फोन गरेर बधाइ दिएका थिए। जवाफमा प्रचण्डले जितेर काठमाडौं आउन र त्यसपछि बसेर थप छलफल गर्ने बताएका थिए।

प्रचण्डले थप छलफल गर्ने भनेर नयाँ समिकरणप्रति संकेत गरेका थिए। कांग्रेससँग गठबन्धन गर्दा त्यसको फाइदा कांग्रेसले मात्रै लिएको र माओवादीलाई ठूलो घाटा भएको बुझाइ माओवादीभित्र व्याप्त छ।

फेरि पनि कांग्रेससँगै मिलेर सरकार बनाउँदा माओवादी झन कमजोर बन्ने भन्दै सकेसम्म सरकार बाहिरै बसेर संगठन निर्मणमा ध्यान दिनुपर्ने र गठबन्धन गर्दा बाम गठबन्धन नै उचित हुने भन्दै कांग्रेससँगको सहकार्य तोड्न प्रचण्डमाथि दबाव पर्न थालेको छ।

तर नयाँ सरकार गठनका विषयमा प्रचण्ड र एकीकृत समाजवादीले मुख खोलेका छैनन्। एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको बताए।

‘हाम्रो पार्टीले प्रत्यक्षमा तुलनात्मक रुपमा अन्य दलको भन्दा राम्रो परिणाम ल्याएको छ,’ महासचिव भुसालले डिसी नेपालसँग भने, ‘तर गठबन्धनले बहुमत नल्याउने अवस्थामा मुलुक अब झन अस्थिरतातर्फ जाने देखियो।’

संविधानको रक्षा गठबन्धनको मुल उद्देश्य भएपनि एमाले सच्चिएर आए बाम गठबन्धन असंभव नभएको उनको भनाइ छ। चुनावी परिणाम आइनसकेकाले अहिले नै सरकार गठनका विषयमा टिप्पणी गर्नु हतार हुने उनको भनाइ छ।

बिहीबार ओली र प्रचण्डबीच फोनमा शुभकामना आदान प्रदान मात्रै भएको दुवै अध्यक्षका सचिवालयले बताइसकेको छ। तर एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने प्रचण्डलाई आफूले पनि फोन गरेको र प्रचण्डले जितेर काठमाडौं आउन र त्यसपछि बसेर अन्य विषयमा पनि छलफल गर्ने बताएको उल्लेख गरेका छन्।

‘राजनीतिमा सबै विकल्प खुला रहन्छ,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘हामीले सुरुदेखि नै बाम गठबन्धनको पक्षमा वकालत गर्दै आएका थियौं, समग्र निर्वाचनको परिणाम आइसकेपछि यी विषयमा सौहार्दपूर्ण रुपमा छलफल हुन्छ।’

माओवादी र एकीकृत समाजवादीले गठबन्धनका सोचेजस्तो गरी मत ट्रान्सफर नभएकाले त्यसको लाभ एमालेले उठाएको प्रारम्भिक निष्कर्ष निकालेका छन्।

अब फेरि कांग्रेससँगै गठबन्धन कायम गरेर सरकारमा सहभागी हुने हो भने पार्टीको अस्तित्व संकटमा पर्ने दाबी कतिपय नेताले दाबी गरेका छन्। तर, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल तत्काल बाम गठबन्धन हुने संभावना नरहेको बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *