व्यंग्य : कसौंडी पाक्यो भात काँचै

बलदेव महत
१० मंसिर २०७९ ८:०९

यसपालीको चुनाव पनि साबिक अनुसार नै सकियो अनि जिम्मा लिएकाबाट यो चुनाव सारै राम्रोसित सम्पन्न भयो भनेर बकियो।

कसैले अनेक गर्दा पनि हारे, कसैले सोच्दै नसोचेको बाजी मारे, कसैले बल्लतल्ल आफ्नो गर्जो टारे, कसैले यसपाली नभए केही छैन अर्कोमा जितौंला भनेर भाका सारे, कसैले यसबाट पनि मजाले बार्गेनिङ गरेर नगद झारे र कसैकसैले नपत्याउँदो गरेर आफूलाई यो समस्याबाट सकुशल तारे। कतै मैं हुँ भनेर गर्जनेले ठूलो हुँदाहुँदै नराम्रोसित धुलो चाटे अनि सदाका लागि डाँडो पनि काटे।

चुनावमा सधैंभरि यस्तै हो। कसैले सोचेको पुग्छ कसैले सोचेको कहिल्यै पनि पुग्दैन। यति हुँदाहुँदै पनि एकथरिले साबिक अनुसार आफ्नो जित भएपछि सबैको हित हुन्छ भनेर भन्दै आएका र सांसदको सिट संख्या गन्दै खाएका देखिने पनि खुम्चिएर डल्लिने अनि कतैबाट खान पाइन्छ कि भनि धेरैका अगाडि पछाडि हल्लिने अबस्थामा पुगेका देखिए।

यो चुनावमा सबैले सानोठूलो वा आफ्नो गक्ष अनुसार मिल्दो ठाउँमा आँखा चिम्लेर गठबन्धन नगरेको भए अहिले देखिए जति संख्यामा आउने र यति मत पाउने कल्पना गर्न सकिने थिएन।

मुखले जति ठूला गफ गरेपनि र सबैथोक बिर्सिएर जतिसुकै तल्लो स्तरमा झरेपनि जनताको मत नपाएमा कसैको कुुनै औकात रहेनछ भन्ने फेरि पुष्टि भयो। यो चुनावबाट केही नयाँ उदाए, कोही पुराना अस्ताए अनि कसैले नपत्याएकाले केही ठाउँका सिट नराम्ररी कुदाए।

दल र तिनका स्वघोषित शिर्ष लगायतका नेताहरुको चरम असक्षमताले लाज शरम पचाएर खाइरहेको ठाउँबाट जरोकिलो फुकाल्ने र त्यसमा अलि सक्षम हो कि भनेजस्तालाई उकाल्ने काम जनताले गरे।

आफैंद्वारा ठूला भनिएका र ठूलो हुुने कुनै गुण नभएपनि ठूलोमा गनिएका नेताहरुलाई साना भारेभुरे चिन्नु न जान्नुका उम्मेदवारहरुले हल्लाए। यसपालीभारि बहुुमत ल्याउने र एकलौटी सरकार बनाएर पहिलेको भन्दापनि जोडजोडले सबैतिरको बजेट भ्याउने लक्ष सहित चुनावमा उत्रिएका सबै गठबन्धनहरुको सोचेजस्तो नतिजा आएन र कसैलेपनि सजिलोसित खाने मौका पाएन।

अपुरो संबिधानले कल्पना गरेको, दल र त्यसका नेताहरुले कल्पना गरेको,जनताले कल्पना गरेको र यसबाट केही सुुधार भइहाल्छ कि भनेर भर परेको समुुहको लागि चुुनाव सकिए पनि अबस्था चाहिँ पहिलेको भन्दा पनि गएगुज्रेको हुने पो हो कि भनेजस्तो देखिन्छ। चुनाव सकिएपनि अबको अबस्था त्यति राम्रो नहुने हुनाले कसौंडी पाक्यो भात काँचै भनेर सानोमा बुढाबुढीबाट सुनेको उखान सही नै रहेछ भन्ने लागेको छ।

चुुुुनावमा टिक्न र चुुनाव पछिपनि उही भाउमा बिक्न परमादेशी सरकारदेखि नै गठबन्धन गरेर अनि एकअर्काको पूरै भर परेर आफ्ना सबै आधारभूूत सिद्धान्तहरु बिर्सिएर गाँसिएका र अत्यन्त निकृष्ट स्वार्थले टाँसिएका पाँच दललाई गठबन्धन गर्दा गर्दैपनि यति ठूलो सकस पर्ला र आफ्नो दल यति तल झर्ला भन्ने सायद कल्पना थिएन होला। त्यस्तै बिपक्षी गठबन्धनमा पनि यही अबस्था रहेको देखियो।

सबैभन्दा पहिला बुढानिलकण्ठे सभापतिको सबैभन्दा पुरानो प्रजातान्त्रिक हो कि लोकतान्त्रिक दलका सोचेजति आकाँक्षीले टिकट नै पाएनन् र त्यस्ताहरु चुनावमा खुलेर अगाडि नै आएनन्।

सभापतिले अरुको त्यति मतलब नगरेर आफ्नो निर्बाचन क्षेत्रमा मात्रै बढी ध्यान दिएका र त्यसमा मात्रै चासो लिएका हुन् कि भनेजस्तो देखियो। हुनत उनि गठबन्धनका अरु स्वघोषित शिर्षसँगै आचार संहिता उल्लंघन गरेपनि नगरेजस्तो देखिने गरि ठाउँठाउँमा भाषण दिन पुगे।

उनले धेरै ठाउँमा जोडजोडले भाषण ठोकेपनि र गठबन्धनको भारि राम्ररी बोकेपनि उनले भनेका ज्यादै सारगर्भित कुुराहरु कसैले पनि बुझेनन्। यसमा त उनको कुनै बिराम छैन। बोल्नेले बोलेका र मनभित्रबाट खोलेका कुराहरु बुझ्न नसक्नु त सुन्नेकै गल्ती हो नि।

बिगत छ पटकसम्म एकटंकारले जितेको ठाउँको अहँकार मेटाउन अर्कै प्रदेश, अर्कै अञ्चल, अर्कै जिल्ला, अर्कै पृष्ठभूमिबाट बिरोधमा चुनाव लड्ने चुनौती दिँदै आएका नाति उमेरका युवासँग ठ्याम्मै नडराए पनि उसलाई प्रचार प्रसारमा बाधा पुर्‍याउने देखि लिएर रेसोर्टमा बसेर र जसरी भएपनि जित्न पुरै कम्मर कसेर खुलेआम पैसा बाँडेकोमा जनतालाई बिश्वास छैन।

अझ मापसे, मासुभात, पेट्रोल खर्च आदिको साथै प्रहरी प्रशासनको ज्यादै राम्रो सदुपयोग गर्नु ठिकै हो। त्यति सानो र कुनै टेको भरोसा नभएको बालकले यसरी तर्साएको देख्दा हात्तीको नाक वा कान भित्र कमिला छिर्दा आइपर्ने समस्या कडै हुने रहेछ भन्ने बुझियो।

सभापतिसित धेरै मतान्तरले हारेर पनि जितको बाजी मारेर आएका ती नातिलाई सबैको समर्थन र सहानुुभूति रहेको देख्दा अन्य अबैधानिक कृयाकलाप र नोटबाट पाएको भोटभन्दा कुनै खोट बेगर इमान्दारी पूर्बक दिएको चोट कडा हुने रहेछ भन्ने ती सभापतिले बुझे कि बुझेनन् त्यही क्षेत्रका जनतालाई थाहा होला।

त्यहाँका मतदातालाई अन्यत्रकाले मासु खान हुुने र नहुने दुुबैथरिका जनावरसँग तुलना गरेर अनेक लान्छना लगाएपनि र अर्कै खालको माहौल जगाए पनि सभापतिले चुुनाव जित्नु थियो जिते कुरा सकियो।

आफू र आफ्नी अर्धाँंगनीलाई समेत प्रत्यक्षतर्फ जिताउने अनि सरकार प्रधानको कुुर्सी पालैपालो बिताउने सुर कसेकोमा अधांँगिनीले नजित्ने पक्का भएपछि समानुुपातिकमा राखेर राम्रै धक्का दिने उद्देश्य पूरा भयो।

अब छैठौँ पटक सरकार प्रधान भएर ज्योतिषीको बचन पूरा गरिदिने र जनतासित गरेका बाचालाई साबिक बमोजिम अलपत्र पारेर घोषणापत्रमै छरिदिने कामको शानदार सुुरुवात भइसकेको अनि भित्रभित्रै छलफलमा गइसकेको छ। अरुले जितेर आएपनि र हारेर धोका पाए पनि उनलाई हिजो पनि कुनै मतलब थिएन यसपाली पनि कुनै मतलब छैन।

अब सरकार प्रधान हुँदा लगाउनको लागि नयाँ दौरा सुुरुवाल सिलाउँदा त्यसमा म्याच हुने किसिमको र्यालेपनि नबिर्सिकन सिलाउन र जतिसक्दो चाँडो बसिरहेकै कुर्सी दिलाउन सबैले बल गर्नुभन्दा अर्को उपाय छैन।

सधैंभरि गठबन्धन गरेर र परजिवी भएर मस्ती गर्दै आएका अर्का स्वघोषित हस्ती स्वघोषित महान नेतासमेत भनेर चिनिने खुमलटारे कामरेड त नामै नसुनिएका भारेभुरेसँग हारिने र भबिष्यमा कतै नबिक्ने गरि अलपत्र पारिने डरले यति ठूलो गठबन्धन गर्दागर्दैपनि चौथो चुनावमा चौथो क्षेत्रमा पुगे।

भोटको बाकस साट्न पनि मिल्ने, भोट नदिनेलाई धम्काएर तर्साएर काट्नपनि मिल्ने र पहिले जितेका पुुराना क्षेत्रमा यो यो लछारें भनेर ढाँट्नपनि मिल्ने क्षेत्र छानेर गएपछि नजित्ने कुरै भएन।

कहिल्यै कतै नाम नसुनेका र ससदीय चुुनावमा मात्रै होइन कहिँकतै कसैले नचुनेका आलाकाँचा जस्ता देखिएपनि निकै सक्षम देखिएका नयाँ उम्मेदवारसित लडेर जित्नुु ज्यादै राम्रो हो। यसो हेर्दा दुधे बालकसित कुस्ती खेलेर उसलाई पछार्नु र चुनाव जितरे ठूलै उपलब्धि लछार्नु उस्तै हो।

अझ एक्लै दौडेर वा कल्पनामा पौडेर पहिला भएजस्तै भनेपनि हुुन्छ। त्यही क्षेत्रबाट पहिले चुुनाव जितेको स्वघोषित बिद्वान डाक्टरले आफ्नो छोरीको उम्मेदवारीसित साटेको क्षेत्रमा नेत्र लगाएर अन्तिम अबस्थामा चितवनका आफ्ना मतदातालाई जिल्याएर गएको र त्यहाँकालाई ठूलो धोका भएको भन्न पनि भएन।

जीवनभरि धोकाधडी, लुच्याइँ, फट्याइँ आदि बाहेक केही नगरेपनि स्वघोषित रुपमै भएपनि महान नेता भइरहन र यसरी नै अगाडि गइरहन सक्नु पनि राम्रो कुरा हो।

त्यत्तिको सुरक्षित क्षेत्र भएपनि चुुनावभन्दा दुई तीन दिन अगाडिदेखि राजधानीबाट सयौँ बसमा मतदाता ओसारेको र राजमार्गका होटलहरुमा मासुभात खुुवाउनुको साथै ब्यापक रुपमा नगद समेत बितरण गरि चुनावभरि मापसे र मासुभात खुवाएको देख्दा मुटुमा ढ्याँग्रो राम्रैसित बजेको रहेछ भन्नेहरुका गफ पत्याउने कुरै आएन।

चुनाव अगाडि बसका बस मतदातालाई राजधानीतिरबाट ओसारेपनि मतदानपछि चाहिँ यस्तो ब्यबस्था नभएकोले सराप्दै फर्कनेको बाक्लै भिड राजमार्गतिर देखियो।

आफूसँग निकट रहेका स्वघोषित केही महान हस्तीहरुसहित बुहारीलेपनि चुनाव हारेको देख्दा जनताले निकै तल झारेको बुझ्न पर्ने हो कि? चुनावै पिच्छे घट्दै खुम्चिँदै गएर अर्को चुनावसम्म आइपुग्दा दल नामक प्राइभेट कम्पनि मासिने र फेरि उठ्न नसक्नेगरि भासिने सम्भावना छ भन्नेहरुको कुुरा नसुुन्नुु नै जाति।

यस्ता अबसरवादी, ब्वाँसो, फ्याउरो आदि जस्ता हिंस्रक जन्तुसित ठ्याक्कै मिल्ने चरित्र भएका र यसरी नै अहिलेसम्म सफलताको बाटोमा गएका पर्यटक उम्मेदवारलाई अत्यधिक मतबाट बिजय गराएकोमा गोरखाका जनताले आफ्नो नाम यश कीर्ति र सुनौलो इतिहासलाई कायम राखेको सम्झेर धेरै ठूलो गर्व गर्नपर्छ अनि यसैबाट नोट झर्छ भनेको पनि कतैकतै सुनियो। कुरा राम्रै हो।

अर्को चुनावमा यिनको यात्रा अर्कै सुरक्षित क्षेत्रमा हुुने निश्चित भएकोले यिनले कबुल गरेका बिकास निर्माणका काम यो जुुनीमा हुुने सम्भावना पुरै टरेको र स्थानीयको भाग्य हरेको रुपमा लिनपर्छ भनेर कसैले भन्छ भने बिश्वास गर्न हुँदैन।

सांसद संख्या जति भएपनि सरकारमा कसरी जाने र साबिक अनुुसार डर धम्की देखाएर कसरी खाने भनेर सोच्दा सोच्दै चुुनावको लज्जास्पद नतिजाको बारेमा फ्याट्ट केही बोलेमा मुुखमा आउने गाँस प्याट्ट काटिएला र भाग्य अर्कैसित साटिएला अनि अलपत्र परेर डाँडो काटिएला भनेर धैर्यताका साथ केही नबोलेको भन्न पनि मिलेन। सायद जितेर पनि हारेको यसैलाई भनिन्छ होला।

अरुको उक्साहटमा आफ्नो छँदाखाँदाको घरमा आगो लगाएर र आफू भित्रैबाट बिरोधी जगाएर अनि शत्रुबाट शक्ति मगाएर खरानीको थुुप्रोमा रमाउने स्वघोषित अति इमान्दार कोटेश्वरे कामरेडलाई पनि मान सम्मानसहित जनताले सोचेभन्दा बढी मत दिएपनि राष्ट्रिय दलको मान्यतासमेत नपाउने देखिन्छ।

म ठूलो नेता हुँ भनेर आफैंले आफ्नो धेरै बयान गरेपनि र अरुको उक्साहटमा जति तल झरेपनि जनताले मान्छे चिनेकै रहेछन् भन्नपर्छ।  संबिधानमा उल्लेख भएको संघीयता नमाने पनि र खान पाएपछि सिद्धान्त मान्नपर्छ भनेर नजाने पनि गठबन्धनमा टाँसिएर चुुनाव जितेका बागलुँगे बृद्धले पनि निकै मुुख मिठ्याएर संसद छिर्ने अनि जसको बिरोध गर्यो उसैको कार्यनीति भिर्ने काम गरेर संसदमा उखान भन्ने बाहेक अरु काम नगरी पाँच बर्ष बिताउने र संघीयता खारेज हुनपर्छ भनेर चिताउने काम मजाले गर्ने भए।

आफूलाई मधेशका मसिहा ठान्ने, आफूले गर्न पर्ने काम बाहेक सबैथोक राम्ररी जान्ने र खानपिन हुुन्छ भने जसको पनि खुुट्टा तान्ने बानी परेका लोसपा नामक मधेसवादी दलका मै हुँ भन्ने पुराना अधिकांश नेताले चुनाव हारेको हुनाले गठबन्धनको एउटा हिस्सा टुटेको छ। देशको लागि लौरो न हतियार ठहरिइ सकेका यिनको अबको राजनीति सिद्धिएको हो कि भनेर भन्न हतार गर्न हुँदैन।

उता अर्को गठबन्धन गर्ने र आफ्नो चुुनाव चिन्ह भाडामा दिनसमेत अघि सर्ने स्वघोषित समृृद्धिवाला बालकोटे कामरेडले गफ दिएजस्तो र बिश्वास लिएजस्तो बहुमत आएन। देशमा बहुुदलीय ब्यबस्था पुनरस्थापना भएपछि सम्भवत सबैभन्दा बढी काम गर्ने मौका पाएका यिनले आफ्नो लगभग दुई तिहाइ बहुमतको सरकार गफ गरेर र उखान टुक्काद्वारा भ्रम छरेर बिताए।

आफ्नै अल्पबुुद्धिले आफ्नो दल, सरकार, प्रदेश सरकार, मुुख्य नेता आदि सबै गुुमाउँदा पनि रत्तिभर गल्ती महसुुस नगरी बनावटी नै भए पनि पुरै आत्मबिश्वासको साथ दुई तिहाइ बहुुमत ल्याउने र पुरानै तरिकाले सबैतिर भ्याउने गफ हान्दै अनि अरु सबैलाई केही न कामका ठान्दै हिँडेका भएपनि जनताले दया गरेर यिनलाई सोचेभन्दा बढी ठूलो औकातमा पुर्‍याएकै हुन्।

रेल, ग्यास, पानी जहाज,सुुख र समृद्धि आदिको गफ धेरै दिएपनि थरको पछाडि रेल भएका खरेल पोखरेल आदि थरिकासमेत निकै भित्रिया सहयोगीले हारेको अबस्थामा यिनले पुुराना जानी दुुश्मनसित सहकार्यको पहल गरिसकेको र आफ्नो औकातमा झरिसकेको सुनेर जनता खुसी भएका छन्।

यिनको अहिलेको सरकार हाँक्ने तिब्र इच्छाको समस्या सल्टिने हो भने यी तुुरुन्तै जतापनि पल्टिने निश्चित छ। चुुनावी नतिजाले अलपत्र पर्ने र सरकारमा गएर खान पाए जे पनि गर्ने अवसरवादीलाई राम्ररी चिनेका बालकोटे कामरेडले पहिलेपनि आवश्यकलाई किनेका हुनाले खासै नौलो कुरा भएन। त्यही भएर चुुनावको पुरै नतिजा नआउँदै र पूर्ण बिबरण थाहा नपाउँदै यिनले पहल गरेका छन्।

मधेशी जनअधिकार फोरम हुुँदै सरकार गठनको कोरम पुुर्याएर सबैजसो सरकारमा ढलिमली गर्दै र बार्गेनिङ गरेर मजाले चर्दै आएका जसपाका अध्यक्ष लगायतका नेताले चुनावमा हारेको देखेर मधेशका जनता दुखी हुँदै हाँसेर हिँडेका छन्।

सधैंभरि सरकारमा छानेको पद नभइ नहुुने र नगद हातमा नपरिकन जनताको काम कुुनै हालतमा छुुँदै नछुुने सिद्धान्त र आदर्श नै भएका झुुण्डबाट पार पाएर देशले अस्थायी रुपमै भएपनि ठूलो भार बोक्न नपर्ने भएको हो कि भन्नेहरुका कुरा यस्तो अबस्थामा सुन्न हुँदैन।

अर्को राप्रपा र रास्वपा भन्ने दलले पाएको अप्रत्यासित सिट संख्याबाटपनि पुरानाहरुले पाठ सिक्न र अब पुरानै तरिकाले बिक्न बन्द गर्दै नगए अर्को चुुनावबाट नाम निशाना मेटिने अनि उनीहरुलाई इतिहासको पानामा मात्रै भेटिने सम्भावनालाई नकार्न नसकिने हुनाले अब जतासुकैबाट घिचेर डकार्न केही कम होला कि भनेर आशा सकिएपनि बिश्वास त कसरी गर्न सकिएला र? अरु सानातिना एकदुई सिटेहरुको हिजोकै हैसियत हुने हुनाले केही उल्लेख गर्न परेन।

चुनाव जे जसरी सकिए पनि कसैको बहुमत नआएर खिचडी संसद भएपछि अब सुरुदेखि नै जोड घटाउ, भागबन्डा, सांसदको किनबेच,चाहिँदो नचाहिँदो बार्गेनिङ, अस्वस्थ र सिद्धान्तहिन गठबन्धन, चाकडी चुक्ली र चाप्लुसी आदि ज्यादै बढ्ने र यो संसदपनि पहिलेको भन्दा बढि सढ्ने देखिन्छ।

त्यही भएर जसोतसो चुुनाव पूरा भएपनि सुुधार हुुने संकेत कतै नदेखिएको हुुनाले यसलाई कसौंडी पाक्यो भात काँचै भन्ने उखानसित दाँज्न मिल्ने र यसले नेताहरुको भोक तिर्खा र निद्रा फेरिपनि मजाले निल्ने टड्कारो सम्भावना देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *