चितवनका मतदाताको फरक रोजाइ

डिसी नेपाल
१० मंसिर २०७९ १८:१४

चितवन । देशका ७६ जिल्लाका मानिसको बसोबास रहेको चितवनका मतदातालाई पुराना दलहरूले आश्वस्त पार्न नसक्दा नयाँ उम्मेदवार निर्वाचित भएका छन् । पुराना दलहरूलाई सच्चिने अवसर दिँदै दल नछोडे पनि मतदान भने नयाँ दललाई दिएका हुन् । यति हुँदाहुँदै पनि जिल्लाका तीन सङ्घीय र छ प्रदेशमा छ दलको प्रतिनिधित्व हुने गरी निर्वाचित भएका छन् ।

चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, १(१) मा नेकपा (एमाले) का जगन्नाथ थपलिया, १(२) मा नेकपा (एकीकृत समाजवादी) का कृष्णप्रसाद खनाल, क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, २(१) मा एमालेका कृष्णप्रसाद सिलवाल, २(२) मा नेपाली कांग्रेसका उत्तम जोशी निर्वाचित हुनुभएको छ । त्यस्तै, क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डे, ३(१) मा राप्रपाकै गिरबहादुर तामाङ र ३(२) मा नेकपा (माओवादी केन्द्र) का ठाकुरप्रसाद ढकाल विजयी भएका छन् ।

दलहरूले अपेक्षा गरेभन्दा फरक ढङ्गले उम्मेदवारहरू निर्वाचित भएका हुन् । जिल्लाको विगतको इतिहास फरक छ । कुनै समय कांग्रेस, कुनै समय एमाले र कुनै बेला माओवादी केन्द्रलाई मतदाताले रुचाएको देखिन्छ ।

विसं २०३८ मा सन्तकुमार चौधरी र बगानसिंह गुरुङ जनमत सङ्ग्रहमा निर्वाचित हुनुभएको थियो । उनीहरू दुवै पञ्चायती पक्षबाट उम्मेदवार थिए । २०३४ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवाल र भीमबहादुर श्रेष्ठले विजय हासिल गरेको इतिहास छ । २०४८ सालको आम निर्वाचनमा जिल्लामा तीन क्षेत्र रहेकामा तीनै क्षेत्रमा वामपन्थीहरूले जितेका छन् । क्षेत्र नं १ मा एमालेका जागृतप्रसाद भेटवाल, क्षेत्र नं २ मा नेकपा (प्रजातन्त्रवादी) का भीमबहादुर श्रेष्ठ र संयुक्त जनमोर्चाका अमिक शेरचनले विजय हासिल गरेका थिए । २०५१ सालमा भएको मध्यावती निर्वाचनमा जिल्लामा चार क्षेत्र बन्यो । क्षेत्र नं १ मा एमालेका जागृतप्रसाद भेटुवाल, क्षेत्र नं २ मा एमालेकै काशिनाथ अधिकारी, क्षेत्र नं ३ मा कांग्रेसका गङ्गाधर लम्साल र क्षेत्र नं ४ कांग्रेसका तीर्थ भुसाल विजयी भए ।

विसं २०५६ को आम निर्वाचनमा चारै क्षेत्र कांग्रेसले विजय हासिल ग¥यो । क्षेत्र नं १ मा सावित्री बोगटी, क्षेत्र नं २ मा एकनाथ रानाभाट, क्षेत्र नं ३ मा गङ्गाधर लम्साल र क्षेत्र नं ४ मा नारायण शर्मा विजयी हुनुभयो । निर्वाचन आयोगको विवरणअनुसार विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा जिल्लालाई पाँच क्षेत्रमा विभाजन गरियो । जसमा पाँचै क्षेत्रमा वामपन्थीहरुको जित भयो । क्षेत्र नं १ मा एमालेका लालमणि चौधरी, क्षेत्र नं २ मा माओवादीका रामबहादुर थापा बादल, क्षेत्र नं ३ मा माओवादीकै नारायण दाहाल, क्षेत्र नं ४ मा माओवादीकै चित्रबहादुर श्रेष्ठ र क्षेत्र नं ५ मा जनमोर्चा नेपालका अमिक शेरचन निर्वाचित भए ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ मा एमालेका सुरेन्द्र पाण्डे, क्षेत्र नं २ मा कांग्रेसका शेषनाथ अधिकारी, क्षेत्र नं ३ मा एमालेका कृष्णभक्त पोखरेल, क्षेत्र नं ४ मा सुरुमा कांग्रेसका सुशील कोइराला र उपनिर्वाचनमा रामकृष्ण घिमिरे एवं क्षेत्र नं ५ मा राप्रपाका विक्रम पाण्डे विजयी भए । २०७४ सालको आम निर्वाचनमा तीन क्षेत्रमा चितवनको निर्वाचन क्षेत्र विभाजन भयो । जसमा क्षेत्र नं १ मा एमालेका सुरेन्द्र पाण्डे, क्षेत्र नं २ मा एमालेका कृष्णभक्त पोखरेल र क्षेत्र नं ३ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुनुभयो । एमाले र माओवादीको गठबन्धनका कारण प्रदेशका छ वटै क्षेत्र ती दुई दलका उम्मेदवार विजयी भएका थिए ।

विगतका इतिहासलाई हेर्दा पनि चितवनका मतादाताले समयसमयमा मुख्य राजनीतिक दलका उम्मेदवारलाई निर्वाचित गराएको देखिन्छ । तर यस पटकको निर्वाचन परिणाम भने फरक ढङ्गले आएको छ ।

पार्टीको सिद्धान्त, विचार र घोषणापत्रका आधारमा चल्नुपर्ने दलहरूले बाटो छोडेकै कारण जनतामा असन्तुष्टि देखिएको यहाँका बुद्धिजीवीहरुले औँल्याएका छन् । वाम बुद्धिजीवी प्रेम रिमाल व्यक्तिलाई पार्टी बनाउने प्रयास गरिएकै कारण पुराना पार्टीप्रति जनतामा वितृष्णा पैदा भएको बताउछन् । उनले भने, “नेतृत्वले पार्टी भनेको के हो बुझाउन चाहेनन् ।”

पार्टी भनेको नीति, विचार र कार्यक्रम भएको बताउँदै उनले भने, “जनतालाई पार्टी भनेको नेता हो भनेर बुझाउने प्रयास भयो । पार्टी भ्रष्ट नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पुराना पार्टीले गर्न सक्दैनन् भन्ने होइन, इच्छाशक्ति हराएका पुराना नेताबाट नयाँ काम सम्भव भएन ।” आफू, आफ्नो पारिवार, वरिपरिका व्यक्ति र समूहका मान्छेहरुलाई मात्रै देशको जिम्मा लगाउन खोजेकै कारण जनतामा असन्तोष पैदा भएको उनको भनाइ छ ।

लेखक डिआर पोखरेल पार्टी खराब नभएर नेताका कारण आम जनतामा वितृष्णा पैदा भएको बताउछन्। दलका नेताहरू जनताप्रति जिम्मेवार नभएको भन्दै पोखरेलले भन्नुभयो, “जनतामा असाध्यै वितृष्णा छ । राजनीति व्यापार होइन, सेवा हो तर दलहरुले यसलाई पेसा र व्यवसाय बनाए ।” सबैले आफ्नै नातालाई नेतृत्वको जिम्मेवारी दिन खोजेको भन्दै पोखरेलले यसको परिणाम इमान्दार कार्यकर्ता पछाडि पर्दै गए र वितृष्णा पैदा भएको बताए । पैसा नभएकाहरु निर्वाचनमा लड्न नसक्ने अवस्थाको सिर्जना भएको उनी बताउँछन् ।

शिक्षाविद् रमाकान्त सापकोटा बहुदलीय व्यवस्थापछिको ३० वर्षसम्म आफ्ना कार्यकर्तालाई राजनीति प्रशिक्षण दिने काम कम भएको बताउछन् । भूमिगत कालमा राजनीति बुझाउने काम हुने गरेको भन्दै उनले खुल्ला परिवेशमा राजनीतिक प्रशिक्षण शून्य हुँदा पुराना दलका कार्यकर्ता नेताप्रति उत्तरदायी नभएको बताए । सापकोटाले भने, “प्रणालीभन्दा नेताको नेतृत्व र व्यक्तित्वप्रति प्रश्न उब्जियो ।”

नयाँ पुस्ता राजनीति इतिहासप्रति प्रशिक्षित नभएको उनी बताउँछन् । शिक्षण संस्था र सामाजिक सङ्घसंस्थामा राजनीतिको नकारात्मक प्रभाव देखिएको उहाँको बुझाइ छ । उनले भने, “यसले गर्दा नयाँ पुस्तामा दलप्रति वितृष्णा भयो ।”

निर्वाचनले ल्याउने परिणामले नयाँ समृद्धि र विकास दिने सन्देश भने नदेखिएको उनको भनाइ छ । जनताको आर्थिक, सामाजिक व्यवस्थापनभन्दा नेतृत्वको व्यवस्थापन प्रमुख प्राथमिकतामा परेकै कारण वितृष्णा पैदा भएको उनको बुझाइ छ ।

दलभित्रको विधि कमजोर रहेको भन्दै उनले भने, “दलभित्रको विधि र प्रणाली सुध्रिनु पर्छ ।” नेपालको राजनीतिमा विदेशी चलखेल हुँदै गर्दा नेतृत्व कमजोर बन्दै गएको उनी बताउँछन् ।

प्राध्यापक डा एकनारायण पौडेल दलका नेताको कार्यशैलीले यो अवस्था सिर्जना भएको बताउछन् । उनले भने, “नेताका शैलीका कारणले धेरैमा असन्तुष्टि छ ।” नयाँ सोच नपाएका कारण नेताप्रति जनता विश्वस्त हुन नसकेको उहाँको भनाइ छ ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने दलहरुले जनतालाई आश्वस्त दिलाउन नसकेका कारण यो अवस्था सिर्जना भएको बताउछन् । दलहरुले युवालाई अगाडि ल्याउन नसक्दाको परिणाम मतदानबाट देखिएको उनको बुझाइ छ । दलहरुले स्थायी सरकार दिन नसक्दा पनि समस्या भएको भन्दै उहाँले पुराना ठूला दलको विकल्पमा विकास र समृद्धि सम्भव नभएको दाबी गरे ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनाल आफूहरुले गरेको दलीय गठबन्धन मतदाताको तहमा तालमेल हुन नसकेको बताउछन् । उनले भने, “हामीले गठबन्धन ग¥यौँ, तर मतदाता बीचमा व्यवस्थित गर्न सकिएन ।” निर्वाचनमा जोजसले जिते पनि संविधानको रक्षक र कार्यान्वयन गर्ने पक्षमा पुराना दलको भूमिका महत्वपूर्ण हुने उहाँको बुझाइ छ ।

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी दलको गठबन्धन मतदातास्तरमा हुन नसकेको बताउछन् । पुराना दलहरुप्रति आकर्षण घटेको भन्दै उहाँले मतदाताको आक्रोश फरक उम्मेदवारमार्फत प्रकट भएको बताउछन् । जनअपेक्षा समयमा दलहरुले बुझ्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *