के किम जोङपछि उनकी छोरीले उत्तर कोरियाको शासनसत्ता सम्हाल्नेछिन् ?
काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनकी छोरी फेरि एकपटक चर्चामा छिन् । वास्तवमा, यो दोस्रो पटक भएको छ, जब उत्तर कोरियाली शासक आफ्नी छोरीसँग देखा परेका छन्। १८ नोभेम्बरमा मिसाइल परीक्षणका क्रममा किम जोङ उनसँगै उनकी छोरी पनि थिइन् । आफ्नो व्यक्तिगत जीवनलाई सार्वजनिक जीवनबाट प्रायः टाढा राख्ने किम जोङ उन आफ्नी छोरीसँग लगातार दुई पटक देखिएपछि धेरै अड्कलबाजी पनि सुरु भएको छ ।
अंग्रेजी अखबार वासिङ्टन पोस्टका अनुसार किम जोङ उनकी छोरी आगामी उत्तराधिकारी बन्ने चर्चा चलिरहेको छ, जसका लागि तयारी सुरु भइसकेको छ । तर, यी सबै छलफल मात्र हुन्, जसको आधिकारिक पुष्टि भने भएको छैन । सबैले उनकी छोरीलाई किम जोङ उनसँग देखेका छन्, तर उनको बारेमा अहिले कसैलाई थप जानकारी छैन। कोरिया केन्द्रीय एजेन्सी वा आधिकारिक स्रोतहरूले कुनै पनि हिसाबले किम जोङकी छोरीको नाम खुलाएका छैनन्।
विज्ञहरूका अनुसार किम जोङ उनकी छोरीको नाम किम जु-ए हो। यो पहिलो पटक सेवानिवृत्त एनबीए खेलाडी डेनिस रोडम्यान द्वारा खुलासा गरिएको थियो। उत्तर कोरियामा रहँदा त्यहाँका शासककी छोरीसँग भेट भएको उनले बताए । दक्षिण कोरियाको गुप्तचर एजेन्सी नेशनल इन्टेलिजेन्स सर्भिसले तस्बिरमा देखिएकी बालिका किम जोङ उनकी दोस्रो छोरी भएको बताएको छ । जसको उमेर करिब १० वर्ष छ । किम जोङ उनका तीन सन्तान रहेको पनि खुफियाले बताएको छ । उनीहरुका दुई छोरी र एक छोरा छन् ।
उत्तर कोरियाको राज्य मिडियाका अनुसार आइतवार, किम जोङ उनले उनकी छोरीसंग बैलेस्टिक मिसाइल ह्रान्सांग-१७ को ऐतिहासिक सफल प्रक्षेपण टोलीका वैज्ञानिकहरु र अन्यसंग एक बैठकमा भाग लिए। यस क्रममा किम जोङ उन र उनकी छोरीले गत महिना ब्यालेस्टिक मिसाइलको सफल प्रक्षेपणमा संलग्न सेनाका जवानहरूलाई बधाई पनि दिएका थिए।
ह्रान्सांग-१७ उत्तर कोरियाको सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल हो। यो मिसाइलले एकै पटक धेरै आणविक हतियार बोक्न सक्षम छ । यो मिसाइल पूरै उत्तर अमेरिकालाई निशाना बनाउन पनि सक्षम रहेको बताइएको छ । वाशिंगटन पोस्टका अनुसार उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सीले जारी गरेको तस्बिरमा किम जोङकी छोरी आफ्ना पितासँग सेनाको कार्यक्रममा सहभागी भएकी छन् । यो तस्बिर कहाँको हो भन्ने जानकारी दिइएको छैन । दोस्रो तस्विरमा, बुबा र छोरी ठूला क्षेप्यास्त्रहरूले भरिएको ट्रकको अगाडि सिपाहीहरूसँग उभिरहेका छन्। सरकारी मिडियाका अनुसार ट्रक भित्र भर्खरै प्रक्षेपण गरिएको ह्रान्सांग-१७ ब्यालेस्टिक मिसाइल छ।
किम जोङ आफ्ना हजुरबुवा र बुवापछि विगत ११ वर्षदेखि सत्तामा छन् । किमको हजुरबुवा किम इल सुङले सन् १९४८ मा देश स्थापना गरेपछिको यो तेस्रो पुस्ता हो। उत्तर कोरियाको शासनलाई राम्ररी जान्ने मिनयोङ लीले किमको तर्फबाट कान्छी छोरीलाई संसारमा ल्याउनु उनका बुबा र हजुरबुवाको परम्पराभन्दा फरक भएको बताउँछन्। यसअघि उत्तराधिकारी घोषणा नभएसम्म उनलाई जनतासामु ल्याइएको थिएन ।
किम जोङले आफ्नो विरासतको परम्पराभन्दा बाहिर काम गरेको यो पहिलो पटक होइन। यसअघि पनि किम जोङ उनले देशमा खाद्य सङ्कटलगायत आगामी महत्वपूर्ण चुनौतिहरू नागरिकसामु राखेका थिए, जुन उनका बुवा वा हजुरबुवाले कहिल्यै गरेका थिएनन् ।
किम जोङ उन पनि आफ्नो हजुरबुवा र बुबासँग भन्दा पनि नजिकका परिवारका सदस्यहरूसँग सार्वजनिक जीवनमा बढी देखिन्छन्। किमका पिताले आफ्नो शासनकालमा श्रीमतीलाई कहिल्यै संसारमा ल्याएका थिएनन् तर किम जोङ उन सत्तामा आएको ६ महिनापछि मात्रै उनकी पत्नीलाई सरकारी मिडियामा देखाइएको थियो । किम जोङ उनकी बहिनी किम यो जोङले पनि सार्वजनिक जीवनमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।
केही विज्ञहरूले किम र उनकी छोरीको तस्बिर बारम्बार सोशल मिडियामा जारी गर्नुको उद्देश्य किम जोङको स्वास्थ्यलाई लिएर उठेका प्रश्नहरूको अन्त्य गर्नु हो भन्ने विश्वास गर्छन्। वास्तवमा सन् २०२० मा धेरै मिडिया रिपोर्टमा किम उन जोङको अवस्था गम्भीर रहेको बताइएको छ । तर, उत्तर कोरियाले यी दाबीहरूलाई अस्वीकार गरेको छ ।







डिसी नेपाल







Facebook Comment