निर्वाचनमा पराजित मन्त्रीले राजीनामा दिने विषयमा माओवादीमा विवाद

डिसी नेपाल
१३ मंसिर २०७९ ७:५२

काठमाडौं।मंसिर–४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अब केही स्थानको मात्र मतपरिणाम आउन बाँकी छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने भएको छ भने एमाले दोस्रो स्थानमा छ।

चुनावी परिणाम अनुसार वर्तमान सरकारका ६ जना मन्त्री पराजित भएका छन्। गृहमन्त्री बालकृष्ण खाँण, उर्जामन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, खेलकुद मन्त्री महेश्वर गहतराज, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका छन्।

पराजित हुनेमध्ये तीन जना कांग्रेस, दुईजना माओवादी र एक जना एकीकृत समाजवादीका मन्त्री छन्। पराजित भएका मन्त्रीहरुले हालसम्म राजीनामा नदिएको भन्दै आलोचना भइरहेको छ।

माओवादीभित्र पराजित भएका मन्त्रीले राजीनामा दिने कि नदिने भन्ने विषयमा विवाद भएको छ। सोमबार उर्जामन्त्री पम्फा भुसाल र खेलकुद मन्त्री महेश्वरराज गहतराजलाई राजीनामा दिन लगाउने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग छलफल गरेका थिए।

अध्यक्ष प्रचण्ड निकट स्रोतका अनुसार निर्वाचनमा पराजित भइसकेपछि नैतिकताका आधारमा राजीनामा दिँदा उचित हुने भन्दै पराजित भएका मन्त्रीलाई राजीनामा दिन सुझाव दिएका थिए।

प्रचण्डको सुझावपछि उर्जामन्त्री पम्फा भुसालले सोमबार नै राजीनामा दिने तयारी गरेकी थिइन्। तर पछि भुसालले आफू निकटसँग परामर्श गरेर मात्रै राजीनामा दिने भन्दै आफू निकट नेतासँग परामर्श गरेकी थिइन्।

उक्त परामर्शमा नेताहरुले वर्तमान सरकार नै काम चलाउ भइसकेको अवस्थामा निर्वाचनमा पराजित मन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ।

‘चुनाव गराएपछि सरकारको उपदेयता समाप्त भएको छ, अब चाँडै नयाँ सरकार गठन हुने अवस्थामा अहिले नै मन्त्रीले राजीनामा दिनु हुँदैन भन्ने हाम्रो ठहर हो,’ मन्त्री भुसाल निकट एक नेताले भने। पार्टी कै एउटा खेमा अध्यक्ष प्रचण्डमार्फत मन्त्री भुसाललाई राजीनामा गराउन लागेको मन्त्री भुसाल निकट स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *