नेपाल टेलिकमका मुलुकभरका शाखा कार्यालयबाट ई–सिम पाइने

डिसी नेपाल
१३ मंसिर २०७९ १०:१०

काठमाडौँ। नेपाल टेलिकमले ग्राहकको रुचि र मागलाई ध्यानमा राखेर मुलुकभरका दूरसञ्चार कार्यालयबाट ई–सिम वितरण गरिरहेको छ। कम्पनीले गत भदौ ३१ गतेदेखि काठमाडौको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ई–सिम वितरण सुरु गरेको थियो।

हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोगकर्ता प्रिपेड तथा पोस्टपेडका ग्राहकले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले नि:शुल्क ई–सिम उपलब्ध गराइरेहको छ।

मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ। त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान कम्पनीले अनुरोध गरेको छ। त्यसका लागि आफ्नो मोबाइलबाट *#०६# डायल गर्नुपर्छ। यसरी डायल गर्दा ईआइडी लेखिएको संकेत सहित नम्बरहरु देखियो भने सो सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिने टेलिकमले जनाएको छ।

त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ। आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डाटा प्लान भन्ने अप्सन देखियो भने पनि त्यसमा सामान्यत: ई–सिम चल्ने टेलिकमले जनाएको  ।

फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले नि:शुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्दछ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायत फिजिकल सिमबाट सम्पन्न गरिने सम्पूर्ण कार्य गर्न सकिन्छ। मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *