धनुषा क्षेत्र नम्बर ३ र ४ बाट महासेठ दम्पती विजयी

डिसी नेपाल
१३ मंसिर २०७९ २३:४१

जनकपुरधाम । धनुषाको दुई वटा क्षेत्रबाट नेकपा (एमाले)बाट महासेठ दम्पतीले विजयी विजय हासिल गरेका छन् । धनुषा क्षेत्र नम्बर ४ मा एमालेका सचिव रघुवीर महासेठ र क्षेत्र नम्बर ३ मा उनकी धर्मपत्नी तथा एमाले नेत्री जुलीकुमारी महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । दुवै क्षेत्रमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै महासेठ दम्पतीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने अवसर पाएको हो ।

गत २०७४ सालको निर्वाचनमा महासेठले धनुषा क्षेत्र नम्बर ४ बाट चुनाव जितेका थिए भने महतो समानुपातिक सूचीबाट सांसद भएकी थिइन् । आज दिउँसो सम्पन्न अन्तिम मतपरिणामअनुसार महासेठले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई एक सय २४ मतान्तरले पराजित गरेका छन् ।

महासेठले ३२ हजार दुई सय ३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै धनुषा क्षेत्र नम्बर ३ मा महतोले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । महतोले ३३ हजार तीन सय ८८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी झाले २३ हजार छ सय ६८ मत प्राप्त गरे ।

महासेठ दम्पतीको परिवारबाट अर्का आफन्त पनि प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष जितेका छन्। जुली महतोका दाजु डा वीरेन्द महतो सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन् । डा महतो जनता समाजवादी पार्टी (जसपा) बाट २४ हजार एक सय दुई मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद साहले १६ हजार दुई सय ९४ मत प्राप्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *