माया खोला हाइड्रोपावरको १२ लाख ४० हजार कित्ता आईपिओ २३ मंसिरदेखि आउँदै

डिसी नेपाल
१४ मंसिर २०७९ १०:४४

काठमाडौँ। माया खोला हाइड्रोपावर कम्पनीको १२ लाख ४० हजार कित्ता आईपिओ मङ्सिर २३ गतेदेखि जारी हुने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले जारी गर्ने आईपिओमध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गर्न लागेको हो।

यस आईपीओमा आयोजनाबाट अतिप्रभावित संखुवासभा जिल्लाको चैनपुर–८ र ९, धर्मादेवी ३, ४ र ५, मादी–४ र ६ का लागि बासिन्दाका लागि ६ लाख कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाको चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका अन्य क्षेत्रका स्थानीयका लागि ४ लाख कित्ता छुट्याएको छ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने छ।  यस आइपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

स्थानीयका लागि जारी आईपीओ छिटोमा पुस ८ गतेसम्म आवेदन दिनुपर्नेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री खुला अवधि पुस २४ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ। यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ८ गतेसम्म आईपीओ भरिसक्नुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।

स्थानीयले संखुवासभाको खाँदबारीस्थित प्राइम कमर्सियल बैंक, धर्मदेवीस्थित नेपाल एसबीआई बैंक, संखुवासभास्थित माया खोला हाइड्रोपावर कार्यालय र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइनबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *