इमान लुटिएकाे इमान्दारिता

शंकरप्रसाद रिजाल
१८ मंसिर २०७९ ११:१६

इमान्दारिता निकै सुन्दर शब्द हो। तर आजकल इमान्दार मानिस भेटिन मुस्किल पर्छ। यो संसदमा स्वार्थ प्रेरित मानिसको संख्या बढिरहेको छ। आफ्नो फाइदाका लागि जे पनि गर्न पछि नपर्ने मानिसको संख्या दैनिक बढिरहेको छ। यो संसारमा इमान्दार कोही छैनन् भन्दा पनि फरक नपर्ने स्थिति पैदा भएको छ।

कोही लुट्छन्, कोही लुटाउँछन्। कोही ठग्छन् भने कोही ठगिएर बस्छन्। कोही अरुलाई रुवाउँछन् भने कोही आफैं रुन्छन्। यो संसारमा इमान्दार शब्दको सृष्टि त भयो तर यसलाई अनुशरण गर्ने कोही भएनन्। त्यसै कारणले संसारमा झैझगडा, रोष, बदला, हत्या हिंसा, ठगी र युद्धको घण्टी बजिरहेको छ।

इमान्दार त्यो हो जो न आफू ठगिन्छ र न उसलाई अरुले ठग्ने गर्दछ। यो इमान हरेक मानिसको एक मशिहा हो र एक गहना पनि हो जसले मानिसलाई सधैं देवत्व प्रदान गर्दछ। यो कहिल्यै नगल्ने, नसड्ने र नाश नहुने चिज हो।

तर यसलाई आदिकाल सत्य युग, त्रेता युग र द्वापर युगदेखि कलियुगको आगमन भए पश्चात लछारपछार गरी झुत्रो बनाइ मानिस आफू अनुसाशनहीन बनेर संसारमा घुमफिर गरिरहेका छन्।

सत्य युगमा सृष्टिकर्ता ब्रम्हाजीले आफ्नै छोरीको अबतार भएकी सरस्वतीलाई अनुशासनहीन कर्म गरी संसारको मान र इमानबाट बञ्चित भइ पूजाहीन भइ बसे। त्यस्तै विष्णुले दक्ष पुत्री सतिदेवी आफूलाई मागी छल र बेइमान गरी शिबजीलाई सुम्पेका थिए।

जहाँ इमान्दारिता रहँदैन त्यहाँ बेइमानहरुको हाटबजार खुलिएको हुन्छ र एकले अर्कोलाई बेइमान गर्ने, कुनिती, कुतर्क र कुशासनले इमान्दारिता माथि घोडा चढिरहेको हुन्छ।

त्रेता युगमा श्री रामचन्द्रलाई कैकईको छलकपटद्वारा चौध बर्षको वनबास पठाउन राजा दशरथ बाध्य भएका थिए भने स्वयम रामचन्द्रले इमान गुमाई बालीलाई लुकिलुकी बाण हानेका थिए।

यस्तै आफ्नै पतिव्रता पत्नी सिताजीलाई लंकाबाट फर्केर आएपछि लगत्तै इमानको परीक्षा लिएका थिए। यस्तै द्वापर युगमा श्री कृष्णजीले इमान्दारीको पर्वाह नगरी आफ्नी पत्नी सत्यभामा हुँदाहुँदै पनि स्वयम बर्सानाकी राधा रानीलाई अचाक्ली छलिछली मायामा फसाएका थिए।

त्यस्तै कैयौंं पटक नुहाउन तलाउमा ओर्लेका गोपिनीलाई निवस्त्र पारेर कपडा लुकाई दिने काम पनि गरेको श्री कृष्णको लिलामा पाइन्छ। यतिमात्र नभई अन्त्यमा महाभारतको युद्धको समेत प्रपन्च रची बिशाल युद्धको नायक बनेका थिए। इमान्दारितामा यस्तो काम हुनुहुँदैन। यस्तै कर्म आजका मान्छेले गरे भने के भन्ने? अतः यहाँ इमानको इज्जÞत कसले बचाउन सफल भएका छन् र?

ईश्वर युगमा त बचाउन नसकेको यो इमान झन् कलि युगमा कसले बचाउने र? यो युगमा त झन् इमान लुटिएको छ। संसारमा कैयौं मारिएका छन्। कोही भोक, रोग र शोकले मारिएका छन्। धनीले गरीबमाथि, मालिकले नोकरमाथि इमान तोडेका छन्।

बाबुले छोरा, छोराले बाबु, पतिले पत्नीलाई, पत्नीले पतिलाई, दाजुले भाइलाई,भाइले दाजुलाई, नेताले जनतालाई, शासकले शासितलाई, व्यापारीले उपभोक्तालाई, धनीले गरीबमाथि अन्याय गरिरहेका छन्। त्यस्तै राष्ट्र राष्ट्रबीच इमान बेचेर एकअर्कालाई धम्क्याउन पछि परेका छैनन्।

बेलायत, अमेरिका, रुस, चीन, भारत, र अन्य देशले हजारौं मानिसलाई मारिरहेका छन्। यो कुरा इतिहासले बताउँदछ। तसर्थ कुन देश त्यस्तो छ जहाँ इमान बचेको होस्, यहाँ मानिसले मानिसमाथि राज गरिएको छ। देशले देशमाथि राज गरेको छ।

जताततै युद्ध मच्चिएको छ। हजारौं संरचनाहरु भत्किएका छन्। हजारौं मानिसहरुले एक दुई देशको बेइमान शासकहरुको अभिमानले अकालमा जनता मर्न बाध्य भएका छन्।

यहाँ इमानको बदलामा ठूल्ठूला नारा संहारकारी बम,गोला, बारुद र अनेक क्षेप्यास्त्र प्रहार गरिरहेका छन्। इमान बेचिएको छ भने बेइमानी भाषाको हुंकार छेडिरहेका छन्।

यहाँ राज्य नीतिमा इमान बेचिएको छ। अर्थ नीतिमा इमान्दारिता लुकेको छ। धर्ममा इमान्दारिता नभइ ब्यापार र पाखण्डीपन बढेको छ भने समाज र संस्कृतिमा इमान्दारिताको पहिरो गएको छ। र सम्पूर्ण परिवार, समाज, देश र सम्पूर्ण विश्व नै इमान्दारिताबाट अलग रहेको छ।

जहाँ इमान्दारिता रहँदैन त्यहाँ बेइमानहरुको हाटबजार खुलिएको हुन्छ र एकले अर्कोलाई बेइमान गर्ने, कुनिती, कुतर्क र कुशासनले इमान्दारिता माथि घोडा चढिरहेको हुन्छ।

संसारमा कुनै पनि कुराको तल माथि हुनु नै इमान्दारिताको ताल्चा बन्द गरी साँचो आफ्नो पकडमा राखी मनमानी गर्नु नै इमान्दारिताको धज्जी उड़ाउनु हो भने इमान्दारिताको काटमार पनि हो।

इमान्दारिताको अभाबले नै आज यहाँ अन्तरदेशीय र अन्तर्राष्ट्रिय सम्बन्धमा ह्रास आएको छ। नैतिकता हराएको छ भने आपसको सह–अस्तित्वको सम्बन्धलाई तुषारापात गरिएको छ। बोली एक छ भने काम र सहयोगमा फरक देखाएका छन्।

यहाँ इमान्दारितामा बेइमानी भएर अनेक माफियाहरुको जन्म भएको छ। राजनीतिक माफिया, समाज र संस्कृतिमा विकृति ल्याउने माफिया, भूमाफिया, धर्म माफिया र अर्थ माफिया बिरालोले बच्चा जन्माए जस्तो जन्मिरहेका छन् जसले इमान्दारितालाई पछारी पछारी रहेका छन् जसको कारण राष्ट्र राष्ट्रमा विभाजन गराई असन्तुलित ढंगको सम्बन्धको बिकास भइ निर्धा राष्ट्रहरु सधैं चेपुवामा पर्ने बातावरण सृजना भइरहेको छ।

नीति हराएपछि नैतिकता हराउने हो भने नैतिकता हराएपछि इमान्दारिताको लोप हुने हो जसबाट बिबेकको घैंटो फुटी मानिस, परिवार, साम्राज्य राष्ट्र नै बेइमानहरुको घेराभित्र परी इमान्दारिपनको झण्डा सधैं जलिरहने हो भने कहाँ छ इमान्दारिताको संसार र समाज। यो आजका इमान्दार भनाउँदाले सोच्नै पर्ने बेला आएको छ।

तसर्थ मानिस ‘मानिस’ भई बाँच्नु छ भने प्रत्येकले इमान्दारिता अनुशासन, नियम र कर्मको यथोचित परिपालना गर्ने पर्दछ अन्यथा मानिस, परिवा, समाज र राष्ट्र कुरूप बन्दै गइ अन्त्यमा सबै कुराको दुःखद अन्त्य हुने कुरा निश्चित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *