सलोन र करिश्मालाई आमेशको गिफ्ट ‘राजा रानी’

डिसी नेपाल
१८ मंसिर २०७९ २१:०७

काठमाडौं । सलोन बस्नेत र आमेश भण्डारी मित्रताका उदाहरण हुन् भन्दा फरक पर्दैन् । सिनेमा ‘मेला’मा एकसाथ काम गरेपछि उनीहरुबीच मित्रता गाँसिएको थियो । त्यसयता उनीहरुले एकअर्कालाई साथ दिइरहेका छन् । अभिनयका अलवा गायनका पनि सौखिन यी दुईले एकसाथ केही गीत गाएका छन् भने चाँडै एक सिनेमामा पनि काम गर्ने तयारीमा छन् । दुवैको एकअर्काको परिवारसँग पनि राम्रो सम्बन्ध छ ।

मंसिर १२ गते सलोनले एयर होस्टेस करिश्मा केसीसँग विवाह गरे । उनको विवाहमा सबैभन्दा बढि खटेका थिए आमेश । उनले मेहेन्दी संगीतदेखि रिसेप्सन पार्टीसम्म सलोनको साथ दिए । उनीहरुबीच कति बलियो मित्रता छ भन्ने कुरा आमेशले सलोन र करिश्मालाई विवाहको उपहार स्वरुप गीत तयार गरेर रिसेप्सन पार्टीमा सार्वजनिक गर्नुले पनि देखाउँछ ।

रिसेप्सनमा सार्वजनिक गरिएको आमेशद्वारा स्वरवद्ध ‘राजा रानी’ बोलको गीत आइतवार राजधानीमा एक कार्यक्रमका बीच युट्युब रिलिज गरियो । सलोनलाई राजा र करिश्मालाई रानीको रुपमा चित्रित गरिएको ‘सलोमा’ वेडिङ भिडियोमा उनीहरुको विवाहलाई उतारिएको छ । बेलुहा बेहुलीको पहिरनमा सिंगारिएकोदेखि करिश्मा सलोनको घरमा भित्रिँदासम्मको दृश्य भिडियोमा देखिन्छ ।

गीतमा आमेशलाई गायिका सुनिता थेगिमले गायनमा सघाएकी छन् भने आमेशकै शब्द रचना तथा संगीत छ । भिडियोमा निर्देशक र निर्मातामा सलोनको नाम छ । गीत सार्वजनिक कार्यक्रममा नवविवाहित जोडीसँगै निर्देशक शोभित बस्नेत, उनकी छोरी सलिना बस्नेत र आमेश भण्डारी उपस्थित थिए । आमेशले ‘राजा रानी’ गीत सलोन र करिश्माका लागि आफ्नो मनबाट निस्किएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *