तस्करी गराएको आरोपमा सशस्त्रका तीन एसपी मुख्यालय तानिए

शक्ति केन्द्रको आडमा सर्लाहीका एसपी जोगिए

डिसी नेपाल
१९ मंसिर २०७९ ११:२४

काठमाडौं। सशस्त्र प्रहरी मुख्याललये बारा, पर्सा, नवलपरासी र सर्लाहीका विभिन्न नाकाबाट हुने तस्करीलाई सहयोग गरेको भन्दै तीन एसपी दुई प्रहरी निरीक्षक र दुई सईलाई कारवाहीका लागि मूख्यालय तानेको छ।

नेपाल भारत तस्करी नरोकिएको भन्दै सशस्त्र प्रहरी मुख्यालयले मधेश प्रदेशका दुई र लुम्बिनी प्रदेशका एक गरी तीन एसपीलाई २४ घण्टाभित्र मुख्यालय हाजिर हुन निर्देशन दिएको छ भने दुई इन्सपेक्टर र दुई सईलाई तुरुन्तै मुख्यालय आउन निर्देशन दिएको छ।

नेपालबाट भारततिर र भारतबाट नेपालतिर विभिन्न प्रकारका सामानहरु ओहोरदोहोर हुने क्रम नरोकिएपछि सशस्त्र प्रहरी बल मुख्यालय काठमाडौँबाट अनुसन्धान गर्न मधेस प्रदेशमा परिचालन भएको टोलीले दिएको प्रतिवेदनको आधारमा उनीहरुलाई मूख्यालय हाजिर हुन निर्देशन दिएको हो।

यसरी तानिनेमा सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्र थापा, १३ नम्बर गणका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्री छन्। त्यस्तै इन्सपेक्टर सुमन ढुंगाना बारा, रामहरि श्रेष्ठ नवलपरासी रहेका छन्।

बाराका बोर्डर आउट पोस्ट (बीओपी) इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो। सशस्त्र प्रहरी बल मुख्यालयले मधेस प्रदेशका विभिन्न जिल्लामा भइरहेको तस्करीबारे एसपीको कमान्डमा अनुसन्धान टोली खटाएको थियो।

सशस्त्र प्रहरी बल मुख्यालयबाट एसपी उद्धव रावलको नेतृत्वमा आएको टोलीले पर्साबाट अनुसन्धान सुरु गरेको थियो। नेपाल भारत सीमा क्षेत्रको पर्सास्थित अलौ बिओपि तथा तस्करीसम्बन्धी अन्य संम्वेदनशील बिओपिहरुबाट अनुसन्धान सुरु गरेको थियो। सो टोलीमा सशस्त्र प्रहरी निरीक्षक नवराज काफ्ले पनि सहभागी थिए।

गत बिहीबार रातिदेखि टोलीले पर्साबाट पूर्वतिर सर्दै बाराको विभिन्न नाका तथा बिओपिहरुमा पुगेको थियो। यसै गरी शुक्रवार रौतहटको बंकुल सरमुजवा हुँदै रामपुर खाप, मठिया तथा गौर भन्सारको पनि स्थलगत निरीक्षण अनुगमन गरेको थियो।

स्रोतका अनुसार नाकामा पुग्नुभन्दा पहिले सम्बन्धित बिओपि तथा जिल्लाका प्रमुखलाई जानकारी दिने गरिएको थिएन। नाकामा पुग्नुभन्दा पहिले टाढैबाट नाकाको निगरानी गर्ने गरेको, डिउटीमा रहेको सशस्त्र प्रहरीको गतिविधिबारे अध्ययन गर्ने गरेको पनि स्रोतको दाबी छ।

यसै गरी नेपाल भारत दुवैतिर सामान तस्करी हुने नाकामा डिउटीमा खटिएका सशस्त्र प्रहरीको खल्ती चेकजाँच पनि गरिएको थियो।
मधेस प्रदेशमा हुने तस्करीबारे सुक्ष्म तरिकाले अनुसन्धान गर्न एसपी नेतृत्वको टोली पहिलोपटक मोटरसाइकलमै घुमेको थियो।

टोलीले छड्के चेकजाँच गरेपछि र गल्ती गरेको पाइएअनुसार कारबाही प्रकृया अघि बढेको थियो। तर सो टोलीले सर्लाहीको विषयमा भने कुनै प्रतिवेदन दिएको छैन। सर्लाहीको छतौनाको लक्ष्मीपुर नाकाबाट पनि बालुवा र गिटी तस्करी भइरहेको छ।

चुरे क्षेत्रबाट उत्खनन गरिएको र विभिन्न खोलानालाई दोहन गरी निकालिएको गिटी र बालुवा भारततिर निर्वाध गइरहँदा नारायणपुर, त्रिभुवननगर, मलंगवा, लचका नाका, फेन्हारा लगायतका नाका हुँदै लत्ताकपडा, मलखाद, स्पेयर पार्टस, चिनी, खानेतेलका साथै चाइनिज सामानहरु ओहोर दोहोर हुँदै आएको स्रोतको दावी छ।

सर्लाहीका एसपी भरत खनियालाई भने छुट दिइएको छ। उनी शक्ति केन्द्रको आडमा एकल काज निकालेर सर्लाही गएका थिए। सशस्त्र प्रहरी बल मुख्यालयले करिब तिन महिनाअघि मधेस प्रदेशमा कार्यरत बदनाम भइसकेका दर्जनौँ सशस्त्र घुमुवालाई तानेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *