कमल थापाको राप्रपा नेपाललाई समानुपातिकमा १२ हजार, प्रदेशमा साढे २१ हजार मत

डिसी नेपाल
२० मंसिर २०७९ १४:५५

काठमाडौँ। प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ। प्रदेश र प्रतिनिधिसभातर्फ प्रत्यक्षको मत गनिसकिएको छ। अब समानुपातिक पनि अन्तिम चरणमा पुगेको छ।

नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राप्रपा पाँचौं, जसपा छैटौं र एकीकृत समाजवादी सातौं पार्टी बनेका छन्। एक वर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि पार्टी त्यागेर हिँडेका कमल थापाले राप्रपा नेपाल पार्टी पुनर्गठन गरे र त्यो पार्टीको अध्यक्षसमेत बने।

निर्वाचन आयोगले उनको पार्टीलाई चुनाव चिन्ह तिर दिएको थियो। तर, उनी आफैं भने पार्टीको चुनाव चिन्हबाट नलडी एमालेको सूर्य चुनाव चिन्हबाट मकवानपुर १ मा उम्मेदवार बने। आफ्ना पार्टीका उम्मेदवारलाई भने उनले तिरमै चुनावमा उठाए।

राप्रपा नेपालले प्रतिनिधिसभातर्फ १२ हजार ३०२ मत पाएको छ। उनले मकवानपुर १ मा प्रत्यक्षमा पाएको २६ हजार मत एमालेमै जोडिने भएकाले राप्रपा नेपाललाई घाटा लागेको छ।

राप्रपा नेपालले सातै प्रदेशमा समानुपातिकतर्फ २१ हजार ६९६ मत पाएको छ। राप्रपा नोपलले कहीँकतै उल्लेख्य मत प्राप्त गर्न सकेन। उसले प्रदेश १ मा ३,३९१, मधेसमा ६,५२२, बागमतीमा ५,६७५, गण्डकीमा ९१२, लुम्बिनीमा ३,३४९, कर्णालीमा ६०६ र सुदूरपश्चिम प्रदेशमा १,२४१ मत पाएको छ। थापाले छाडेको राप्रपाले भने संघतर्फ प्रत्यक्ष र समानुपातिक गरी १४ सिट हात पार्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *