‘भारतले हाम्रो जिन्दगीको मूल्यमा रूसी तेल किनिरहेको छ’
काठमाडौं । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले मंगलबार सार्वजनिक रूपमा भारतले रुस–युक्रेन युद्धको फाइदा उठाएको आरोप लगाएका छन् । अङ्ग्रेजी पत्रिका द टेलिग्राफमा प्रकाशित समाचारका अनुसार कुलेवाले भारतीय पक्षबाट यसलाई ‘युक्रेन युद्ध’ भनिएकोप्रति प्रश्न पनि उठाएका छन् ।
उनले भने, ‘जब भारतले ‘हाम्रो दुख र पीडा’बाट फाइदा लिइरहेको छ, तब हामीलाई दिइने सहयोगलाई बढाउन त सक्छ ।’ यस वर्षको फेब्रुअरी २४ मा रुस र युक्रेनबीच युद्ध सुरु भएदेखि नै भारत सरकारले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरको भनाइ सार्वजनिक भएपछि कुलेवाले भारतबारे यस्तो बताएका हुन् । जयशंकरले फेरि एकपटक भनेका छन् कि भारतले अझै पनि युरोपियन युनियनको तुलनामा धेरै कम मात्रामा रुसी तेल खरिद गरिरहेको छ।
कुलेवाले भने, ‘युरोपियन युनियनमा औँला उठाएर ‘हेर, उनीहरूले पनि त्यस्तै गरिरहेका छन्’ भनेर मात्रै पुग्दैन । किनभने भारतसँग सस्तो मूल्यमा रुसी तेल खरिद गरेर पैसा बचत गर्ने अवसर छ । युरोपेली युनियनले पनि रुसबाट तेल किनिरहेको छ, किनभने रुसी युद्धका कारण युक्रेनी जनता पीडामा छन् र मरिरहेका छन् ।’
युक्रेन युद्ध सुरु भएदेखि नै भारतले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राख्दै सस्तो दरमा उपलब्ध रुसी तेलको आयात बढाएको छ । तर, युक्रेनमा जारी युद्धलाई लिएर भारतको दृष्टिकोण चिन्ताले भरिएको छ ।
द हिन्दुमा प्रकाशित समाचारका अनुसार संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले मंगलबारको संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा भारतले लगातार वार्ता सुरु गर्नेतर्फ अघि बढिरहेको बताएकी छन् ।
उनले भनिन्, “भारतले हिंसा तत्काल रोकिनुपर्छ भन्ने अडान राख्दै आएको छ। भारतले दुवै पक्षलाई कूटनीति र संवादतर्फ अघि बढ्न आग्रह गरेको छ। र द्वन्द्व अन्त्यका लागि सबै कूटनीतिक प्रयासलाई समर्थन गर्ने निरन्तरता रहेको छ।”







डिसी नेपाल







Facebook Comment