मेलम्ची खानेपानी पुनः उद्घाटन गर्दै मन्त्री चौधरी {भिडियोसहित}

डिसी नेपाल
२३ मंसिर २०७९ ११:४४

काठमाडौं । नेपाल सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी पुनःवितरणको उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । उनले काठमाडौँको महाँकालचौरस्थित शाखा कार्यालयबाट खानेपानीको पुनः वितरण उद्घाटन गरेका हुन्।

वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खानेपानी काठमाडौं उपत्यकामा पुनः वितरण गर्न सुरु गरिएको छ ।  मेलम्चीको पानी काठमाडौंमा वितरण कार्य शुभारम्भ गरिएको यो तेस्रो पटक हो ।

गत वैशाख ११ देखि अस्थायी संरचनाबाट मेलम्ची वितरण सुरू भएको थियो । बर्खा लागेसँगै सम्भावित क्षतिलाई न्यूनिकरण गर्न जेठ १८ देखि सुरुङमा पानी पठाउने ढोका बन्द गरिएको थियो । यसपटकको बाढीले हेडवक्र्स बक्ससम्मको पहुँचमार्गमा क्षति पुगेको थियो । मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अस्थायी रुपमै भएपनि काठमाडौं उपत्यकावासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाए ।

उनले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिदैं मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए । मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा १२ महिनै काठमाडौंवासीलाई पानी खुवाउन सकिने बताएका छन् ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव मणिराम गेलालले हरेक वर्ष जेठमा बन्द गरेर कात्तिकमा खोल्नुपर्ने चक्रलाई अन्त्य गर्न एसियाली विकास बैंकको विज्ञको टोलीले मेलम्ची खानेपानी आयोजनाको साइटमा काम गरिरहेको जानकारी दिए । उनले मेलम्चीमा नियमित आउने सामान्य बाढीका कारण खानेपानी वितरण बन्द गर्न नपरोस भन्ने तर्फ मन्त्रालय रहेको उल्लेख गरेका छन् ।

आयोजनाले अस्थायी संरचनाबाट सुन्दरीजलमा पानी ल्याएर उपत्यकाका १० वटा ट्यांकीबाट ५ करोड ८३ लाख लिटर पानी वितरण गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । हाल काठमाडौं उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर रहेको केयूकेएलले जनाएको छ । आयोजनाबाट उपलब्ध हुने पानी काठमाडौं महानगर, गोकर्णेश्वर, बूढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर, भक्तपुर, मध्यपुर थिमि, टोखा, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा आलोपालो वितरण गरिने केयूकेएलका उप कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

हेर्नुहोस् भिडियो:

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *