लुम्बिनी प्रदेशसभामा १० दलको उपस्थिति

डिसी नेपाल
२६ मंसिर २०७९ २१:५२

बुटवल । लुम्बिनी प्रदेशसभामा यसपटक १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । अघिल्लो पटकको निर्वाचनमा पाँच राजनीतिक दल रहेकोमा यसपटक दोब्बरले बढेको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ प्रदेश सांसद छनोट भएका छन् । ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य भएकाले प्रत्यक्षतर्फ एक जना मात्र महिला निर्वाचित भएकाले समानुपातिकमा सबै दलबाट अधिकांश महिला चुनिएका छन् ।

३५ समानुपातिक सिटमध्ये ३१ जना महिला र चार जना पुरुष छनोट भएका छन् । सबै दलले निर्वाचन आयोगमा अन्तिम नामावली बुझाइसकेका छन् । समानुपातिकतर्फ लुम्बिनीमा एमालेले पहिलो बन्दै ११, कांग्रेसले १०, माओवादी केन्द्रले चार, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई, नागरिक उन्मुक्ति पार्टीले दुई, जनमत पार्टीले दुई, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले एक एक गरी ३५ सिट प्राप्त गरेका छन् ।

निर्वाचनमा ३२ दल सहभागी रहे पिन संसदमा १० दलको प्रतिनिधित्व भएको हो । एकीकृत समाजवादी र जनमोर्चाले भने प्रत्यक्षमा कुनै सिट नल्याए पनि समानुपातिकमा एक एक सिट ल्याएका छन् ।

एमालेका ११ मध्ये १० महिला
प्रत्यक्षतर्फ १८ सिट जितेको एमालेले समानुपातिकमा ११ सिट पाएको हो । खसआर्य महिलातर्फ बसन्ती न्यौपाने (बाँके), जानकी न्यौपाने (रूपन्देही), आदिवासी जनजाति महिलाबाट सरिता पुन (रुकुमपूर्व), यमुना रोका तामाङ (रोल्पा), थारूबाट सीता चौधरी (दाङ), भगवतीकुमारी थरूनी (रूपन्देही), दलिततर्फ इन्द्रकुमारी गहतराज (पाल्पा), यसैगरी रेखाकुमारी शर्मा (दाङ), मधेसीतर्फ शान्ति लोध (रुपन्देही), (अल्पसंख्यक) र मुस्लिमतर्फ रासा बानु (बाँके) र खसआर्य पुरूषमा गिरिधारीलाल न्यौपाने (कपिलवस्तु) लाई पठाएको छ ।

कांग्रेसका १० जना छानिए
प्रत्यक्षतर्फ १७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ १० सांसद पाएको छ । जसमध्ये खस आर्यबाट जमुना ढकाल (रूपन्देही), निमा गिरी (प्युठान) र मालती सोडारी (बर्दिया) रहेका छन् । यस्तै जनजातितर्फ धनलक्ष्मी श्रेष्ठ (प्यूठान), माया पुन (बाँके) रहेका छन् । यसैगरी थारूबाट देवीप्रसाद चौधरी (रुपन्देही) र सञ्जुकुमारी चौधरी (बाँके) रहेका छन् । मधेसीतर्फ सुशीला बादी (दाङ), दलिततर्फ लोकीकुमारी बिक (दाङ) र मुस्लिमतर्फ मीनाकुमारी सिद्दिकी (बाँके) रहेका छन् ।

माओवादीमा महिला र पुरुष बराबर

माओवादी केन्द्रबाट दुई महिला र दुई पुरुष समानुपातिबाट सांसद बनेका छन् । खस आर्यतर्फ भक्तिप्रसाद आचार्य (अर्घाखाँची), जनजातितर्फ दिलकुमारी बुढा (रुकुमपूर्व), थारूतर्फ कृष्णा थारू (बर्दिया) र दलिततर्फ यमबहादुर नेपाली (गुल्मी) रहेका छन् । माओवादीबाट प्रत्यक्षमा एकजना महिलाले जितेकी छन् ।

अन्य दलबाट को को आए ?

नागरिक उन्मुक्ति पार्टीबाट निर्मलाकुमारी थारू चौधरी (रुपन्देही) र नोरीकुमारी चौधरी (बाँके) रहेका छन् । जनमत पार्टीबाट सुमन रायमाझी (बर्दिया) र गीता गुरूङ (रुपन्देही) रहेका छन् । त्यस्तै, लोसपाबाट हेमा बेल्वासे केसी, राप्रपाबाट मेनुका खाण (गुल्मी) र जनजातितर्फ मीनाकुमारी श्रेष्ठ बाँके रहेका छन् । जनता समाजवादी पार्टीबाट अम्बिका काफ्ले (बर्दिया) रहेका छन् ।

प्रत्यक्षमा कुनै सिट नल्याएका राष्ट्रिय जनमोर्चाबाट गुल्मीकी तारा थापा र एकीकृत समाजवादीबाट भगवती अधिकारी घिमिरे (रुपन्देही) सिफारिस भएका छन् । राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा गुल्मी कालीगण्डकी गाउँपालिकाकी पूर्व उपाध्यक्ष थापा जनमोर्चाको लुम्बिनी प्रदेश समानुपातिक सांसद कोटाबाट प्रदेश सांसदमा सिफारिस भएकी हुन् ।

लुम्बिनीमा स्वतन्त्रले तीन सिट जितेका छन् । प्रत्यक्षमा आठ वटा दलले मात्रै चुनाव जिते पनि समानुपातिकतर्फ थप दुई दलले ‘थ्रेस होल्ड’ कटाएर एक एक सिट पाउने भएपछि प्रदेश सभामा १० दलको उपस्थिति भएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *