फिफा विश्वकप: आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै

डिसी नेपाल
२७ मंसिर २०७९ ६:२९

काठमाडाैं। फिफा विश्वकप २०२२ को सेमिफाइनलका खेलहरु आज मध्यरातबाट सुरु हुँदैछ। दुइपटकको विश्वविजेता र आफूलाई उपाधी दावेदारका रुपमा प्रस्तुत गर्दै आएको अर्जेन्टिना र साविकको उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा भिड्दैछन्। खेल नेपाली समयअनुसार आज मध्यरात १२.४५ बजे लुसेल रंगशालामा हुँदैछ।

अर्जेन्टिना र क्रोएसिया दुवै क्‍वाटरफाइनलमा टाइब्रेकरमा विपक्षी टोलीलाई पाखा लगाउँदै अन्तिम चारमा आइपुगेका हुन्। अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई र क्रोएसियाले पाँचपटकको विश्वविजेता ब्राजिललाई पराजित गरेको हो।

आज भिडन्त हुने यी दुई टोलीबीच हालसम्म फिफा विश्वकपका समूह चरणका खेलहरुमा दुईपटक आमनेसामने भएका छन्। सन् १९९८ मा अर्जेन्टिनाले १-० गोलले क्रोएसियामाथि जीत दर्ता गरेको थियो । त्यसको बदलामा क्रोएसियाले २०१८ मा रसियाको विश्वकपमा ३-० गोलले यादगार जीत निकालेको थियो।

फिफा विश्वकप २०२२ मा भने यी दुई टोलीहरु पहिलोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि सन् २०१४ को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले २-१ को जीत निकाल्दा सन् २००६ को मैत्रीपूर्ण खेलमा क्रोएसियाले अर्जेन्टिनामाथि ३-२ को जीत निकालेको थियो।

त्यसैगरी सन् १९९४ मा खेलिएको अर्को मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा टुङ्गिएको थियो। अर्जेन्टिनाले पछिल्लो ४१ अन्तर्राष्ट्रिय खेलमा एकमा मात्र हार व्यहोरेको छ भने क्रोएसियाले १२ वटा विश्वकप खेल खेल्दा एक मा हार व्यहोरेको छ।

यता अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भने आजको खेलसँगै विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीका रुपमा प्रस्तुत हुँदैछन्। मेस्सीले जर्मनीका लोथर मथाउसको कीर्तिमानी बराबरी गर्दै विश्वकपमा २५ औं खेल खेल्ने खेलाडी बन्दैछन्।

सेमिफाइनल पछि फाइनल वा तेस्रो स्थानका लागि हुने खेल खेल्दै मेस्सी सर्वाधिक विश्वकप खेल्ने कीर्तिमानी खेलाडी समेत घोषित हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *