कश्मीरमा इस्लामिक सहयोग संगठनको टिप्पणीबाट आक्रोशित भारतले दियो यस्तो प्रतिक्रिया

डिसी नेपाल
२७ मंसिर २०७९ १२:३६

काठमाडौं । कश्मीरबारे टिप्पणी गरेको भन्दै भारतले इस्लामिक सहयोग संगठन अर्थात् ओआईसीको आलोचना गरेको छ । ओआईसीका प्रमुख हिसेन ब्राहिम ताहाले पाकिस्तान भ्रमणमा रहेका बेला कश्मीरीलाई आत्मनिर्णयको अधिकार दिनुपर्ने र यसलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावअनुसार समाधान गर्नुपर्ने बताएका छन्।

ओआईसी प्रमुखको यो टिप्पणीलाई भारतले कश्मीर मुद्दामा वार्ता गर्ने अधिकार नभएको भन्दै अस्वीकार गरेको छ ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ओआईसीका महासचिवले पाकिस्तान प्रशासित कश्मीरको भ्रमणका क्रममा दिएको बयानको हामी निन्दा गर्छौँ । ओआईसीसँग कश्मीरको मुद्दामा बोल्ने अधिकार छैन। जम्मू कश्मीर भारतको अभिन्न अंग हो। ओआईसी र यसका महासचिवको तर्फबाट भारतको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन।’

“ओआईसीले यस मुद्दामा पूर्ण रूपमा साम्प्रदायिक, पक्षपाती र तथ्यात्मक रूपमा गलत दृष्टिकोण अपनाएर आफ्नो विश्वसनीयता गुमाइसकेको छ। यसको महासचिव पाकिस्तानको मुखपत्र बनेका छन् । उनले आफूलाई पाकिस्तानको अनैतिक एजेन्डाबाट टाढा राख्ने अपेक्षा गरिएको छ जस अन्तर्गत पाकिस्तानले सीमापार आतंकवादलाई बढावा दिइरहेको छ, विशेष गरी जम्मू कश्मीरमा।’

ओआईसीका महासचिव हिसेन ब्राहिम ताहाले आइतबार आफ्नो पाकिस्तान भ्रमणका क्रममा उक्त कुरा बताएका हुन् । उनले भनेका थिए – मलाई लाग्छ कि सबैभन्दा महत्त्वपूर्ण कुरा सरोकारवालाहरू (भारत-पाकिस्तान) बीच वार्ताको माध्यम खोज्नु हो र हामी पाकिस्तान सरकार र अन्य सदस्य राष्ट्रहरूसँग योजनामा ​​​​काम गरिरहेका छौं।

“त्यसैले हामीले सदस्य राष्ट्रहरूको सहमति लिनु महत्त्वपूर्ण छ र हामीले सडकमा कूटनीतिको छलफल हुँदैन भनेर जान्नुपर्दछ।” ताहाले एक प्रतिनिधिमण्डलसँग पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेका थिए ।

भर्खरै परराष्ट्र मन्त्रिपरिषद् (सिएफएम)को बैठकमा ल्याएको प्रस्तावलाई कार्यान्वयन गर्नुअघि जमिनको अवस्था बुझ्न आफूले भ्रमण गरेको ताहाले जानकारी दिए ।

“हामी यहाँ हाम्रो ऐक्यबद्धता, सहानुभूति र ओआईसीको दृढ संकल्प व्यक्त गर्न आएका छौं। हामी हाम्रा सहयोगीहरू, अन्तर्राष्ट्रिय समुदायसँग मिलेर भारत र पाकिस्तान बीचको यो लामो समयदेखि चलिरहेको द्वन्द्व (कश्मीर) को समाधान खोज्न चाहन्छौं,” उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *