चीनसँगको सीमाना परिस्थितिलाई साम्य पार्ने भारतको प्रयासमा अमेरिकी समर्थन

डिसी नेपाल
२८ मंसिर २०७९ २३:०४

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले चीनसँगको सीमा क्षेत्रमा द्वन्द्व बढ्न नदिन तथा सिमानाको स्थितिलाई सामान्य तुल्याउने भारतको प्रयासमा आफ्नो समर्थन रहने स्पष्ट गरेको छ ।

गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको विषयलाई लिएर अमेरिकी रक्षा मन्त्रालयले सिमानाको स्थितिलाई सामान्य बनाउन भारतीय पक्षबाट हुने प्रयासमा समर्थन रहने बताएको हो ।

भारत–चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलओसी)मा चीनले सैनिक उपस्थिति बढाउने तथा सैन्य पूर्वाधार निर्माण गर्नेलगायत त्यहाँ विकसित घटनाक्रमहरूलाई पेन्टागनले नजिकबाट नियालिरहेको मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले बताए । “हामी हाम्रा साझेदारहरूको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतामा अडिग छौँ, त्यहाँको द्वन्द्वपूर्ण अवस्थालाई साम्य पार्न भारतको जारी प्रयासलाई पूर्ण समर्थन गर्छौं,” उनले भने ।

चिनियाँ जनमुक्ति सेना (पीएलए)वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप भएको र हताहती नभए पनि दुवै पक्षका केही कर्मचारीलाई सामान्य चोट लागेको थियो । मङ्गलबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा चीनले पनि उक्त क्षेत्रको स्थिति अहिले सामान्य एवम् स्थिर रहेको बताएको थियो ।

मङ्गलबार नै लोकसभामा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा पीएलएबाट अतिक्रमणको प्रयास भएको र त्यसलाई भारतीय सेनाले बहादुरीका साथ विफल तुल्याएको बताएका थिए । साथै उनले उक्त मुद्दा कूटनीतिक माध्यमबाट चीनसँग उठाइएको जानकारी दिएका थिए ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भारत र चीनबीचको तनावलाई कम गर्न आह्वान गरेका छन् । महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले भारत–चीन सीमा क्षेत्रमा तनाव नबढोस् भन्ने सुनिश्चितताका निम्ति सम्बद्ध पक्षसँग महासचिवले आह्वान गरेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *