कतारले बेल्जियमको अनुसन्धानबारे युरोपियन युनियनलाई किन दियो चेतावनी ?

डिसी नेपाल
४ पुष २०७९ १७:२०

काठमाडौं । कतारले आइतवार बेल्जियमको भ्रष्टाचार अनुसन्धानको आलोचना गर्दै युरोपेली संघको संसदले कतारमाथि गरेको कुनै पनि कदमले युरोपेली संघसँगको सम्बन्ध र प्राकृतिक ग्यासको आपूर्तिमा नकारात्मक असर पार्ने बताएको छ।

कतारले जारी गरेको विज्ञप्तिमा बेल्जियमले गलत सूचना प्रयोग गरी आलोचना गरेको जनाएको छ । युरोपेली संघ संसदकी ग्रीक सदस्य इभा केल्ली ति ४ जनामध्येकी हुन् जसमाथि छापा मारिएपछि अभियोग लगाइएको छ।

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार यी छापा मार्दा १५ लाख युरो नगद बरामद भएको छ। यो रकमको तार कतारमा जोडिएको र गत साता युरोपेली संघमा कतारविरुद्ध कारबाही गर्न माग गरिएको थियो ।

युरोपेली युनियनमा यो घोटाला यस्तो समयमा बाहिर आएको हो जब धेरै युरोपेली देशहरू प्राकृतिक ग्यास आपूर्तिका लागि कतारतर्फ हेरिरहेका छन्।

कतारको तर्फबाट भनिएको छ, “कानूनी प्रक्रिया समाप्त हुनु अघि कतारसँगको वार्ता र सहयोगलाई रोक्ने कुनै पनि कारबाहीको निर्णयले क्षेत्रीय र विश्वव्यापी सुरक्षा सहयोगमा नकारात्मक असर पार्नेछ। साथै, विश्वव्यापी ऊर्जा सुरक्षामा जारी वार्ता पनि प्रभावित हुनसक्छ ।”

“हाम्रो सरकारलाई कुनै गल्तीसँग जोड्ने कुनै पनि आरोपलाई हामी दृढताका साथ अस्वीकार गर्दछौं। यस अनुसन्धानमा कतार मात्र पक्ष होइन, तर हाम्रो देशलाई विशेष रूपमा लक्षित गरिएको छ।”

मिडिया रिपोर्टका अनुसार मोरक्कोको भूमिका पनि स्क्यानरमा छ। बेल्जियमका अभियोजकहरूले भने कि उनीहरूले एक वर्ष भन्दा बढी समयदेखि ईयू भ्रष्टाचारको अनुसन्धान गरिरहेका छन्, जबकि छापा हालैका हुन्।

एक कतारी कूटनीतिज्ञले भने, “यो निराशाजनक छ कि बेल्जियम सरकारले हाम्रो सरकारलाई विश्वासमा लिन कुनै प्रयास गरेको छैन ।” कतारले आफ्नो विज्ञप्तिमा बेल्जियमलाई एलएनजीको महत्वपूर्ण आपूर्तिकर्ता भएको पनि स्मरण गराएको छ ।

यसैबीच, ग्रीसकी सांसद इभा कालीलाई युरोपेली संघको उपाध्यक्ष पदबाट हटाइएको छ । उनी बाहेक अन्य तीन जनाविरुद्ध आपराधिक संगठन, भ्रष्टाचार र अवैध धन कारोवार गरेको आरोप छ ।

यस काण्डलाई लिएर युरोपेली संघको संसदमा हंगामा भएको छ र अन्य देशका लबीस्टहरूलाई प्रतिबन्ध लगाउन मागहरू उठिरहेका छन्।

हालै जर्मनीका गृहमन्त्रीले कतारले विश्वकप आयोजना गर्ने कि नगर्ने भन्ने प्रश्न गरेपछि कतार र जर्मनीबीच कूटनीतिक विवाद उत्पन्न भएको थियो । त्यसपछि कतारले दोहास्थित जर्मन राजदूतलाई बोलाएर औपचारिक विरोध गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *