नयाँ सिम बिक्री र सिम परिवर्तनमा नेपाल टेलिकमको यस्ता मापदण्ड

डिसी नेपाल
६ पुष २०७९ ९:५३

काठमाडौँ। राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएको छ।

मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङ्ग लगायत सुविधाहरु सुरक्षितसाथ प्रयोग गर्न सकिने अवस्था पनि सिर्जना भएको छ। अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ।

नेपाल टेलिकम सम्पूर्ण ग्राहकमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको वा बिग्रिएको खण्डमा सिमकार्ड आफू स्वयं उपस्थित भई प्राप्त गर्न अनुरोध गर्दछ। ग्राहकको सुरक्षामा विशेष ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउनका लागि नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तन गर्दा निम्न मापदण्डहरु कार्यान्वयनमा ल्याइएको छ।

नयाँ सिमकार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरणहरु स्पष्ट रुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचय पत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचयपत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नुपर्दछ। स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइनेछ र परिचयपत्रको प्रतिलिपिलाई सक्कल परिचयपत्रको नाम, बुवाको नाम, परिचयपत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिन्छ।

सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्ण रुपमा भरेको वा नभरेको जाँचपश्चात ग्राहकको परिचयपत्रको सक्कल र नक्कललगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुन्छ।

ग्राहक स्वयं उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जु रिनामा र सक्कल परिचयपत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचयपत्र देखाई सोको प्रतिलिपि रितपूर्वक भरिएको फरामसाथ संलग्न गर्नुपर्छ। कागजात रुजु कार्य सम्पन्न भएपश्चात सिमकार्ड परिवर्तन हुन्छ।

सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्ति आ–आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचयपत्रको सक्कल र तिनका प्रतिलिपिसहित स्वयं उपस्थित भई निवेदन दिन सकिने व्यवस्था रहेको छ।

कुनै ग्राहक अशक्त भएमा निजको मञ्जुरिनामा पत्र र परिचयपत्रको सक्कल तथा प्रतिलिपी, लिन आउने व्यक्तिको सक्कल परिचयपत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाणपत्रसहित हकवाला नातेदार सक्कल कागजात तथा परिचयपत्रसहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुन्छ।

वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचयपत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुस्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *