एकाएक यसरी पल्टियो प्रचण्डका पक्षमा सत्ताको पासा

डिसी नेपाल
१० पुष २०७९ २२:०४

काठमाडौं। नयाँ प्रधानमन्त्री बन्न प्रधानमन्त्री निवासबाटै शितलनिवास जाने तयारीमा रहेको शेरबहादुर देउवाका लागि आइतबार बिहान साढे १० बजेदेखि शुरु भएको सत्तारुढ गठबन्धनको बैठक आफ्नो सत्ता बिसर्जनको थलो बन्न पुग्यो।

नेपाली काँग्रेसका सभापति देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरसँग छुट्टा छुट्टै कुरा पनि गरेका थिए।

दुवै नेताले निर्वाचनको परिणामअनुसार ठूलो पार्टीको हैसियतले काँग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने धारणा राखेकाले यी दुवैको दबावबाट प्रचण्ड पनि लाइनमा आउने विश्वास लिएका थिए।

नेपालले चाहिँ नेचुरल लिडर तपाईं नै हो तर दुई जना बसेर कुरा मिलाउनुहोस् भन्ने सुझाव दिएका थिए। त्यसमाथि पनि शनिबार राति एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर एक घण्टा भलाकुसारी गरेर फर्केका महन्थ ठाकुर पनि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नमान्ने कुरामा ढुक्क थिए। उनले पनि देउवालाई सो कुरा सुनाएका थिए।

प्रचण्ड जताततैबाट पेलिएकाले देउवाका लागि बाटो सहज भएको महसुस भएको थियो। पार्टीभित्र र बाहिर दुवैतिर निकै चलाखीपूर्ण राजनीति गर्दै आएका देउवा आइतबार बिहान प्रचण्डसँगको बैठकमा भने नराम्ररी चिप्लिए।

समाचारअनुसार, देउवाले आफूलाई ३ बर्ष प्रधानमन्त्री चाहिने प्रस्ताव गरेका थिए। प्रचण्डले शुरुका दुई वर्ष देउवालाई प्रधानमन्त्री मान्ने तर त्यसको लिखित सहमति आजै सार्वजानिक गर्नुपर्ने प्रस्ताव गरेका थिए। यो कुरामा देउवा सहमत भएनन् उनले आफूलाई तीन वर्ष प्रम चाहिने तर्क राखेपछि प्रचण्ड आक्रोशित भएका थिए।

यसै पनि देउवा र दाहालकाबीच विगत केही दिनदेखि सम्बन्धमा चिसोपना आएको थियो। यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेल्ने काम गरिरहेकै थिए। चीनबाट फर्केपछि माओवादी नेता बर्षामान पुन र एमाले उपाध्यक्ष विष्णु पौडेल तथा सुबास नेम्वाङ र महासचिव शंकर पोख्रेल दुई पार्टीको समीकरण बनाउने कसरतमै थिए।

देउवाले तीनबर्ष आफू हुने कुरा राखेपछि प्रचण्ड उत्तेजित भएका थिए। समाचारअनुसार, कागज गर्ने कुरा पनि नगर्ने अनि तीन वर्ष पनि भन्न थालेपछि उनी बैठकबाट जुरुक्क उठेर ओलीसँग कुरा गर्न बालकोट जान्छु भन्दै देउवालाई धम्क्याएर बालुवाटारबाट निस्किएका थिए।

ओलीले प्रचण्डलाई पत्यार नगर्ने कुरामा निकै ढुक्क देखिएका देउवालाई ओलीले पनि चक्मा दिए। केही समयपछि नै बाम समीकरण बन्ने कुरा आउन थालेपछि देउवाले प्रचण्डलाई फोन गरी बालुवाटार फर्कन आग्रह गरेका थिए।

‘आउनुहोस् थप छलफल गरौं मिलाएर जाऊ भन्ने कुरा देउवाले गर्नु भएको थियो तर ढिलो भइसकेको थियो,’ माओवादीका एक नेताले डिसी नेपालसँग भने, ‘यता समीकरण तय हुने अन्तिम चरणमा देउवाको फोन आयो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *