जनप्रतिनिधिकै मिलेमत्तोमा जथाभावी माटो उत्खनन्, सम्झौता नगरी योजना सुरू

डिसी नेपाल
१६ पुष २०७९ १६:१६

सिरहा । जनप्रतिनिधिसँगको मिलेमतोमा अवैध रुपमा माटो उत्खनन् गर्ने दुई वटा ट्रक र एक वटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गोलबजार नगरपालिका-७ चोहर्वास्थित सामुदायिक भवन छेउमा रहेको खाल्डो पुर्न सोही वडाको आधारभुत विद्यालय कदिमाटोल नजिकैबाट अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बा१क ७३२९ नम्बरको डोजर र ना२क ९ नम्बरको ट्रक र ज१क ४९४ नम्वरको अर्को डोजर नियन्त्रणमा लिएको हो ।

माटो उत्खननका कारण विद्यालय जोखिममा परेको स्थानीयको भनाइ छ। सानो खोल्साको डिलमा रहेको विद्यालय नजिकबाट जथाभावी माटो निकाल्दा विद्यालयमा पहिरो जाने अवस्थामा पुगेको स्थानीय युवाको भनाइ छ ।

नगरकै योजनाको काममा प्रयोग भईरहेको माटो अवैधरुपमा उत्खनन् हुँदा पालिकाको दोहोरो करछली भएको स्थानीय युवा बताउँछन् । यसरी दर्ता नभएको खानी वा जमिनबाट माटो खरिद गर्दा राजश्व छली हुन्छ नै । सँगै उपभोक्ताले सस्तोमा किनेर महंगोको विल हाल्न पाउने सुविधा पनि रहन्छ।

वडाअध्यक्ष हरिशरण ठाकुरले उपभोक्ता समितिले व्यक्तिको नाममा रहेको नम्बरी जमिनबाट माटो ल्याएको बताए । उनले भने, ‘उपभोक्ताले नजिकै रहेको महेन्द्र यादवको नम्बरी जमिनबाट माटो ल्याएको हो, कुनै ऐलानी जमिनबाट होइन्, नजिकै भेटेकाले ल्याएछ ।’

नगरपालिकाको श्रममुलक कार्यक्रम निर्माण कार्य (एलआईपी) कार्यक्रमअन्तर्गत गोलबजार नपा-७ चोहर्वामा अधुरो सामुदायिक भवन फिनिसिङका लागि २० लाख रकम छुट्याएको छ।

सम्झौता नगरी काम सुरू
अधुरो सामुदायिक भवन फिनिसिङका लागि उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता नै नगरी काम सुरु गरेको छ । गोलबजार नगरपालिकाका रोजगार संयोजक सुरेश ठाकुरले समिति गठन भएको सुने पनि आधिकारिक रुपमा फाइल आईनसकेको बताए । उनले भने, ‘फाईल नै आएको छैन, फाईल नआई सम्झौता र कार्यादेश कसरी हुन्छ ?’ भन्दै उल्टै प्रतिप्रश्न गरे।

वडा अध्यक्ष हरिशरण ठाकुरले केहि दिन पहिला सर्वदलिय सर्वपक्षिय वैठक बसेर समिति गठन गरे पनि अझै आधिरीक जानकारी नआएको बताए । उनले भने, ‘बैठकबाट समिति गठन भईसकेको छ, समितिमा को को छ भन्ने मैले जानकारी लिनुपर्छ, त्यही समितिले काम गरेको होला।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *