‘खोरका सबै बङ्गुर मरे, पुनः विदेशिनुपर्ने भो’
तनहुँ। भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताए। ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौँ र परिवारको साथमा बसौँ’ भन्ने भावना बोकेर उनी चार वर्षअघि घर फर्केका थिए।
घर फर्किएपछि थापाका दम्पतीले बङ्गुर व्यवसाय थाले। फार्ममा रहेका आठ बङ्गुर अप्रिकन स्वाइन फिभरका कारण एकाएक मरेपछि उनका सपना सबै चकनाचुर बन्न पुगेको छ। करिब २० धार्नी बढी किलोग्रामका बङ्गुर मरेर खोर नै रित्तिएपछि पुनः विदेशिनुपर्ने अवस्था आएको कृषक थापाले बताए।
जिल्लामा पहिलोपटक भीमाद नगरपालिकामा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण देखापरेसँगै बङ्गुर मरेपछि बङ्गुरपालन कृषक चिन्तित भएको भेटेरेनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। उक्त रोगविरुद्व अहिलेसम्म भ्याक्सिन बनेको छैन। उनले भने, “नेपालमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका कृषकलाई बङ्गुर घटाउन भने पनि नमान्दो धेरै क्षति व्योहर्नुपर्ने अवस्था देखिएको छ।”
अफ्रिकन स्वाइन फिभर सङ्क्रमण हुँदा बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने, मृत्युदर सय प्रतिशत हुनेलगायतका लक्षण देखापर्ने केन्द्र प्रमुख डा श्रेष्ठले बताए। थापाको फार्ममा रहेका आठवटै बङ्गुर अचानक मरेपछि पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको उनले जानकारी दिए।
केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन्। केन्द्रका प्रमुख डा श्रेष्ठले भने, “यस रोगका कारण एक चरण बङ्गुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौँ।” तनहुँको भीमाद र म्याग्दे गाउँपालिका– ५ मा गरी हालसम्म २२ बङ्गुर मरिसकेको सो केन्द्रले जनाएको छ। – रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment