शीतलहरले जनजीवन कष्टकर बन्दै

डिसी नेपाल
२७ पुष २०७९ १०:१८
84
Shares

मधुवन। शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ। बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन्।

अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक मानिस घर बाहिर निस्कन सकेका छैनन्। पश्चिमी वायुसँगै तराईमा धेरै चिसो बढेको हो।

चिसोका कारण शरीर काप्ने र हातखुट्टा कठ्याङ्ग्रिने गरेको मधुवन नगरपालिका–१ बड्की टडुवाका स्थानीयवासी कुशव थापाले बताए। “केही दिनदेखि घामको मुख देख्न पाइएको छैन। केटाकेटी, वृद्धवृद्धा र पशुचौपाया चिसोका कारण धेरै समस्यामा छन्”, उनले भने। जाडोले गर्दा दम, रुघाखोकीलगायत समस्या देखिन थालेको छ।

चिसो बढेपछि सामुदायिक विद्यालय पनि बिदा भएको त्रिभुवन माध्यमिक विद्यालय मधुवन नगरपालिका–१ सूर्यपटुवाका प्राध्यापक इन्द्रबहादुर सुनारले बताए। चिसोले नगरभित्र रहेका सामुदायिक विद्यालयमा एक हप्ता जाडो बिदा दिएको मधुवनका शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनालले बताए।

बर्दियाका आठवटै पालिकाअन्तर्गतका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छैनन्। केही विद्यालयमा परीक्षा चलिरहेकाले परीक्षा सकिएसँगै माघी र जाडोलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने तयारी भइरहेको छ।

शीतलहर तथा तुषारोका कारण कृषि क्षेत्रमा समेत असर पुगेको छ। शीतलहरका कारण आलु, टमाटर, तोरीलगायतका अन्नबाली तरकारीका बिरुवामा क्षति पुगेको छ। घाम नलागेपछि पशुचौपायासमेतले सास्ती खेप्न बाध्य छन्।

अत्यधिक चिसो बढेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले विपन्न, अतिविपन्न परिवारलाई न्यानो कपडाको बन्दोवस्त गर्न सङ्घसंस्थालाई आह्वान गरेको छ। जाडोका कारण बर्दिया अस्पतालमा आउने बिरामीको सङ्ख्यासमेत बढदो छ।

चिसो बढेपछि बर्दियाका विभिन्न स्वास्थ्यचौकीमा दम, रुघाखोकी, ज्वरोलगायत श्वासप्रश्वासका बिरामीको चाप बढेको सूर्यपटुवा स्वास्थ्यचौकी प्रमुख पूर्णबहादुर खत्रीले बताए। यतिखेर चिसो अत्यधिक बढेकाले सावधानी अपनाउनु पनि उत्तिकै आवश्यक छ।

चिसोमा तातो झोलिलो पदार्थ पिउनुपर्ने, न्यानोमा बस्ने, आगो ताप्ने गर्न सुझाव दिए। मौसम रापिलो नहुँदासम्म स्वास्थ्यसँग खेलवाड गर्न नहुने खत्रीको भनाइ छ। जाडोमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती, सुत्केरी महिलाले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए। – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *